Comments Add Comment

सौर्यले भाडाको जहाज आफ्नो बनायो

Sourya-Airlines
नविन अर्याल
२७ चैत, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले भाडामा उडाइरहेको ‘सिआरजे-२००’ जेट विमान खरिद गरेको छ । जर्मनीको एयर एक्स्प्रेससँग सौर्यले उक्त विमान खरिद गरेको हो ।

क्यानेडियन बम्बार्डियर कम्पनीद्धारा उत्पादित ‘सिआरजे-२००’ विमान सौर्यले नेपालका ट्रंक रुट (सुगम गन्तव्य)मा उडाउँदै आएको छ । ‘हामीले एयर एक्स्प्रेससँग लिज प्रचेजमा विमान ल्याएका थियौं’ सौर्यका अध्यक्ष दीपक पोखरेलले भने- ‘करिव ३० प्रतिशत हिस्सा एयर एक्स्प्रेसकै रहने गरी विमान खरिद गर्न लागेका छौं ।’

विमानलाई ४०/४५ करोडको हाराहारीमा मुल्यांकन गरेर खरिद गर्न लागेको बताइएको छ । विमानमा जनता बैंकले २० करोड ऋण लगानी गर्दै छ । जनता बैंक ऋण उपलब्ध गराउन तयार भइसकेको बताउँदै अध्यक्ष पोखरेलले शुक्रबार बेलुकासम्म ऋण सम्झौता हुने जानकारी दिए ।

अहिले एयर एक्स्प्रेसका अध्यक्ष सेफा ट्वीन्स नेपालमा छन् । दुई पक्षबीच विमान खरिद बिक्री सम्बन्धी सम्झौता पनि शुक्रबार नै हुनसक्ने अध्यक्ष पोखरेलले भनाई छ । उनका अनुसार विमान खरिदका लागि सम्पूर्ण प्रकृया पुरा भइसकेको छ ।

सौर्यले विमान ७० प्रतिशत आफ्नो स्वामित्वमा र ३० प्रतिशत एयर एक्स्प्रेसको स्वामित्वमा रहने गरी खरिद गर्न खोजेपनि अझै अन्तिम निर्णय भइसकेको छैन् । एयर एक्स्प्रेस ७० प्रतिशत हिस्सा बिक्री गर्न तयार भइसकेको अध्यक्ष पोखरेल बताउँछन् ।

सिआरजे-२०० सिरिजको जेट विमानको उत्पादन अहिले बन्द भइसकेको छ । सौर्यले जर्मन कम्पनीसँग १३/१४ वर्ष उडिसकेको जहाज लिजमा ल्याएको थियो । नियामक नागरिक उड्डयन प्राधिकरणका अनुसार १५ वर्षभन्दा पुरानो विमान नेपालमा ल्याउन पाइदैन् ।

यो विमान विश्वकै सुरक्षित जहाजमा पर्ने दाबी अध्यक्ष पोखरेलले गरे । यसको नयाँ विमान बनाउँदा यसको प्रोडक्सन कष्ट पौने तीन अर्ब रहेको उनको दाबी छ ।

बैशाख ३० सम्म अर्को जहाज

सौर्यले एउटा विमानमार्फत नेपालका ट्रंक रुटमा उडान गरिरहेको छ । कम्पनीले छिट्टै ‘सिआरजे-२००’ अर्को जेट विमान ल्याउन लागेको छ । ‘बैशाख ३० गतेसम्म अर्को विमान काठमाडौं आइपुग्छ’ अध्यक्ष पोखरेलले भने- ‘हामीले यसपटक जहाज उत्पादक कम्पनी बम्बार्डियरसँग लण्डनदेखि विमान लिज प्रचेजमा ल्याउन लागेका छौं ।’

सौर्यले ल्याउन लागेको अर्को जहाज पनि १३/१४ वर्ष उडिसकेको छ । विमान खरिद बिक्रीका विषयमा बम्बार्डियर कम्पनीबाट आएको प्रपोजलमा सौर्यले आफ्ना प्रस्तावहरु राखेर करेक्सन गरी पठाएको थियो । सौर्यको प्रस्तावमा बम्बार्डियर सहमत भएको बताउँदै अध्यक्ष पोखरेलले उहाँहरु छिट्टै नेपाल आएर यस विषयमा सम्झौत गर्ने बताए ।

उड्डयन नियम अनुसार सौर्यलाई अर्को विमान ल्याउनैपर्ने बाध्यता रहेको छ । हवाइ सेवा प्रदायकहरुले भैपरि आउने समस्यालाई मध्यनजर गर्दै एउटा विमान स्टान्डबाइ राख्नैपर्छ ।

सौर्यले अहिले भद्रपुर, विराटनगर, भैरहवा र माउन्टेन फ्लाइट गर्दै आएको छ । नयाँ जहाज आएपछि धनगढी र नेपालगञ्जमा पनि उडान विस्तार गर्ने योजनामा कम्पनी रहेको छ ।

पचास सिट क्षमताको ‘सिआरजे-२००’ विमानमा यात्रा गर्दा ठूला जेट जहाजमा यात्रा गरेजस्तै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment