५ चैत, काठमाडौं । तेजाब आक्रमणबाट घाइते संगीता मगर र सीमा बस्नेतले पहिलो दिनको एसएलसी परीक्षा दिएका छन् । संगीताले सहयोगी सनम तामाङ मार्फत् परीक्षा दिइन् भने सीमाले आफैं उत्तरपुस्तिकामा लेखिन् ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अस्पतालको शैयामा सुतेर संगीताले दिएको उत्तर उनका सहयोगी छात्रले कापीमा उतारेका छन् । काठमाडौं मेडिकल कलेजको १०३ नम्बर बेडमा संगीताको उपचार भैरहेको छ ।
उता बीर अस्पतालमा उपचाररत सीमाले भने सहयोगी नराखिकनै परीक्षा दिएकी छन् ।
यसअघि मन्त्रिपरिषदको बैठकले संगीता र सीमालाई अस्पतालको शैयाबाटै एसएलसी परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।
बसन्तपुरको झोंसेंस्थित ट्युसन सेन्टरमा एसएलसी तयारी कक्षा लिनका लागि बसिरहेकोबेला एक व्यक्तिले संगीता र सीमामाथि तेजाब आक्रमण भएको थियो । तेजाब आक्रमणकारीलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।

प्रतिक्रिया 4