Comments Add Comment

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले ८ लाख ठगे

२ बैशाख, काठमाडौं । अमेरिकी डलर सस्तोमा दिन्छु भन्दै ठगि गर्ने गिरोहमा राष्ट्रिय अनुसन्धान विभागकै कर्मचारी संलग्न रहेको खुलेको छ । प्रहरी अपराध महाशाखाले गिरोहका ७ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा खोटाङको बतासे घर भई हाल काठमाडौंको कपन बस्ने ३३ वर्षीय चन्द्रप्रकाश राई लगायत छन् । उनी राष्ट्रिय अनुसन्धान विभागमा सूचक पदमा कार्यरत थिए । तर, उनले आफूलाई प्रहरी इन्सपेक्टर भनेर चिनाउने र बिभिन्न व्यक्तिहरुबाट मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने गरेका थिए ।

उनीसँगै सिन्धुपाल्चोक कर्थली ४ घर भई जोरपाटी बस्ने २६ वर्षीय छिरीङ तामाङ, कर्थली ४ कै ३२ वर्षीय विकास भन्ने केदार लामा, सोही स्थानका २८ वर्षीय ताराबहादुर थिङ र सिन्धुपाल्चोक घोर्थली ५ का ३२ वर्षीय मानबहादुर तिमिल्सीना पनि पक्राउ परेका छन् ।

सोही गिरोहका काठमाडौं शंखरपुर ५ बस्ने टिकाराम स्याङवो र खोटाङकै चिपरुङ १ घर भई जोरपाटी नारायणटार बस्ने ३४ वर्षीय श्री प्रसाद राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धान विभागका चन्द्रप्रकाश राईलगायतको यो समूहले काठमाडौंको धुम्वाराही बस्ने सुजन महर्जनसँग ८ लाख रुपैयाँ ठगेको पाइएको छ ।

यो समूह तल-माथि सक्कली डलर राख्ने र बिचमा डलर जस्तै देखिने कागज राखेर सस्तोमा डलर साट्न सक्रिय थियो ।
चन्द्रप्रकाशले महर्जनलाई नै अनुसन्धानको लागि खर्च हुन्छ भन्दै तत्काल ५० हजार रुपैयाँ मागेका थिए । उनले महर्जनलाई ठक्ने अभियुक्तहरु फेला पारेपछि ४-४ लाख रुपैयाँ बाँड्ने सर्त राखेका थिए ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा सुजनसँग ८ लाख रुपैयाँ ठगी गर्ने काममा चन्द्रप्रकाश समेत ७ जना व्यक्ति संलग्न रहेको खुलेको थियो । उनीहरुलाई गत चैत ३० गते चावहिलबाट पक्राउ गरी कानूनी कारबाहीको लागि महानगरी प्रहरी परिसरमा बुझाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment