Comments Add Comment

बीचबाटोबाटै काठमाडौँलाई बाइबाइ

Buspark-to-Kalanki-5

  • फाइल तस्वीर

३० वैशाख, काठमाडौँ । भूकम्पको त्रासदी कम भएपछि गृह जिल्ला पर्वत पुगेकी विष्णुकुमारी न्यौपानेलाई काठमाडौँ फर्केकोमा पछुतो लागेको छ ।

यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि क्रमिकरुपमा कम हुँदै गएका पराकम्पनले काठमाडौँ उपत्यकाको जनजीवन सामान्य भएपछि न्यौपाने गत सोमबार पुनः काठमाडौँ फर्केकी थिइन् ।

भद्रकालीप्लाजाको खाली जग्गामा त्रिपालमा बस्दै आएकी न्यौपानेजस्तै लाखौँ सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए तर काठमाडौँको जनजीवन सामान्य बन्दै जान थालेपछि कामकाजी अधिकांश सर्वसाधारण क्रमशः राजधानी फर्कन थालेका थिए ।

पाल्पाबाट काठमाडौँ आउँदै गरेकी कुबिजा अर्याल मङ्गलबार गएको भूकम्पको ठूलो पराकम्पनको समाचार सुनेपछि बीचबाटो (पोखराबाटै) पुनः घर फर्किन् ।

भूकम्पपछि निरन्तर गइरहेको पराकम्पनको त्रासले राजधानी आउन डराएकी अर्याल एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै सयौँ सर्वसाधारण विभिन्न जिल्लाबाट राजधानी आउन लागेको भएपनि मङ्गलबारको शक्तिशाली पराकम्पनपछि आ–आफ्नै गृह जिल्ला फर्किएका छन् । त्यस्नै राजधानी बाहिरिनेको सङ्ख्या पनि पुनः वृद्धि भएको छ ।

काठमाडौँको मैतीदेवीमा बस्ने विश्वबन्धु भण्डारीले भूकम्पको त्रास कम भएसँगै केहीदिनदेखि डेरामा बस्दै आएका थिए तर मङ्गलबारको भूकम्पले पुनः त्रासदी फैलाएपछि अहिले उनी गृह जिल्ला फर्किने मनस्थितिमा छन् ।

त्यस्तै विनाशकारी भूकम्पपछि काठमाडौँको घट्टेकुलोमा केहीदिनयता कोठामै बस्दै आएकी सुर्खेतकी कृष्णा पौडेल मङ्गलबारदेखि पुनः पालमुनीको कष्टकर रात बिताउन बाध्य छिन् ।

मङ्गलबार दिउँसो गएको ६.८ रिक्टर स्केलको भूकम्पको पराकम्पनले उपत्यकावासीलाई पुनः तर्साएको छ । पराकम्पनलगत्तै नयाँ बसपार्क र कलङ्कीमा आफ्ना निजी र सार्वजनिक सवारी साधनबाट राजधानी बाहिरिनेको घुइँचो लागेको थियो ।

राजधानीको सामाखुशी बस्दै आएका राजेन्द्र घिमिरेले आफू भाडामा बस्दै आएको घर मङ्गलबारको शक्तिशाली पराकम्पनले चर्किएपछि राजधानी छोडेर गृहजिल्ला तनहु फर्केको बताए ।

साथै घर तथा डेरामा बस्दै आएका सर्वसाधारण मङ्गलबारको पराकम्पनपछि पुनः पालमुनिको निकै सकसपूर्ण रात बिताउन बाध्य भएका छन् ।

काठमाडौँका टुडिखेल, खुल्लामञ्च, दशरथ रङ्गशाला, सिंहदरबार, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, कोटेश्वर, जावलाखेल, पुल्चोकलगायतका खुल्ला स्थानमा हजारौँ सर्वसाधारण त्रिपालमुनी बसेका थिए ।

यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि त्रासदीले १० लाख भन्दा बढी सर्वसाधारण उपत्यका बाहिरिएका थिए भने भूकम्पको प्रभाव कमभएसँगै उपत्यका भित्रिने सार्वसाधारणको सङ्ख्यामा पुनः कमी आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment