Comments Add Comment

कैदीका परिवार भन्छन्-कि आममाफी देऊ नत्र श्रम शिविरमा लैजाऊ

mamata Dhamala, Apsara Koirala, Bidhya Sapkota

  • ममता धमला, अप्सरा कोइराला र विद्या सापकोटा (वायाँबाट क्रमश:)

७ जेठ, काठमाडौं । ममता धमला कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि भद्र बन्दी गृह सुन्धारामा रहेका पति मुरारी धमलालाई भेट्न पुगेकी थिइन् ।

उनीसँगै धादिङकी अप्सरा कोइराला पनि सोही जेलमा रहेका भाइलाई भेट्न पुगेकी थिइन् । पहिलो भूकम्पमा आफूसँगैका बन्दीको ज्यान गए पनि आफूहरु जोगिएकै भन्दै थिए उनीहरुका पति ।

एकाएक भूकम्पको ठूलो धक्का आएपछि ममता र अप्सरा ज्यान जोगाउन कारागारको खुला ठाउँतिर भागे । तर जेलको काँडेतारभित्र रहेका उनीहरुका पति कहाँ भाग्ने ?

‘आँखै अगाडि जेल भवन कर्‍याक कुरुक्क भयो, तर किचिन लागेका श्रीमानलाई बाहिरैबाट हेर्नु बाहेक केही उपाय थिएन,’ ममताले भनिन्, ‘त्यसपछि प्रधानमन्त्री कार्यालयसम्म पुगेर बन्दीको ज्याउन बचाउन अपिल गर्‍यौं तर उनीहरुलाई धरापबाट बाहिर निकालेका छैनन् ।’

कारागारको जीर्ण भवन
कारागारको जीर्ण भवन

वैशाख १२ गतेको विनाशकारी भूकम्पले भद्र बन्दी गृह भत्किदा १६ जना कैदीको मृत्यु भएको थियो भने दर्जनौं घाइते छन् । तीमध्ये ९ जनाको अवस्था अहिले पनि चिन्ताजनक छ ।

भूकम्पको बेला घरभित्र वा अन्यत्र रहेका मान्छे ज्यान जोगाउन भागेर खुला ठाउँमा जान्छन् । तर कैदी बन्दीहरु जीर्ण भवनभित्र थुनिएकाले भाग्न नपाउँदा उनीहरुको ज्यान जोखिममा रहेको बन्दी बचाउ अभियानकी अप्सरा कोइराला बताउछिन् ।

भूृकम्पको पहिलो धक्कापछि डिल्लीबजार र भद्र बन्दी गृहका सात सय भन्दा बढी कैदीले ज्याउन जोगाउन माग गर्दै सरकारका नाममा अपिल पठाए । ती अपिल बोकेर बन्दीका परिवार राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री र मानवअधिकार आयोगको कार्यालयसम्म पुगेको ममताले बताइन् ।

उनीहरुले यो महाविपत्तिका बेलामा आफूहरु परिवारसँगै बस्न पाउनुपर्ने माग गर्दै जेलभित्र ज्यान जोखिममा रहेकाले आम रिहाईको माग गरेका छन् ।

Karagar
कारागार प्रशासनले कैदी बन्दीको जीवन रक्षाको पहल गर्न लेखेको पत्र

‘आम माफी मिल्दैन भने पनि बरु ध्वस्त संरचना पुनर्निर्माणमा लगाइयोस, देश बनाउने काममा कैदीहरुलाई लगाएर सुध्रिने मौका दिइयोस्,’ बन्दीकी पत्नी विद्या सापकोटाले भनिन् ।

राणाकालीन भवनहरुमा राखिएका हजारौं कैदीको ज्यान जोखिममा रहेकाले उनीहरुको सुरक्षाका लागि पीडित परिवार आफैं लागे पनि राज्य र समाजले आफूहरुलाई समेत अपराधीका रुपमा हेरेको गुनासो उनीहरुको छ ।

ममता भन्छिन्, ‘कैदीको बाँच्न पाउने अधिकार सुरक्षा हुनुपर्‍यो भनेर जाँदा हामी परिवारका सदस्यलाई समेत अपराधीको नजरले हेर्दा रहेछन् । श्रीमती परिबन्द वा कर्तव्यबाट जेल परे भन्दैमा श्रीमती अपराधी हुन्छन् र ?’

आम माफीको उनीहरुको मागबारे कानुनमन्त्री नरहरी आचार्यले अन्तर्राष्ट्रिय नजिर हेर्नुपर्ने बताएका थिए । गृहयुद्ध, ज्वालामुखी विष्फोट, सुनामी जस्ता विपत्तिका बेलामा बिभिन्न ४७ देशमा आममाफी दिएको उदाहरण कैदी बन्दीका परिवारले पेश गरेका छन् ।

‘आममाफी हुन्छ भने भोलि उसबाट हुने अपराधको जिम्मा र सजाय हामी भोग्न तयार छौं, यदि त्यसो हुन्न भने पनि बरु श्रम शिविरमा पठाइयोस, कम्तिमा ती जीर्ण घरभित्र नराखियोस्,’ अप्सराले भनिन्, ‘सरकारले हाम्रा परिवारका सदस्य सग्लो लगेको हो, सग्लो फिर्ता गरोस् ।’

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले कैदीबन्दीहरुलाई जोखिमपूर्ण अवस्थामा नराख्न र उनीहरुको जीवन रक्षाको लागि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

नेपालका अधिकांश कारागार जीर्ण र कैदीहरु असुरक्षित रहेको भन्दै ०६८ सालमै देवी खड्का संयोजक रहेको संसदीय समितिले उनीहरुलाई स्थानान्तरण गर्न सुझाव दिएको थियो । तर सो सुझाव कार्यान्वयन नहुदा यसपटकको भूकम्पमा कैदीहरुको समेत मृत्यु भएको छ ।

कारागारका कैदी बन्दीका आफन्तको अपिल
कारागारका कैदी बन्दीका आफन्तको अपिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment