Comments Add Comment

मदन-आश्रितको स्मृतिमा दासढुंगामा श्रद्धाञ्जली सभा

madan-Bhandari-and-Jibraj-A

३ जेठ, चितवन । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको चितवनको दासढुंगामा एमाले चितवनले श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धान्जली सभामा बोल्ने एमाले नेताहरुले दासढुंगा हत्याकाण्ड पत्ता लगाउन नसकेकोमा दुःखेसो गरे । उनीहरुले मदन भण्डारीले देखाएको बाटोमा एमाले पंक्ति प्रतिवद्ध भएर लाग्नुपर्ने विचार राखे ।

एमाले पोलिटब्यूरो सदस्य काशिनाथ अधिकारीले जननेता मदन भण्डारी विश्व कम्युनिष्ट आन्दोलनकै महान नेता भएको भन्दै विश्व कम्युनिष्ट आन्दोलन नेपालबाट उठ्दै गर्दा त्यसलाई सिध्याउन देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले हत्या गरेको बताए ।

यसअघि नेताहरुले दासढुंगामा बनेका जननेता मदन-आश्रितको शालिकमा फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

०५० साल जेठ ३ गते आजकै दिन कास्कीको जिल्ला अधिवेशन सकेर चितवन आउँदै गर्दा मदन-आश्रित चढेको जीप कविलास गाविसको दासढुंगामा दुर्घटना भएर त्रिशुली नदीमा खसेको थियो । सो घटनामा एमाले तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

त्यसपछि एमाले पटक-पटक सरकारको नेतृत्वमा पुगे पनि हत्यामा संलग्नलाई पत्ता लगाउन नसकेको भन्दै आलोचनासमेत हुँदै आएको छ ।

यसैबीच एमाले चितवनले जननेता मदन भण्डारीको शव प्राप्त भएको चितवन गुञ्जनगरको गाँजिपुरमा जेठ ५ गते श्रद्धाञ्जली सभा सहित मदन भण्डारीको अर्धकदको शालिक स्थापना गर्ने कार्यक्रम छ । सो कार्यक्रममा एमाले उपाध्यक्ष एवं मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी चितवन आउने एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment