Comments Add Comment

एसएलसीको केन्द्राध्यक्षमा राजनीतिक भागवण्डा

ध्रुव भट्टराई

४ चैत, बिराटनगर । सुन्दैमा अचम्म लाग्न सक्छ ! लोकसेवा आयोग लगायत संवैधानिक अंगका प्रमुखहरुमा मात्रै दलीय भागवण्डाको कुरो सुनिएको थियो । तर, मोरङ जिल्लामा एसएलसीको केन्द्राध्यक्ष कुन पार्टीको बनाउने भन्ने विवाद बुधबार बिहानसम्म जारी रह्यो ।

बिहीबारदेखि शुरु हुने एसएलसी परीक्षाका लागि केन्द्राध्यक्षको भागवण्डा अन्तिम चरणमा आएर बुधबार बिहानमात्रै जिल्ला शिक्षा कार्यालयमा बसेको ‘सर्वदलीय’ बैठकले टुंगो लगाएको छ ।

दलीय भागवण्डा मिलेपछि वैद्य माओवादीले समेत एएसएलसीका लागि दुईजना केन्द्राध्यक्ष पाएको छ भने साना पार्टीले एक/एकजना केन्द्राध्यक्ष पाउने भएका छन् ।

परीक्षा सुरु हुनुभन्दा कम्तिमा तीन दिनअघि नै केन्द्राध्यक्ष टुंगो लाग्नुपर्ने थियो । तर, जिल्लामा दलीय विवादका कारण परीक्षाका लागि आवश्यक सीट प्लानिङमा समेत ढिलाइ भएको छ ।

केन्द्राध्यक्षका लागि माध्यमिक तहका स्थायी शिक्षक नै अनिर्वाय हुनुपर्ने सरकारी विद्यालयका शिक्षकहरुको माग थियो ।

साथै शिक्षकहरु विभिन्न दलमा आवद्ध भएकाले सबै दलको प्रतिनिधित्व हुनुपर्ने विवादका कारण केन्द्राध्यक्ष छनौटमा  ढिलाइ भएको हो ।

जिल्ला शिक्षा कार्यालयमा बुधबार बिहान सम्पन्न सर्वपक्षीय छलफलबाट विभिन्न दलमा आवद्ध शिक्षकहरुलाई केन्द्राध्यक्षका लागि छनौट गर्ने सहमति भएको छ ।

कुन दलले कति पाए ?

भागबण्डा अनुसार सबैभन्दा बढी नेकपा एमालेको भागमा २२ जना परेका छन् । त्यस्तै नेपाली कांग्रेसका भागमा १७ जना र एमाओवादीका भागमा ९ जना केन्द्राध्यक्ष परेका छन् । त्यस्तै वैद्य माओवादीले दुईजना केन्द्राध्यक्ष पाएको छ ।

त्यसैगरी लोकतान्त्रिक फोरमको भागमा ४ जना,  फोरम नेपालका भागमा २ जना र संस्थागत विद्यालयका भागमा ७ जना एसएससीका केन्द्राध्यक्ष राख्ने सहमति भएको छ । मधेसवादी साना पार्टीका भागमा १/१ जना केन्द्रध्यक्ष परेका छन् ।

एसएलसी परीक्षा नजिकै आउँदा पनि केन्द्राध्यक्षको छनोट हुन नसकेको अवस्थामा सर्वपक्षीय छलफलबाट टुंगो लगाउने काम पूरा गरिएको मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिए ।

उनले भने- केही समय ढीला भएको हो, तर, आज टुगो लागेको छ, अब आज अपरान्हबाटै केन्द्राध्यक्षहरु जिम्मेवारी बहन गर्न परीक्षाकेन्द्रमा जानुहुन्छ ।

मोरङ जिल्लामा यस वर्षको प्रवेशिका परीक्षाका लागि ६४ वटा केन्द्र तोकिएका छन् । यस वर्षको प्रवेशिका परीक्षामा मोरङबाट नियमित र आंशिक गरी २० हजार ६४ विद्यार्थी सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment