Comments Add Comment

‘तलब खान्नौं, भूकम्प पीडितको सेवा गर्छौं’

भूकम्पले घाइते भएकाहरुले अस्पताल भरिएका छन् । भूकम्पमा परेर मर्ने मरिहाले, घाइते भएकामध्ये अधिकांशको हात, खुट्टा र ढाड भाँचिएको छ । त्यसैले विशेषगरी हाडजोर्नीको उपचार हुने अस्पतालमा घाइतेहरुको बढी चाप छ । यस्तै चाप काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा पनि छ ।
Sanju Pradhan
बिरामीको संख्या एक्कासी बढेपछि सुरुमा त अर्थोपेडिक अस्पतालका चिकित्सकहरुको होस हवासै उड्यो । तर, पछि सम्हालिएर उपचार सेवा सुरु गरियो, त्यो पनि निःशुल्क । तर, सीमित जनशक्ति, औषधि र पूर्वाधारका वीच कसरी मिलाइँदैछ त विरामीको उपचार व्यवस्था भनेर हामीले नेपाल अर्थोपेडिक अस्पतालका डाइरेक्टर डा. सञ्जु प्रधानसँग कुराकानी गरेका छौं ।

भूकम्प आएपछि सुरुको अवस्था कस्तो थियो ?

भूकम्प गएको पहिलो दिन घाइतेहरु उपचारका लागि खासै नआए पनि दोस्रो दिन एक्कासी चाप बढ्यो । कसरी म्यानेज गर्ने भनेर हामी त आत्तियौं । भूकम्प गएको गयै, बिरामीहरु आएको आयै भएपछि स्टाफहरु नै डराउने अवस्था आयो । यहाँ यस्तो स्थिति भयो कि मैले पुलिस बोलाएर भीड कन्ट्रोल गर्न भन्नुपर्‍यो, गेट बन्द गर्न लगाउनुपर्‍यो । त्यो बेलामा म एकदमै नर्भस भएँ । तर, पछि माइकिङ गरेर शान्तपूर्वक बस्न र एउटा बिरामीको एकजना मात्र कुरुवा बस्न भने । पछि विस्तारै सामान्य हुँदै गयो । तर, घाइतेको फ्लो घटेको छैन ।

कस्ताखालका घाइतेहरु धेरै छन् ?

तपाईंले देखिहाल्नुभयो । धेरैजसो ढाड फुस्किएका, जोर्नी फुस्किएका, हात खुट्टा भाँचिएका घाइतेहरु छन् । घाइतेहरुले अस्पताल परिसर, प्रतिक्षालय, रिसेप्सन सबै खचाखच छन् । कतिपयलाई त्रिपाल टाँगेर तथा कतिपयलाई ह्वील चेयर र काठको बेन्चमा राखेर उपचार गरिएको छ । अस्पताल भवनभित्रका शैया पनि भरिएका छन् । घाइतेहरुको संख्या बढ्दै गएपछि शुक्रबार अर्को त्रिपाल थपिएको छ । यसअघि आकस्मिक कक्षका रुपमा प्रयोग हुँदै आएको कोठामा आजभोलि अपरेशन गरिएका घाइतेलाई राखिएको छ । आकस्मिक विरामीहरुको उपचार बाहिर आँगनमा राखिएका टेन्टमा हुँदै आएको छ ।

म तलब लिन्न बरु दिनरात विरामीको उपचार गर्छु तपाईंहरुले के गर्ने भनेर सोधें । उहाँहरुले पनि हामी तलब खान्नौं बरु विरामीको सेवा गर्छौं भन्नुभयो ।

यति धेरै घाइतेहरुको उपचारको व्यवस्था कसरी मिलाउनुभएको छ ?

कतिपय अवस्थामा चिनेजानेका, रिटायर्ड भएका, जागिर छाडेर बसेकाहरुलाई पनि नेपाल मेडिकल कलेजका अस्पतालहरुबाट पनि डाक्टर र नर्सहरुलाई बोलाएर उपचारको व्यवस्था मिलाइएको छ । कतिपय गत शनिबारदेखि शुक्रबारसम्म उपचार गरी ७५० जना घाइते घर फर्किसकेका छन् । १३० जना घाइते भर्ना छन् । ६४ जनाको अपरेशन गरिसक्यौं । अपरेशन गर्न बाँकी अझै कम्तिमा ५०-६० जना घाइतेहरु छन् । विहान ७ बजेदेखि राति ९ बजेसम्म पनि अपरेशन चलिरहन्छ ।

ठाउँ ठाउँमा उद्दारको काम जारी नै छ । अझै कति घाइते थपिन्छन् भन्ने ठेगान छैन, कसरी उपचारको व्यवस्था मिलाउने सोच्नुभएको छ ?

सबभन्दा ठूलो कुरा हिम्मत हो । को-अपरेसन हो । हामीमा त्यो हिम्मत र जाँगर छ । त्यसबाटै आवश्यक म्यानपावर र औषधि उपकरण जुटाउँदै आएका छौं । हामी तलब समेत नलिएर काम गर्ने निर्णयसहित सेवामा खटिएका छौं । सामान्य घाइतेहरु डिस्चार्ज हुँदै जान्छन् । अरु थपिँदै जान्छन् । यो प्रक्रिया चलिरहन्छ ।

Nepal Orthopedic Hospital
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा उपचाररत घाइतेहरु

तलबसमेत नलिएर काम गर्ने भन्नुभयो, किन ?

भूकम्पबाट घाइते भएका सबै घाइतेहरुको औषधि उपचार हामीले निःशुल्क गर्दै आएका छौं । यसबाट निम्न आर्थिक अवस्था भएका, औषधि किन्न नसक्ने अवस्थाका विरामी र घाइतेहरु लाभान्वित हुने विश्वास छ । हाम्रो यो नन प्रोफिट अर्गनाइजेसन हो । सरकारी पनि होइन । सुरुमा बिरामीहरुसँग पैसा लिएर उपचार गर्ने की भन्ने सोच पनि आयो तर, होइन नेपालीहरु यति धेरै पीडामा परेकाबेला हामीले सेवा गर्ने अवसर यही हो भनेर एक पैसा पनि नलिने निधो गर्‍यौं ।

पैसा नलिएर कसरी खर्च चल्छ त ? स्टाफहरु कसरी पाल्ने ?

घाइतेहरुको अवस्था देख्ने वित्तिकै मलाई एकदमै पीडा भयो । औषधि उपचार शुल्क नलिएर निधो गरें । तुरुन्तै स्टाफ मिटिङ बोलाएँ । म तलब लिन्न बरु दिनरात विरामीको उपचार गर्छु तपाईंहरुले के गर्ने भनेर सोधें । उहाँहरुले पनि हामी तलब खान्नौं बरु विरामीको सेवा गर्छौं भन्नुभयो । अनि दुई छाक खाना खाऔं, तलब नखाऔं भनेर हिम्मतका साथ सबै उपचार निःशुल्क गर्दै आएका छौं । यहाँ औषधी उपचार टोटल निःशुल्क हुन्छ ।

Nepal Orthopaedic Hospital Kathmandu

सरकारले केही सहयोग गरेको होला नि त ?

सरकारको प्रतिनिधि एकजना पनि अहिलेसम्म यहाँ आएको छैन । यहाँ आउने त के कुरा विरामीको उपचारमा चाहिने चिज के छ, के छैन भन्ने एकपटक सोधेको समेत छैन । हामीले आफ्नै अस्पतालको स्रोत र व्यक्तिगत पहलबाट सबै काम गर्दै आएका छौं । टेन्टको व्यवस्था, औषधि उपचार सबै हाम्रै पहलमा भएको हो । सरकारले एक पैसा दिएको पनि छैन र के आवश्यक छ भनेर सोधेको पनि छैन । विदेशी साथीहरुले हामीले हेर्छौं भन्ने आश्वासनको भरमा काम गरिरहेका छौं ।

विदेशी साथीहरुले सहयोग गर्ने आश्वासन दिएको भन्नुभयो, कस्तो सहयोग गर्छु भनेका छन् ?

मैले विदेशमा रहेका मेरा सम्पर्कमा रहेकाहरुलाई इमेल लेखेर भूकम्पको विपत्तिबारे जानकारी गराएँ र निःशुल्क उपचार गर्ने निर्णयबारे जानकारी गराएर इमेल पठाएँ । उनीहरुले त्यो मेरो लेटर प्रसिद्ध विदेशी समाचार संस्था फक्स न्यूजमा पनि प्रकाशित गरे । त्यही दिन बेलुकादेखि मलाई विदेशबाट पनि फोन आउन थाल्यो । कसैले १० हजार डलर, कसैले २ हजार डलर, कसैले १ हजार डलर सहयोग गर्ने प्रतिवद्धता जनाए । यो गर्दा गर्दै उनीहरुले के भन्न थाले भने तिमी काम गर्दै गर एक महिनासम्मका लागि हामी हेर्छौं भनेपछि हिम्मत आयो । र भूकम्पमा परेका सबै घाइतेहरुसँग एक पैसा पनि नलिइकन औषधी उपचार दिँदै आएका छौं ।

घाइतेहरुलाई बिहान नास्ता, खाना, दिउँसो खाजा र राति पनि खाना खुवाउँछौं ।

विदेशीबाट थप सहयोग पाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

अहिलेसम्म आश्वासनको कुरा मात्रै पाएका छौं । मलाई पूर्ण विश्वास छ, मलाई सहयोगको बाचा गर्ने विदेशी मित्रहरु नेपाल सरकार जस्तो छैनन् केबल जनतालाई ढाँट्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment