Comments Add Comment

किशोरीसँग ‘प्रेम टुटेपछि’ बदला लिन एसिड आक्रमण (भिडियो सहित)

acid acctacker Jiwan Bk 2

  • एसिड आक्रमणकारी जीवन विक (वायाँ)

६ चैत, काठमाडौं । संगीता मगरसँगको प्रेम टुटेपछि जीवन बिकले बदला लिन एसिड आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

संगीता र सीमा बस्नेतमाथि एसिड आक्रमण गरेको अभियोगमा प्रहरीले रामेछाप पुलासी-८ घर भई हाल टोखा बस्ने २० वर्षका बिकलाई पक्राउ गरेको छ । बिक बीबीएसका विद्यार्थीसमेत हुन् ।

कथा यस्तो रहेछ

जीवन र संगीताको भेट ०६९ मा भएको थियो । जीवनको परिवार संगीताको परिवार बस्दै आएको घरमै कोठा सरेपछि उनीहरु नजिकिएका थिए ।

पक्राउ परेका जीवनको वयानअनुसार उनीहरुबीचको प्रेम संगीताका भाइ सन्तोषले थाहा पाएपछि विवाद सुरु भएको हो ।

प्रहरीका अनुसार न्यूरोडमा चिया पलस गर्ने जीवनले बेलाबेला संगीताका भाइ सन्तोषलाई पैसा दिएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

तर, जीवन र संगीताको प्रेममा दरार आएपछि परिवारमै समेत विवाद भएको पाइएको छ । ‘सम्वन्धमा खटपट भएपछि बदला लिन आक्रमण गरेको देखिन्छ’ महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्माले भने ।

भिडियो हेर्नुहोस्-

प्रेम एकतर्फी मात्र हो कि भन्ने पत्रकारहरुको प्रश्नमा एआइजी शर्माले अहिलेसम्म दुबैबीच प्रेम सम्वन्ध रहेको तर, बेलाबेला खटपट हुने गरेको देखिएको बताए ।

यद्यपि संगीता अहिले एसएलसी परीक्षा दिइरहेकाले थप कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने शर्माले बताएका छन् ।

जीवन गत वैशाखमा ५० हजार रुपैयाँ लिएर भारतीय आर्मीमा भर्ना हुन सिक्किम गएका थिए । तर, सफल नभएपछि नेपाल फर्किएर छुट्टै कोठा लिएर बसेका थिए ।

काठमाडौं फर्किएपछि पनि बिकले बाबुआमा र परिवारका सदस्यहरुलाई समेत आफू सिक्किममै छु भनेर ढाँट्दै आएको प्रहरीलाई बयान दिएका छन् ।

पटक-पटक असफल प्रयास

संगीतासँगको प्रेम टुटेपछि भएको विवादका क्रममा जीवनले आफू हेपिएको महसुस गर्दै बदला दिने योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

उनले संगीतासँगै उनका भाइ र सोही घरमा बस्ने अर्का एकलाई पनि आक्रमणको योजना बनाएका थिए । उनले छडले हानेर अंगभंग बनाउने योजना पनि बनाएका थिए, तर, सफल नभएपछि गत जेठमा एसिड हान्ने योजना बुने ।

पत्रकार सम्मेलनकै क्रममा जीवन विक बहाेस भए । उनलार्इ तत्काल अस्पताल लगिएको थियो ।
पत्रकार सम्मेलनकै क्रममा जीवन विक बहाेस भए । उनलार्इ तत्काल अस्पताल लगिएको थियो ।

जीवनले गत असोजमै १ सय २५ रुपैयाँमा न्यूरोडको एक ब्याट्री पसलबाट एसिड किने । तर, बसपार्कको होटलबाट टोखामा कोठा सर्ने क्रममा स्प्राइटको बोटलमा हालेका कारण उनले जम्मा गएको एसिड पोखियो ।

जीवनले फेरि एसिड किने र टोखाको एउटा चिया पलसमा हर्लिक्सको बोतलमा राखे । उनले संगीतामाथि एसिड आक्रमणको थुप्रै प्रयास गरेका थिए । तर, धेरैचोटि सफल नभएको प्रहरी अनुसन्धानले देखाएको शर्माले बताए ।

