Comments Add Comment

राष्ट्रिय क्रिकेटमा एपिएफ र भैरहवा विजयी

६ चैत, काठमाडौँ । एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले क्षेत्र नम्बर ९ धनगढीलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले धनगढीलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै एपिएफले ६ अङ्क जोडेको छ । तीन खेल खेलेको एपिएफले तीनै खेलमा जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रेको धनगढी २७ ओभरमा ७० रन जोड्दै अलआउट भयो । धनगढीको ७१ रनको चुनौतीलाई पच्छ्याएको एपिएफले ३१ दशमलव १ ओभरमा २ विकेटको क्षतिसँगै भेटायो ।

एपिएफका सुवास खकुरेलले सर्वाधिक २३ रनको योगदान दिए भने प्रदीप ऐरीले १९ रन जोडे । त्यस्तै धनगढीलाई ७० रनमा समेट्ने क्रममा एपिएफका वसन्त रेग्मी एक्लैले पाँच विकेट लिए ।

धनगढीका लागि भने ज्ञानेन्द्र कुँवरबाहेक अन्य ब्याट्सम्यानले प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । उनले ३५ रन जोडेका थिए । तीन खेल खेलेको धनगढीको २ अङ्क छ ।

त्यसैगरी, पुल्चोक मैदानमा आजै भएको अर्को खेलमा क्षेत्र नं ४ भैरहवा विजयी भएको छ । भैरहवा क्षेत्र नं ६ बैतडीलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैतडीले खेलको २९ ओभरमा १३३ रन जोड्दै अलआउट भयो । प्रत्युत्तरमा भैरहवाले २६ दशमवल ४ ओभरमा ९ विकेट गुमाउँदै १३७ रन जोड्यो ।

भैरहवाको जितमा फैजल खानले सर्वाधिक ४२ रनको योगदान दिए भने निश्चल चौधरीले ४० रन जोडे । बैतडीलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका सुसन भारीले ४ विकेट लिए भने लालबहादुर अधिकारीले ३ विकेट लिए ।

जितसँगै भैरहवाले ४ अङ्क जोडेको छ । जारी प्रतियोगितामा चार खेल खेलेको भैरहवाले दुई खेलमा जित तथा दुई खेलमा हार भोगेको छ । त्यस्तै, तीन खेल खेलेको बैतडीले दुई खेलमा जित तथा एक खेलमा हार भोगेको छ । बैतडीको ४ अङ्क छ ।

भोलि शनिबार पुल्चोक मैदानमा एपिएफले बैतडीको सामना गर्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment