Comments Add Comment

म गभर्नर भएसँगै घरजग्गा र सेयरका लगानीकर्ताको अपेक्षा बढ्नु अस्वभाविक होइन

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. चिरञ्जीबी नेपालले आफू गभर्नर भएसँगै घरजग्गा व्यवसायी र सेयर बजारका लगानीकर्ताहरुले केही अपेक्षा गरेको बताएका छन् । बिहीबार राष्ट्र बैंकको १६ औं गभर्नरमा नियुक्त भएका डा. नेपालले आफू निडर भएर वित्तीय अपराध नियन्त्रणमा लाग्ने प्रतिवद्धतासमेत जनाए । निवर्तमान गभर्नर युवराज खतिवडाले थालेका राम्रा कामलाई निरन्तरता दिने उनले बताए । गभर्नर बनेकै दिन डा. नेपालसँग अनलाइनखबरका लागि पुष्प दुलाल नविन अर्यालले गरेको कुराकानी:

11073209_829716927099267_952963610_nनेपाल राष्ट्र बैंकको गभर्नरजस्तो गरिमामय पदमा नियुक्त हुनुभएको छ, अब तपाईको पहिलो प्राथमिकता के हुनेछ ?

अहिलेको मुख्य समस्या भनेको वित्तीय क्षेत्रमा देखिएको अस्थिरता हो । त्यसैले वित्तीय स्थायित्व कायम गर्ने मेरो पहिलो प्राथमिकता हुने छ । निजी क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय क्षेत्रसँग मिलेर वित्तीय क्षेत्रलाई अगाडि बढाउन प्रयत्न गर्नेछु । त्यसैगरी, वित्तीय सुशासन कायम गरी वित्तीय अपराध नियन्त्रण गर्नेतर्फ केन्दि्रत हुनेछु । त्यस्तै, वित्तीय साक्षरता र पहुँच बढाउने र अनौपचारिक वित्तीय क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याउन काम सुरु गर्छु ।

धेरैजसो वित्तीय अपराधहरु राजनीतिक व्यक्तिहरुसँग जोडिएर आउने गरेका छन् । र, यो बढी चिन्ताको विषय पनि बन्दै गएको छ । वित्तीय अपराध बढ्न नदिन के के गर्नुहुन्छ ?

वित्तीय अपराध नियन्त्रणमा के-कस्ता औजारहरु प्रयोग गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकमा गएर अध्ययन गर्नुपर्छ । त्यसैले अहिले नै यो यो गर्छु भनेर भन्न सक्ने अवस्था छैन । जुनसुकै किसिमबाट हुने वित्तीय अपराध रोक्न म निडर भएर लाग्नेछु । वित्तीय अपराध नियन्त्रणसँग सम्बन्धित नियम कानुनहरु बनाउने कार्य प्राथमिकतामा पर्नेछ । यसले वित्तीय क्षेत्रमा लगानीकर्ताको विश्वास बढाउँछ ।

अर्को कुरा वित्तीय क्षेत्रलाई पारदर्शी बनाउन अन्तर्राष्ट्रिय क्षेत्रमा विकास गरिएका वित्तीय प्रविधि र नयाँ कानुनहरु, सन्धी तथा अभिसन्धीलाई आत्मसाथ गरेर अगाडि बढ्नेछु । यसले नेपालको वित्तीय क्षेत्रमा निश्चय नै सुधार ल्याउनेछ । त्यस्तै, अहिले मुलुकमा लगानीकर्ताको विश्वास कम हुँदै गइरहेको छ । अब यस्तो कानुन बनाउनुपर्‍यो कि जुन कानुनले लगानीकर्ता विश्वस्त हुन् र लगानी भित्रियोस् ।

तपाईले वित्तीय साक्षरता र पहुँच बढाउने कुरा गर्नुभयो । तर, अहिले पनि ६० प्रतिशत जनसंख्या वित्तीय पहुँच बाहिरै छन् ।  वित्तीय पहुँच बाहिर रहेको त्यो जनसंख्यालाई कसरी पहुँचभित्र ल्याउन सकिन्छ ?

यस विषयमा गहिरो अध्ययन र खोजविन गर्छु । अनि आवश्यकता अनुसारका अघि बढ्छु । यो राष्ट्रिय आवश्यकता पनि हो ।

दुर्गम क्षेत्रका जनतासम्म कसरी बैंकिङ पहुँच पुर्‍याउने योजना बनाउनुभएको छ ?

मेरो कार्यकालमा दुर्गम क्षेत्रका अत्यन्त गरीब जनताले पनि बैंकिङ सेवा उपयोग गर्न पाउने वातावरण तयार गर्छु । बैंकिङ साक्षरता बढाएर यस्ता नागरिकलाई बैंक आफ्नै हो, यहाँबाट ऋण लिएर उद्यम व्यवसाय गर्नुपर्छ भन्ने भावनाको विकास गर्ने मेरो लक्ष्य छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँ -गाउँसम्म आफ्नो सेवा पुर्‍याउनका लागि विशेष पहल गर्छु । गाउँमा बैंकिङ सेवा प्रदान गर्नका लागि सबैभन्दा उपयुक्त माध्यम के हुन्छ, अध्ययन गरेर कार्यान्वयनतर्फ केन्दि्रत हुनेछु ।

तपाईसँग घरजग्गा र सेयर बजारका लगानीकर्ताले ठूलो अपेक्षा राखेका छन् ? यी क्षेत्रको सुधारका लागि के-कस्ता नीतिगत सुधार गर्नुहुन्छ ?

म गभर्नर भएसँगै घरजग्गा र सेयर बजारका लगानीकर्ताको अपेक्षा हुनु अस्वभाविक होइन । दुबै क्षेत्रमा सुधारको जरुरी छ । केही समय अध्ययन गर्छु र उपयुक्त निर्णय लिनेछु ।

 डा. युवराज खतिवडालाई तपाईले नै नियन्त्रणमूखी गभर्नर भन्दै आलोचना गर्नुहुन्थ्यो । खतिवडाका पालामा जारी नीति/निर्देशनहरु उल्टिन्छन् कि उल्टिँदैनन् ?

यसअघिका गभर्नरले धेरै राम्रा कामहरु गर्नुभएको छ । उहाँले गरेका राम्रा कामलाई अझ प्राथमिकताका साथ निरन्तरता दिनेछु । पहिला राष्ट्र बैंक गएर काम सुरु गरौं । सरोकारवालाहरुको सुझाब लियौं । आफूले केही अध्ययन गरौं । त्यसपछि आर्थिक क्षेत्रमा असर गर्ने निर्णय भेटिए भने करेक्सन हुन्छ ।

 सीइओको तलब भत्तामाथिको अंकुस, स्प्रेड दर, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल तोकेर राष्ट्र बैंकले हस्तक्षेप गर्‍यो भनेर उदारीकरण पक्षधरहरुले गुनासो गरिरहेका छन् । आर्थिक उदारीकरणको वकालत गर्ने तपाई गभर्नर हुनुभएको छ, के अब यी नियन्त्रणमूखी निर्णयमा ‘करेक्सन’ गर्नुहुन्छ ?

 यस विषयमा अहिले कुनै टिप्पणी गर्न चाहन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment