Comments Add Comment

छिटो संविधान बनाऔं, नत्र सम्हाल्न सकिँदैन : प्रधानमन्त्री

Sushil Koirala 5

२ वैशाख, काठमाडौं । ‘अब चाँडै सहमति गरेर संविधान बनाऔं, नत्र हामीले सम्हाल्न सक्दैनौं’ प्रधानमन्त्री सुशील कोइरालाले बुधबार एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भने, ‘चाँडो गरौं, म त सहमतिकै पक्षमा छु, नत्र बर्बाद हुने भयो ।’

केही दिनदेखि सत्तापक्ष र प्रतिपक्षका नेताहरु सम्वादहीन अवस्थामा रहेका बेला बुधबार एमाओवादी नेता श्रेष्ठ प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगेका थिए । अर्कै काम लिएर भेट्न आएका श्रेष्ठलाई प्रधानमन्त्री कोइरालाले आफू सहमतिबाटै संविधान बनाउने पक्षमा रहेको बताएका थिए ।

चाँडै संविधान बनेन भने देश सम्हाल्न नसकिने प्रधानमन्त्रीले दोहोर्‍याएका थिए । संविधान बनाएपछि आफू एक मिनेट पनि पदमा नबस्ने कोइरालाले बताएका थिए ।

एमाओवादी नेतासँग प्रधानमन्त्रीले भने- ‘सकेसम्म सहमतिमै गरौं, सहमति भएन भने सहमति भएका विषयमा प्रक्रिया अघि बढाएर असहमतिका विषयमा छलफल गर्दै जाऔं ।’

उधारो हुँदैन, मूर्त कुरा गरौं

प्रधानमन्त्री कोइरालाले आफू सहमतिकै पक्षिमा रहेको बताएपछि एमाओवादी नेता श्रेष्ठले सहमतिको अमूर्त कुरा नगर्न र ठोस प्रस्ताव ल्याउन आग्रह गरे । असहमतिका बुँदा थाती राखेर प्रक्रियामा जानुभन्दा चाँडै सहमति गरेर सबै विषयलाई टुंगो लगाउन उपयुक्त हुने श्रेष्ठले प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बतायो ।

संविधान निर्माण प्रक्रियामा संविधानसभाभित्रै रहेका दलहरुलाई सकेसम्म चित्त बुझाएर अघि बढ्नुपर्ने भन्दै संविधानसभा बाहिर रहेका शक्तिलाई पनि विद्रोहमा जान नदिने गरी सहमतिमा ल्याउन नेता श्रेष्ठले प्रधानमन्त्रीलाई सुझाव दिए ।

दुविधामा एमाओवादी

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा आफ्नै घटकभित्रको असहमतिका बाबजुद संयोजक प्रचण्डले नेपाल बन्द फिर्ता लिएपछि पनि सहमतिको वातावरण अझै बन्न सकेको छैन ।

सभामुखले बोलाएको बैठकबाट एमाले अध्यक्ष केपी ओली धरहरा चढ्न हिँडेदेखि पुनः दलहरु वार्तामा जुट्न सकेका छैनन् ।
आन्दोलन सथगन गर्दा पनि कांग्रेस र एमालेले सहमति नगर्ने र ३० दलीय मोर्चा पनि विवादमा फसिरहने स्थिति उत्पन्न भएपछि एमाओवादी नेताहरु न सहमति, न आन्दोलनको दुविधापूर्ण स्थितिमा छन् ।

उधारो सहमति हुने संकेत

चैत ३० गते बोलाइएको संविधानसभा बैठक बैसाख ६ गते सम्मका लागि रोकिएको छ । यसवीचमा सत्तापक्ष र एमाओवादीवीच बैसाख ६ भित्र सहमति हुन सक्ने आश अझै पनि एमाओवादी नेताहरुमा देखिन्छ ।

स्रोतका अनुसार संविधानका मिलेका विषयलाई प्रक्रियामा लगेर बाँकी विषयमा वार्ता प्रक्रिया जारी राख्ने गरी केही दिनभित्रै सहमति हुने सम्भावना छ ।

सत्तापक्षले संघीयता लगायतका विषयलाई थाती राखेर भए पनि संविधान बनाउनुपर्ने बताइरहेका बेला विवादित विषयमा वार्ता जारी राख्ने गरी सहमतिका विषयलाई प्रक्रियामा लैजान एमाओवादी सहमत भएको अवस्थामा विवाद टुंगिन सक्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment