
शनिबार मध्यान्नमा गएको भूकम्पले ५ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । हजारौ मानिस वेपत्ता छन् भने लाखौ विस्थापित भएका छन् । यो दुखद घडीमा नेपालीले नै नेपालीलाई सहयोग गर्नु पर्ने देखिन्छ ।
सरकार र विदेशी दातृ निकायहरु आ-आफ्नो तर्फबाट राहत र यो समस्यालाई हल गर्न लागिरहेका छन् । यो मेसोमा देशको जिम्मेवार क्षेत्र चलचित्र क्षेत्रले पनि आफ्नो हात अगाडि बढाउनु पर्ने देखिन्छ ।
तर, अहिलेसम्म चलचित्रकर्मीबाट त्यस्तो सहयोगका लागि कुनै पहल भएको देखिदैन । हुनत, यस्तो समयमा एक व्यक्तिले गर्नुभन्दा पनि चलचित्र सम्बन्धी संघसंस्थाले नै पहल गरेर अगाडि बढ्नु पर्ने देखिन्छ ।
चलचित्रकर्मीका कुरा आम मानिसले सुन्ने भएकाले पनि उनीहरुले यस बिषयमा पहल र कदम चाल्नु आवश्यक छ । चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्का आफूहरुले अब चाल्ने कदमको बारेमा छलफल गरिरहेको बताउँछन् ।
५ दिनसम्म आफू, परिवार र आफन्तलाई सम्हाल्न कलाकारलाई हम्मे परेको भन्दै बल्ल माहोल शान्त भएकाले के गर्ने बिषयमा छलफल गरिरहेको उनले बताए । उनले विदेशी कलाकार जस्तो ठूलो रकम घोषणा गर्न आफूहरुले नसक्ने भन्दै सक्ने काममा लाग्ने बताए । उनले यस्तो कुरामा विज्ञप्ती निकालेर दुख मात्र व्यक्त नगर्ने भन्दै राहतको प्याकेज नै लिएर अगाडि बढ्ने बताए ।
उनले आफूहरु स्वयंमले पीडा भोगिरहेकाले अब के गर्ने भन्ने बिषयमा निचोड निकालेर अगाडि बढ्ने बताए । नेपाली चलचित्रका चर्चित कलाकारहरुले आफ्नो फेसबुकमार्फत राहतका लागि आग्रह गरिरहेका छन् । केहीले यस बिषयमा सक्रियता देखाएपनि धेरै पनि फेसबुकमा समवेदना दिनु र तस्बिर शेयर गर्नमा नै सिमित छन् ।
कलाकार दयाहाङ राइले मण्डला थिएटरमा अनामनगरमा बसोबास गर्ने स्थानियलाई २ दिनका लागि खान खुवाउने, सुताउने बन्दोबस्त गरेको बताए । यसमा कलाकार करण श्रेष्ठ पनि सक्रिय रुपमा लागेका थिए । घरमा सुत्न डराएकाहरुलाई मण्डलाको आगनमा मिलुजुली राखेको उनले बताए । उनले आफूहरुले खासै ठूलो काम गर्न नसकेपनि सक्दो प्रयास गरेको बताए ।
४ दिनसम्म मण्डलामा रहेका मानिसहरुलाई नै बन्दोबस्त गर्दा अन्य तिर सोच्न नसेकेको भन्दै उनले अब आफूहरुले चेतना फैलाउने काम गर्ने बताए । उनले भने-‘धेरै नआत्तिनुहोस्, काठमाण्डौ बाहिर जान नहतारिनुहोस्, आफ्नो स्थानलाई सफा राखेर स्वच्छ बन्नुहोस् भन्ने बिषयमा नै हामी चेतना जगाउँछौं ।’
चलचित्र पत्रकार संघ र चलचित्र निर्देशक समाज मिलेर बिहिबार दिउँसो १ बजे काठमाण्डौको रक्त संचार केन्द्रमा रक्तदानको आयोजना गरेका छन् ।
विशेषगरि, यस्तो समयमा चलचित्र सम्बन्धी विभिन्न संघसंस्थाको समन्वय आवश्य देखिनु पर्ने हो । तर, चलचित्रसँग सम्बन्धित संघसंस्थाबाट कुनै पनि कदम आजसम्म चालिएको देखिएको छैन ।
प्रतिक्रिया 4