+
+

श्रीमतीको परीक्षा दिने श्रीमान् नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ६ गते १३:१५

६ चैत, मुगु । प्रवेशिका परीक्षाको आज दोस्रोे दिन अनिवार्य नेपालीको परीक्षामा आफ्नी श्रीमतीका सट्टामा परीक्षा दिँदै गरेका अवस्थामा आज बिहान प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

नार्थपु गाविसमा रहेको जनज्योति उमाविबाट नियमिततर्फ सम्मिलित विजय माध्यमिक विद्यालय केन्द्रमा प्रवेशिका परीक्षा दिइरहेकी क्रमसङ्ख्या ०६०११६६ ‘टी’ रहेकी परीक्षार्थी धना नेपालीका सट्टामा परीक्षा दिइरहेका नेपालीका श्रीमान् वीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले जानकारी दिए ।

प्रहरीको सञ्चारबाट सट्टामा परीक्षा दिने परीक्षार्थी प्रहरी नियन्त्रणमा परेको खबर आएकाले केन्द्राध्यक्षको सिफारिससाथ मुचुल्कासहित जिल्लामा आएमा शिक्षा ऐनमा भएको प्रावधानअनुसार दोषीलाई एक लाख जरिवाना, छ महिना कैद वा दुवै सजाय हुन सक्ने जिल्ला शिक्षा अधिकारी भक्तबहादुर ढकालले बताए ।

परीक्षा केन्द्र जिल्ला सदरमुकाम गमगढीबाट १६ कोस र सञ्चार सेवाबाट टाढा भएकाले थप जानकारी आउन ढिला हुने गरेको पनि जिशिअ ढकालले बताए । जिल्लाभर सात परीक्षा केन्द्र छन् ।

चिट पुर्‍याउन खोज्ने दुई शिक्षक पक्राउ

अनुगमन परिचयपत्रको दुरुपयोग गर्दै परीक्षार्थीलाई चिट पुर्‍याउन खोज्ने दुई शिक्षकलाई आज मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनता मावि अमाहीवर्यातीका शिक्षक जीतेन्द्र मण्डल र लक्ष्मी निमावि सिसवनीजहदाका शिक्षक सिंहबहादुर गुरुङ रहेका इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

एसएलसी परीक्षा मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालयले वितरण गरेको अनुगमन परिचयपत्र बोकेर कदमाहस्थित सर्वाेदय उच्च मावि परीक्षा केन्द्र पुगेका उनीहरुलाई परीक्षा केन्द्र सुरक्षार्थ बसेका सशस्त्र प्रहरी बेस नोचाका प्रहरी निरीक्षक जीवन भट्टराईले ढोकामा शङ्का गरी खानतलासी गर्दा उनीहरुमा २४ अङ्कको १२ थान चिट फेला परेको प्रहरीले जनाएको छ ।

यता, जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख योगेन्द्र बरालका अनुसार कक्षा कोठा बाहिर उनीहरुको साथबाट चिट बरामद भएको हुँदा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक कारबाही गर्ने जानकारी दिनुभएको छ ।

यसैगरी, परीक्षार्थीहरुले चिट सार्दासमेत नदेखेझैँ गर्ने एक निरीक्षकसहित तीन विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले आज निष्काशन गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?