Comments Add Comment

सूर्यबहादुर थापाले लिम्बुको किपट मासे : लावती

५ वैशाख, काठमाडौं । पाँचथरमा जन्मिएका पूर्वमन्त्री पद्मसुन्दर लावती पञ्चायतकालीन राजनीतिका हर्ताकर्ता हुन् । त्यसबेला लावती सूर्यबहादुर थापालाई जसरी पनि असफल बनाउने खेलमा लागेका थिए । लावतीले पञ्चायतकाल र बहुदल आइसकेपछि पनि सूर्यबहादुर थापाको कसरी खेदो खने ? लावतीकै शब्दमा :

तस्वीरमा पूर्वपञ्चहरु : स्व. सूर्यबहादुर थापा, डा. तुल्सी गिरी, पशुपति समशेर जबरा, कमल थापा, राजेश्वर देवकोटा, पद्मसुन्दर लावती लगायत ।
तस्वीरमा पूर्वपञ्चहरु : स्व. सूर्यबहादुर थापा, डा. तुल्सी गिरी, पशुपति समशेर जबरा, कमल थापा, राजेश्वर देवकोटा, पद्मसुन्दर लावती लगायत ।

वि.सं. २०१६ सालमा तेह्रथुममा लिम्बूवानको विशाल सम्मेलन सम्पन्न भयो । पहिलोपल्ट लिम्बूवानको सम्मेलन भएको यो ऐतिहासिक अवसर थियो । सम्मेलनमा तत्कालीन उपमन्त्री देउमान आङदेम्बे, ललितबहादुर सुब्बाजस्ता प्रबुद्ध व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो । सम्मेलनले सुब्बा प्रेमबहादुर अध्यक्ष र म सचिव भएको ‘लिम्बूवान सुरक्षा सुरक्षित संगठन’ निर्माण गर्‍यो ।

वीपी कोइरालको नेतृत्वमा रहेको काँग्रेसको सरकारलाई फाल्ने र राजा महेन्द्रलाई सहयोग गर्ने संगठनको भित्री उद्देश्य रहेको थियो । सम्मेलनबाट काँग्रेसको विरोध गर्दै राजा महेन्द्रलाई सहयोग गर्ने सहमति गर्‍यौं ।

‘लिम्बूवान सुरक्षा सुरक्षित संगठन’का तर्फबाट त्यस भेगका समस्याहरूलाई राजा महेन्द्रसँग राख्न प्रतिनिधिमण्डल लिएर हामी टोलीसाथ काठमाडौं गयौं । काठमाडौं पुगेपछि हाम्रो टोली दुई समूहमा विभाजन भयो ।

सुब्बा प्रेमबहादुर लगायतका केही साथीहरू हामीबाट अलग हुनुभयो । हाम्रो समूहमा मलगायत देउमान आङदेम्बे, बमबहादुर सम्बाहाम्फे, साहू काजीमान श्रेष्ठ, नारायणभगत प्रधानाङ्ग थियौं । टोली नेताको रूपमा देउमान आङदेम्बेलाई अगाडि सार्‍यौं ।

राजा महेन्द्रसँग लिम्बूवानका प्रतिनिधिमण्डलको दर्शनभेटमा किपट पनि लागू गर्ने र पञ्चायत पनि कायम गर्ने सहमति भयो । श्री ५ महेन्द्रबाट किपट भन्ने शब्द थप गरी लालमोहर बक्स्यो । पछि सूर्यबहादुर थापा प्रधानमन्त्री भएपछि किपट प्रथा अन्त्य भयो । सूर्यबहादुर थापाले किपटको अन्त्य गराएकोले आम लिम्बूहरू सूर्यबहादुर थापाप्रति आज पनि असन्तुष्ट छन् ।

थापाविरुद्ध अविश्वासको प्रस्ताव

निर्वाचनपछि सूर्यबहादुर थापा पुनः प्रधानमन्त्री हुनुभयो । जनमत संग्रहमा पनि उहाँ नै प्रधानमन्त्री रहनुभएको थियो । सूर्यबहादुर थापाका विरुद्धमा हामीले देशव्यापी रूपमा एउटा समूह खडा गर्‍यौं । जसमा लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमसेर जबरा, म, पीतम्बर थापा, केदार राई, दिलबहादुर श्रेष्ठ, हिरालाल विश्वकर्मा, मुकुन्द बस्नेत, डम्बरनारायण यादव, रणबहादुर शाह (गोथेबाबु) लगायत थियौं । संविधानको तेस्रो संशोधनपछि पञ्चायतमा पनि प्रजातान्त्रिक अभ्यास हुन्छ भन्ने एउटा उदाहरण थियो ।

Surya-Bdr-Thapa

सूर्यबहादुर थापालाई हटाएर हामीमध्ये को प्रधानमन्त्री हुने भनेर आन्तरिक छलफल गरी लोकेन्द्रबहादुर चन्दलाई नेताका रूपमा अघि सारेर उहाँलाई नै प्रधानमन्त्री बनाउने सहमति गर्‍यौं । लोकेन्द्रबहादुर चन्द राष्ट्रिय पञ्चायतको उपाध्यक्ष र अध्यक्षसमेत भइसक्नुभएको व्यक्ति भएकाले उहाँलाई नै अघि सार्न सबै सहमत भयौं ।

त्यसपछि डेलिगेसन, पत्रकार सम्मेलनलगायत जे जति कार्यक्रमहरू हुन्छन् ती सबैमा लोकेन्द्रबहादुर चन्दलाई नेताको रूपमा बोल्न लगाउन थाल्यौं । पूर्वाञ्चलका माननीयहरू पर्शुराम राईबाहेक सबैजना हाम्रै पक्षमा हुनुहुन्थ्यो । सूर्यबहादुर थापाका विरुद्ध सडकदेखि राष्ट्रिय पञ्चायत बैठकसम्म आवाज घन्किन थाल्यो ।

सूर्यबहादुर थापाको विरोध चौतर्फी बढ्दै गएको समयमा राजा वीरेन्द्रको धनकुटा सवारी भयो । मौसुफ एक महिना धनकुटामा नै राज होइबक्स्यो । त्यसबेला सरकार सवारी भएको क्षेत्रका सबै माननीयहरूलाई सवारी अवधिभर सवारीस्थलमै राख्ने व्यवस्था थियो । पूर्वाञ्चलका हामी २८ जना रापंसहरू पनि सवारी अवधिभर धनकुटामै बसेका थियौं । हामीलाई बस्नका लागि एउटा लामो टहरोमा क्याम्प निर्माण गरिएको थियो । त्यहाँ बस्दा पनि हामीले सूर्यबहादुर थापाका विरुद्ध गतिविधिहरू सञ्चालन गरिरहृयौं ।

सूर्यबहादुर थापाजी पनि बेलाबेलामा हेलिकोप्टर चढेर राजासँग दर्शनभेट गर्न धनकुटा आउने गर्नुहुन्थ्यो । तर, उहाँ हामी रापंसहरू बसेको क्याम्पमा ननिस्की, कसैसँग भेटघाट नै नगरी काठमाडौं फर्कनुहुन्थ्यो ।

हामीसँग भेट गर्दा उहाँको तीव्र विरोध हुन्छ भन्ने उहाँले राम्ररी बुझ्नुभएको थियो र उहाँ तर्केर हिँड्नुहुन्थ्यो । त्यसबेला सूर्यबहादुर थापाका सहयोगी माननीय पर्शुराम राईलाई अन्य माननीयहरूले घेरेर र्‍याखर्‍याख्ती पार्नुहुन्थ्यो । पर्शुराम राईजी बोल्न सक्नुहुन्नथ्यो ।

विस्तारै सूर्यबहादुर थापाले हाम्रो विरुद्धमा चलखेल सुरु गर्न थाल्नुभयो

राजा वीरेन्द्रको काठमाडौं फिर्ती सवारी भएपछि हामी पनि काठमाडौं फर्कियौं । हामी काठमाडौं फर्केपछि राष्ट्रिय पञ्चायतको बैठक सुरु भयो । सदनमा हामीले प्रधानमन्त्री थापाविरुद्ध अविश्वासको प्रस्ताव ल्यायौं । बहुमतले अविश्वासको प्रस्ताव पनि पारित भयो । प्रधानमन्त्रीजीको पक्षमा जम्मा १७ मतमात्र पर्‍यो । सूर्यबहादुर थापा प्रधानमन्त्रीबाट हटेपछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुभयो । उहाँको मन्त्रिमण्डलमा म, पशुपतिसमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, डा. डम्बरनारायण यादवलगायत मन्त्री भयौं ।

मलाई गृह र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । विस्तारै सूर्यबहादुर थापाले हाम्रो विरुद्धमा चलखेल सुरु गर्न थाल्नुभयो ।

राप्रपा यसरी फुट्यो

बहुदल आइसकेपछि राप्रपाको पार्टीको दोस्रो महाधिवेशन पोखरामा गर्ने निर्णय गरियो । उक्त महाधिवेशनमा अध्यक्ष पदका लागि तीनजना नेताहरूले उम्मेद्वारी दिनुभयो । पशुपति समशेर राणा, रवीन्द्रनाथ शर्मा र डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापा, तत्कालीन प्रम लोकेन्द्रबहादुर चन्दलगायत हामीले उदार दृष्टिकोण राखेर पशुपतिसमशेर जबरालाई सघायौं । उहाँ अत्यधीक मतले पार्टी अध्यक्षमा निर्वाचित हुनुभयो । उक्त अधिवेशनबाट संवैधानिक राजतन्त्रमा राजाको प्रभावकारी भूमिका हुनुपर्छ भन्ने एजेण्डा अध्यक्ष पशुपतिजीकै सक्रियतामा पास भएको थियो ।

संवैधानिक राजतन्त्रमा राजाको प्रभावकारी भूमिका हुनुपर्छ भनेकै भरमा पशुपतिजी अध्यक्षमा निर्वाचित हुनुभएको हो । सो महाधिवेशनबाट म पनि केन्द्रीय सदस्यमा निर्वाचित भएँ । त्यसपछि मलाई पार्टीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइयो ।

यसै क्रममा पार्टीका उच्च नेताहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच आपसी सम्बन्ध धुमील हुनथाल्यो । संयोगवश श्री ५ महाराजाधिराज सरकारबाट लोकेन्द्रबहादुर चन्दजीको मन्त्रिमण्डल विघटन गरी सूर्यबहादुर थापालाई प्रधानमन्त्रीमा नियुक्त गरिबक्स्यो । सूर्यबहादुर थापाले पनि त्यसबेला कमल थापा, बुद्धिमान तामाङ, डा. प्रकाशचन्द्र लोहनी, रेणुकुमारी यादवलगायतलाई समावेश गरेर आफ्नै किसिमको मन्त्रिमण्डल बनाउनुभयो । उहाँले सरकारमा अन्य दलहरूलाई समावेश गराउन सक्नुभएन भने आफ्नै पार्टीका साथीहरूलाई समष्टिगत रूपमा समावेश गरेर मन्त्रीमण्डललाई पूर्णता दिन पनि सक्नुभएन ।

अन्य दल सरकारमा सहभागी हुन चाहँदैनन् भने आफ्नै पार्टीका साथीहरूलाई समावेश गरी मन्त्रीमण्डललाई पूर्णता दिऔं भनेर हामीले उहाँलाई बारम्बार भन्यौं । सरकारमा सामेल साथीहरू र पार्टी संस्थापन पक्षबीच मनमुटाव सुरू भयो ।

यसैबीचमा म जिल्लामै बसेको बखत पार्टी नेता लोकेन्द्रबहादुर चन्दजीले मलाई तुरून्त काठमाडौं आउन आग्रह गर्नुभयो । म काठमाडौं आइपुगेकै दिन पार्टीको बैठक बस्यो । उक्त बैठकमा सरकारविरूद्ध सडक आन्दोलन गर्ने कुरा उठ्यो । सो सडक आन्दोलनको विषयमा मेरो सहमति थिएन । बैठक सकिएपछि म जिल्लातिरै लागेँ । यता साथीहरूले सडक आन्दोलन गर्ने निर्णय गर्नुभएछ । यसरी हतारमा सडक आन्दोलन गर्दा पार्टीलाई नकारात्मक असर पर्छ, अहिले नगरौं भन्दा साथीहरू मान्नु भएन । यही निहुँबाट पार्टी विभाजनको सुत्रपात भयो ।

परिणामस्वरूप सूर्यबहादुर थापा, बुद्धिमान तामाङ, डा. प्रकाशचन्द्र लोहनी, रेणुकुमारी यादव, सर्वेन्द्रनाथ शुक्ला, हरिबहादुर बस्नेत लगायतका नेताहरू पार्टीबाट अलग हुनुभयो ।

तुल्सी गिरीलाई खुवाउने अण्डै पाइएन

वि.सं. ०२१ सालमा डा. तुलसी गिरी मन्त्रिपरिषदको अध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई फिदिम आउन निमन्त्रणा गर्‍यौं । डा. गिरी हेलिकोप्टर चढेर फिदिम आउनुभयो । त्यसबेला फिदिममा कसैले पनि हेलिकोप्टर देखेका थिएनन् । हेलीकोप्टरको आगमनले मान्छे नै हराउने किसिमको ठूलो भीड गरायो ।

त्यस समयमा फिदिम बजारभरि नै कसैको घरमा, अफिसमा कतै पनि एउटा कुर्सी थिएन । म यासोकमा प्रधानपञ्च भएका बेला २४ वटा अमेरिकन शैलीको कुर्सी बनाएको थिएँ । सल्लाको काठबाट निर्मित उक्त कुर्सीहरू यासोक-२ आम्बोटे निवासी गैंते भनिने नरबहादुर विश्वकर्मा समेतलाई बोकाएर ल्याई तिनै कुर्सीहरूको प्रयोग गरेर सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्‍यौं ।

डा. तुलसी गिरीसँग एकजना विदेशी पनि आउनुभएको थियो । उहाँले पनि भेलालाई सम्बोधन गर्नुभयो । तिलविक्रम नेम्वाङ (वैरागी काइँला) ले उहाँको भाषणलाई नेपालीमा अनुवाद गर्नुभएको थियो । पञ्चायतमा बैरागी काइँला पनि हामीसँगै काम गर्नुहुन्थ्यो । उहाँ किसान संगठनको अञ्चल सभापति हुनुभयो । जिल्ला पञ्चायतमा बसेर पनि सेवा गर्नुभयो । पछि विस्तारै उहाँ पञ्चायत छोडेर कांग्रेसको निकट बन्नुभयो ।

फिदिममा दिउँसो कार्यक्रम सकेर बेलुका डा. गिरीलाई तत्कालीन फिदिम निम्न माध्यमिक विद्यालयको भवनमा राख्यौं । त्यतिबेला जिल्ला पञ्चायत सदस्य त्रिलोचन बास्कोटा हुनुहुन्थ्यो । डा. गिरी लगायतको टोलीलाई खानपिन गराउने जिम्मा त्रिलोचन बाँस्कोटालाई दिइएको थियो । उहाँले ब्राहृमण खाना खिर, कुराउनी बनाउनुभएको रहेछ । डा. गिरी खिर, कुराउनी केही पनि खानु हुँदोरहेनछ ।

डा. गिरीले एउटा अण्डा खाने मनसाय व्यक्त गर्नुभयो । त्यसबेला फिदिममा पसलहरू थिएनन् । बजारभरिबाट एउटा अण्डासमेत उपलब्ध हुन सकेन । वैष्णवहरूको बसोबास भएको ठाउँ, बाहुनले कुखुरा पाल्नुहुँदैन भन्ने मान्यता भएको बस्तीमा कहाँबाट अण्डा पाउनु ? डा. गिरी केही नखाई फर्कनुभयो ।

(लावतीको आत्मकथा समेटिएको पुस्तक ‘मेरो देश मेरो परिवेश’बाट साभार । यो पुस्तक शनिबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले विमोचन गर्ने कार्यक्रम छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment