Comments Add Comment

एसएलसीको एउटा उत्तरपुस्तिका जाँच्नेलाई २० रुपैयाँ

विनोद घिमिरे

४ चैत, काठमाडौं । यसवर्षको एससएलसी परीक्षामा खटिने कर्मचारी, निरीक्षक, गार्ड र सुरक्षार्थ खटिने प्रहरीहरुले पाउने दैनिक भत्ता बढाइने भएको छ ।

विहीबार विहान ८ बजेदेखि सुरु हुने एसएलसी परीक्षामा खटिनेहरुका लागि दिइने पारिश्रमिकमा मात्रै राज्यकोषबाट १३ करोड रुपैयाँ भन्दा धेरै खर्च हुने भएको छ । यो खर्च उत्तर पुस्तिका जाँच गर्ने परीक्षक र सम्परीक्षक बाहेकको हो ।

SLC 2071

चैत ५ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा ६२ हजार ९ सय ४५ कर्मचारी खटिने छन् । तिनीहरुलाई दिइने पारिश्रमिकमा एक दिनमा मात्रै १ करोड ६४ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च हुन्छ ।

एसएलसी सुरु हुने दिन ५ गतेदेखि अन्तिम दिन १६ गतेको बीचमा २ दिन शनिबार परेको छ । त्यसबाहेकका १० दिन परीक्षामा खटिनेहरुले पारिश्रमिक पाउँछन् ।

तर १५ र १६ गतेको प्राविधिक विषयको परीक्षामा अरु दिनको भन्दा कम कर्मचारी खटिन्छन् ।

१८ सय ६२ केन्द्राध्यक्षलाई ८ सय रुपैयाँको दरले १० दिनको पारिश्रमिक दिँदा १ करोड ४८ लाख ९६ हजार रुपैयाँ खर्च हुन्छ ।

कसको भत्ता कति ?

यसवर्षको एसएलसीमा केन्द्राध्यक्षले दैनिक ८ सय रुपैयाँ भत्ता पाउने छन् । त्यस्तै  सहायक केन्द्राध्यक्षले ५ सय र निरीक्षकले ३ सय ५० रुपैयाँ पाउनेछन् ।

कार्यालय सहयोगीलाई २ सय र सुरक्षाकर्मीलाई १ सय ५० रुपैयाँ दैनिक भत्ता दिइने छ ।

गत बर्ष दैनिक ५ सय रुपैयाँ पारिश्रमिक पाउने केन्द्राध्यक्षले यसपालि ८ सय पाउने भएका हुन् । सहायक केन्द्राध्यक्षको पारिश्रमिक ३५० बाट ५ सय र निरीक्षकको २ सय बाट ३ सय ५० रुपैयाँ पुर्‍याइएको हो ।

कार्यालय सहयोगीको शतप्रतिशत पारिश्रमिक बृद्धि गरी १ सयबाट २ पारिएको छ । सुरक्षाकर्मीको भत्ता ५० रुपैयाँबाट १ सय ५० रुपैयाँ पुर्‍याइएको हो ।

एसएलसीका लागि केन्द्राध्यक्ष १८ सय ६२ खटिनेछन् । सहायक केन्द्राध्यक्ष २ हजार ४ सय ४० र निरीक्षक २३ हजार १४ जना खटिने छन् ।

यसैगरी ७ हजार ६९९ कार्यालय सहयोगी र २७ हजार ९३० जना सुरक्षाकर्मी परिचालन हुनेछन् । उनीहरु सबैको पारिश्रमिक गत बर्षको तुलनामा बढाइएको छ ।

कापी जाँच्नेको पनि पारिश्रमिक बढ्यो

उत्तरपुस्तिका परीक्षकलाई एउटा कपी जाँचेको २० रुपैयाँ दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । शिक्षकहरुले पारिश्रमिक बढाउन माग गरेअनुसार परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको तुलनामा ५ रुपैयाँ थपेको हो ।

परीक्षकले जाँच गरिसकेको उत्तर पुस्तिकालाई रुजु गर्ने सम्परीक्षकलाई एउटा कापीको ५ रुपैयाँ दिइन्छ । गत वर्ष सम्परीक्षकले ४ रुपैयाँ मात्रै पाउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment