१६ जेठ, काठमाडौं । नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जस्ता काण्डबारे छानविन गर्नु पर्ने बताएका छन् ।
अर्थमन्त्री डा. रामशरण महतका सहयोगी रमेश महतले राहतको जस्ता विक्री गर्न लागेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएपछि छहरेमा तनाव छ ।
शुक्रबार साँझबाट सुरु भएको तनाव अझै कम भएको छैन । अहिले पनि जस्ता भएको ट्रकलाई प्रहरीले सुरक्षा दिएको छ भने स्थानीयबासी आन्दोलित छन् ।
कांग्रेस नुवाकोटका सचिव समेत रहेका रमेश महतले राहतका लागि आएको जस्ता काठमाडौं फिर्ता लगेर बेच्न खोजेको स्थानीयबासीको आरोप छ । स्थानीयका अनुसार विकास महतको घरमा ३० बण्डल जस्ता झारेपछि बाँकी २७० बण्डल जस्ता बोटेर ट्रक काठमाडौं र्फकन खोजेको थियो ।
तर, अर्थमन्त्री महत र उनका सहयोग रमेश महतले भने आरोपको खण्डन गरेका छन् ।
घटनाबारे बुझ्दा नुवाकोटका प्रमुख जिल्ला अधिकारी निरौलाले अनलाइनखबरसँग भने-‘यसबारे छानविन गर्नुपर्छ । भोलि जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक बोलाइएको छ । त्यहाँ यो विषय राख्छु ।’
उनका अनुसार इन्भेष्टमेन्ट बैंकले नुवाकोटका स्कुलहरुका लागि पठाएको यो ३०० बण्डल जस्तापाताबारे जिल्ला दैवि प्रकोप उद्धार समितिलाई कुनै जानकारी नै थिएन ।
कसले पठाएको र कहाँ वितरण हुने भन्ने जानकारी नगराइको भन्दै उनले भने-स्कुलहरुलाई भनेर पठाएको एवान क्वालिटीको रंगिन जस्ता पाता रहेछ । समितिमार्फत आएको भए त कुनै समस्या नै हुने थिएन नि ?’
जस्ता प्रकरणमा छानविन हुनु पर्ने भन्दै उनले भने-‘यस्ता कुरालाई छाड्नु हुँदैन । नत्र अरुले प्रश्रय पाउँछ ।’
प्रतिक्रिया 4