२२ चैत, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ ।
ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको हो ।
आइतबार मध्यान्हबाट शरिरमा अक्सिजन स्याचुरेशन एकदम कम हुँदै गएको र १०० प्रतिशत अक्सिजन दिँदा पनि अवस्था नसुध्रेका कारण ३० मिनेट कार्डियाक मसाज- सिपिआर गर्दा समेत फर्काउन नसकिएको अस्पतालले जनाएको छ ।
अस्पतालका डा. प्रेम ज्ञवाली र अर्जुन कार्कीसहितको टीमले परिवारका सदस्यलाई ढकाललाई बचाउन नसकिएको जानकारी गराएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले अनलाइनखबरलाई बताए ।
ढकालमा स्वाइन फ्लूसँगै लिम्फो प्रोलिफिरेटिभ डिजिज र क्षयरोग समेत भएकाले सक्दो प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ ।
स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो ।
आईसीयूमा उपचारका क्रममा उनलाई दिल्ली लैजान १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो । तर, मौसमले साथ दिएन भने उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि १७ गते दिल्ली नलैजाने निर्णय भएको थियो ।
श्रद्धान्जलीका लागि भोलि पार्टी कार्यालयमा राखिने
एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार ढकालको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय बल्खुमा राखिनेछ । अहिले अस्पतालमा ढकालका आफन्त र एमाले नेता कार्यकर्ता पुगेका छन् ।
को हुन् ढकाल ?
गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल २०५० सालमा अखिलको १२ औं अध्यक्ष भएका थिए । २०५१ को आमचुनावमा गुल्मी १ बाट निर्वाचित भएका ढकाल ०५४ मा एमालेको बैकल्पिक केन्द्रीत सदस्य भएका थिए ।
अघिल्लो संविधानसभामा रुपन्देही ५ बाट निर्वाचित उनी राज्य व्यवस्था समितिको सभापति थिए । हालै एमालेमा भएको कार्यविभाजनमा उनले लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी पाएका थिए । तर, जिम्मेवारी सम्हाल्न नपाउँदै उनकाे निधन भएको छ ।
बुढानिलकण्ठमा बस्दै आएका ढकालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया 4