फ्यानको क्रेज होस् त यस्तो पो । जहाँ १६ बर्षे तरुनीदेखि ६४ बर्षे हजुरआमासमेत लाइन बसेर कुनै स्टारको दर्शन पाउन लालायित छन् ।
जुनसुकै सेलिब्रेटीलाई लाग्छ, आफ्नो क्रेज यस्तै होस् । तर सवैलाई यस्तो भाग्य कहाँ जुर्छ र ?
बलिउड स्टार शाहरुख खानलाई बिरानो नेपाली भूमिमा यस्तै न्यानो आतिथ्य मिल्यो जहाँ हाँसो र खुसीका आँसुले स्वागत गरियो ।
२० बर्षअघि उनी पहिलोपटक नेपाल आउँदा साहरुख खानको लोकप्रियता सायद यति धेरै थिएन होला । तर, २० बर्षमा शाहरुख नेपालमा छाइसकेका छन्, सायद त्यो शाहरुख स्वयंले पनि भेउ पाएका थिएनन् ।
त्रिभुवन विमानस्थलमा नेपाल प्रहरीले सम्हाल्न नसकेका फ्यानको बिचमा साहरुख खान झुल्किए । साहरुख खानलाई देख्दा उर्लिएको भिड र सुनिएको आवाजले लाग्थ्यो, स्टार त्यसै बन्दैनन् ।
एयरपोर्टमा फ्यानमाझ घेरिएका साहरुख खान हायात होटलमा पुग्दा होटलको गेटमा पनि फ्यानले घेरिसकेका थिए । हायातमा करिब ४ घन्टा बसेर साहरुख खान बाहिर निस्कदै गर्दा होटलको गेट अगाडि हजारौको भिड लागेको थियो । साहरुख खानका तस्बिरको प्लेकार्ड बोकेका फ्यानको पागलपनले साच्चै बलिउड कलाकारप्रति नेपालीको प्रेम झल्कायो ।
हायात होलटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि साहरुख खानसँग तस्बिर खिचाउनेको तछाडमछाड देखियो । साहरुख पनि स्टेजबाट ओर्लिएर आफ्नै मोबाइलबाट सेल्फी खिच्दै थिएँ ।
उनका बडिगार्डले समेत सम्हाल्न नसक्ने गरि भिड साहरुखतिर मोडियो, कतिले साहरुखसँग फोटो खिचाउने सपना पुरा गरे त कतीले सेल्फी मै चित्त वुझाए ।
मानिसहरु यतिसम्म मोहित हुँदा रहेछन् भन्ने अनुभुती हायात होटलको गेटमा देखिन्थ्यो । एक ६४ बर्षिय बृद्धा बेलुकी ५ बजेबाटै साहरुखलाई हेर्न बाटोमा बसेको बताइरहेकी थिइन् । उनी साहरुखलाई नहेरी घर नजाने अडानमा थिइन् । सुन्दरीजल, कोटेश्वर काँडाघारीदेखि आएका यूवा-यूवतीमा साहरुखप्रतिको क्रेज मेटनै नसकिने खालको थियो ।
अनलाइनखबरसँग एक यूवतीले भनिन्-‘मलाई साहरुख खानको फोटो भए पनि देखाइदिनुहोस् ।’ यो एउटा पागलपन थियो । हजारौको भिडको अगाडि जब साहरुख खान गाडीमा निस्किए, मानिसहरुले आफूलाई सम्हाल्न सकेनन् ।
साहरुखले पनि आफ्ना फ्यानलाई अभिवादन गर्दै गाडीबाटै फ्लाङई किस दिए । साहरुखलाई देखेपछि एक युवती थचक्क बसिन् र साहरुख साहरुख भन्दै रुन थालिन् ।
साहरुख त पर्दा भन्दा पनि बढी ह्यान्डसम, एक युवकले उनको सुन्दरताको बयान गर्दै भने-‘म साहरुखको फ्यान थिएँ, उनलाई देखेपछि झनै फ्यान भएँ ।’ यो भनाई धेरैको मुखबाट सुनियो । साहरुख खान धेरैलाई पर्दाका भन्दा ह्यान्डसम देखिए । सायद, ५० बर्षिय यी स्टारको सधै चर्चामा रहने राज पनि यही नै हुनसक्छ ।
हायात होटलबाट साहरुख बाहिरिएपछि फ्यान पनि तितरबितर भए । रातको ९ बजे उनलाई हेर्न बसेका युवतीहरु भन्दै थिए, अब विमानस्थलमा गएर कुरिन्छ । याक एन्ड यतिमा पनि साहरुखलाई हेर्नेको भिड उस्तै थिए ।
तर, फ्यानको भिड देखेर प्रहरीले उनलाई भित्रि बाटोबाट होटलमा प्रवेश गरायो, जसका कारण पनि याक एन्ड यतिमा उनलाई भेट्ने सपना बोकेका हजारौं फ्यान निराश देखिए ।
रातको ११ बजे साहरुख खानलाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा पनि उस्तै भिड देखिएको थियो । मानिसका निन्द्रा, भोक सबै साहरुखसँगै मेटिएको थियो ।
साहरुख खान नेपाल अब कहिले आउँछन् थाहा छैन । तर, उनले नेपाली फ्यानको अथाहा माया बोकेर गएका छन् । बलिउडका रोमान्सका वादशाह मानिने खानलाई यो मायाले चाँडै फेरि नेपाल फर्काउला ?
तस्बिर : श्रीधर पौडेल
प्रस्तुती : विजय आवाज
प्रतिक्रिया 4