घटना भएको दिन फागुन १० गते जीवन बिहान ५ बजे नै टोखाबाट हिँडेका थिए । माइक्रो चढेर जमल आएका उनी त्यहाँबाट हिँड्दै इन्द्रचोक, बसन्तपुर हुँदै संगीता मगरको घर भएको स्थानमा पुगे । कालो मास्क लगाएका उनले झोलामा हर्लिक्सको बोटलमा एसिड बोकेका थिए ।

तर, संगीताको डेरामा कोही नदेखिएपछि उनी फर्किए । उनलाई संगीताले कहाँ ट्युसन पढ्छे भन्ने थाहा थिएन । तर, बसन्तपुरबाट फेरि संगीताको डेरातिर जाने क्रममा नजिकै ए प्लस ट्युसन सेन्टरमा बत्ति बलेको देखे, जहाँ संगीतालाई देखे ।

तर, त्यति नैबेला सीमा बस्नेत कोठामा प्रवेश गरेपछि उनी केहीबेर रोकिए । जतिबेला ट्युसन सेन्टरको उक्त कोटामा संगीता, सीमा र हेमु मुखर्जी गरी तीनजना छात्राहरु भेला भए, बदलाको भावना भएका कारण उनले कक्षामा गएर संगीताको अनुहारमा ताकेर एसिड छ्यापे । संगीताकी साथी सीमा पनि त्यसको शिकार बनिन्, जुन आक्रमण सीमाप्रति लक्षित थिएन ।

घटनापछि जीवन फेरि माइक्रो चढेर टोखा पुगे र दिनभरि सुते । साँझ उनको भाइसँग फेसबुकमा कुरा भएको र भाइले संगीतालाई एसिड आक्रमण भएछ नि भन्दा उनले थाहा नभएको बताए ।

जीवन २० गते काँकडभिट्टा हुँदै सिक्कम पुगे । तर, भारतीय सेनामा जागिर लगाइदिन्छु भनेका व्यक्ति नभेटिएपछि २९ गते फेरि काठमाडौं आइपुगे । अनुसन्धानका क्रममा प्रहरीले उनलाई पहिलो टार्गेटमै राखेको थियो र संगीताले पनि जीवनमाथि नै शंका गरेकी थिइन् ।

तर, अनुसन्धान अधिकृतले विभिन्न माध्यमबाट कुरा गर्दा पनि उनले आफू सिक्कममै भएको भान पारेका थिए । प्रहरीले उनको लोकेसन ट्रयास गरेर बिहीबार टोखाको स्याकुटोलबाट उनलाई पक्राउ गर्‍यो ।

‘एसिड हानेपछि सन्तुष्ट भएँ’

जीवनले प्रहरीसँगको बयानमा आक्रमण गर्नुअघि नै एक दिन पक्राउ परिन्छ भन्ने लागेको बताए । तर, संगीतालाई एसिड हानेको दिन आफूलाई सबैभन्दा आनन्द लागेको उनले बयान दिएका छन् ।

‘मैले किन प्रहरीमा आत्मसमर्पण नगरेको भनेर सोधेको थिएँ’ एआइजी शर्माले भने-‘उसले अरु २/३ जनालाई सिध्याउन बाँकी थियो भन्यो ।’

जीवनका साथबाट प्रहरीले एसिड आक्रमणपछि विभिन्न पत्रपत्रिकामा आएका समाचारहरु समेत बरामद गरेको छ । प्रहरीका अनुसार जीवनले एसिड आक्रमणबारे भारतीय टीभी च्यानलहरुबाट थाहा पाएको बताएका थिए ।

तर, एसिड आक्रमणपछि भएको चर्चापछि मात्र यो यति ठूलो विषय रहेछ भन्ने थाहा भएको बयानसमेत बिकले प्रहरी अधिकारीसमक्ष दिएका छन् ।

पक्राउ परेका बिकले संगीयतासँग प्रेम रहेको दाबी गरे पनि संगीताले भने आफूले उनीसँग प्रेम नगरेको बताउँदै आएकी छन् ।

यो पनि पढ्नुस् 

तेजाब खन्याउने युवकलाई ‘ज्यान मार्ने उद्योग’

दुई किशोरीलाई एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment