Comments Add Comment

पहाडमा भूइँचालो जाँदा मधेसमा सर्पको डर

kamal madenकमल मादेन

भनिन्छ, सर्पले भूकम्पको पूर्वअनुमान पाउँछ र भूकम्प गएको वर्ष सर्पदंश बढी हुन्छ । संयोग नै भनौं, यो वर्ष तराई मधेसमा सर्पदंश बढी देखिएको छ । नवलपरासीमा रसेल्स भाइपर नामको खतरनाक सर्पको प्रकोप बढेको छ ।

सिन्धुलीस्थित दुधौली सर्पदंश उपचार केन्द्रका सर्पदंश उपचारक रेवतबहादुर बस्नेतले जनाए अनुसार दुधौलीमा पनि गएको १ महिनामा २५ सर्पदंशका बिरामी आएका छन् । भूकम्पपछि सर्पहरु दुलाबाट बाहिर निस्कने भएकाले सर्पको जोखिम बढ्ने बताइने गरेको छ ।

नवलपरासीमा सर्पको बिगबिगी बढेको छ । नेपालमा अन्यत्र कतै नदेखिएको अत्यन्त खतरानाक सर्प नवलपरासीमा पाइन थालेकोछ । यस लेखमा यो पंतिकार त्यही खतरनाक सर्प र सर्पदंशका बारेमा जानकारी प्रस्तुत गर्दछ ।

कुडिया गाविस-४ नवलपरासीकी २४ वर्षीया बिष्णु भण्डारीको एक्कासी होसहवासै उड्यो । त्योबेला रातको साडे सात बजेतिर उनी घरको दलाननिर हिँडदै थिइन्, सर्पले फ्वाँ गरेको आवाज कानैमा थर्कियो । त्यो आवाज उनको पाइतालानेरबाटै आएको थियो । त्यति नै खेर मुसा पनि चीँचीँ गर्दै करायो ।

विष्णुले हत्तपत्त श्रीमान नारायण भण्डारीलाई आत्तिँदै झण्डै सर्प टेकेको बताइन् । नारायणलाई शंका लाग्यो, बिष्णुले कतै सर्प नै कुल्चिएकी त होइनन् ? लोडसेडिङका कारण बिजुली थिएन । नारायणले हत्तपत्त टर्चलाइट बालेर श्रीमतीको खुट्टामा हेरे । सर्पले डसेको चिन्ह प्रष्टै देखियो । दाहिने खुट्टाको गोलीगाँठो माथि सर्पका दुईवटा दाँतले टोकेको चिन्ह प्रष्ट देखियो ।

नारायणले बिष्णुको गोलीगाँठो माथि र तिघ्रामा डोरीले बेस्सरी बाँधे । मोटरसाइकल अर्का एक जनालाई हाँक्न लगाए । आफू भने बिरामीलाई समाएर पछाडि बसे । तिनीहरु १२ मिनेटभित्रै नेपाली सेना बज्रदल गणको हाताभित्र रहेको सर्पदंश उपचार केन्द्र त्रिवेणीमा पुगे ।

छिमेकले सर्पलाई मारे । नजिकै मुसा पनि मरेको भेटियो । तुरुन्तै त्यो सर्पलाई त्यही सर्पदंश केन्द्रमै पुर्‍याइयो । त्यो सर्प ५२ सेन्टिमिटर लामो थियो । सर्पको मोटाइ ६ इन्च जति थियो । सर्पको शरीरभरि ठूलठूला थोप्लाहरु थिए । त्यो बाघे सर्प थियो ।

स्थानीयले त्यो सर्पलाई चित्तल सर्प पनि भन्ने गर्छन् । सर्पको शरीरमा बाघ वा चित्तल -एक प्रजातिको हरिण)का शरीरमा भएजस्तै थोप्लाका कारण उक्त सर्पलाई बाघे वा चित्तल सर्प भन्ने गरिएको हो । त्यो सर्पलाई अंग्रेजी शब्दावलीमा रसेल्स भाइपर भनिन्छ । त्यो अन्यन्त खतरनाक सर्पको प्रजाति हो ।

नेपालमा रसेल्स भाइपरबारे ज्यादै कम जानकारी छ । सर्प विशेषज्ञहरुका अनुसार रसेल्स भाइपर तराईका केही जिल्लामा पाउन सकिने सम्भावना छ । तर, त्यो सर्पको नमूना अझैसम्म वैज्ञानिक अध्ययन अनुसन्धानका निम्ति कसैले संकलन गरेको जानकारी छैन ।

उसो त नेपालको सर्पदंश उपचारको इतिहासमा रसेल्स भाइपरले टोकेका बिरामी कुनै उपचार केन्द्रमा भर्ना भएको जानकारी छैन । रसेल्स भाइपरले टोकेको बिरामीको कसरी उपचार गर्ने भन्ने सवालमा चिकित्सकसँग अनुभव छैन । यसले नेपालमा सर्पदंश उपचार सम्बन्धी जानकारी दुरुस्त छैन भन्ने संकेत गर्छ ।

रसेल्स भाइपरको विशेषता

snakeयो प्रजातिको सर्प साढे ५ फिटसम्म लामो हुन्छ । मोटाइ ६ देखि साढे ६ इन्चसम्मको र टाउको फराकिलो त्रिभुज आकारको हुन्छ । पुच्छर शरीरको तुलनामा पातलो (६/७ इञ्च लामो) हुन्छ । सर्पको रंग अक्सर जुटको बोराजस्तै हुन्छ । शरीरमा गोलाकार वा अण्डाकार आकारका गाडा खैरा वा काला थोप्लाहरु ३ लाइनमा हुन्छन् । ढाडमा भएका थोप्लाहरु वयस्क सर्पमा २३ देखि ३० वटासम्म हुन्छन् । तिनीहरु टाउकातर्फ जोडिएका हुन्छन् । पेटतिरका थोप्लाहरु भने छुट्टाछुट्टै हुन्छन् ।

रसेल्स भाइपर प्रजातिको सर्प भारत लगायत बंगलादेश, श्रीलंका, पाकिस्तान, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, चीन, ताइवान, इन्डोनेसिया आदि देशमा पाइन्छ ।

भारतका ग्रामीण भेगतिरका बासिन्दा रसेल्स भाइपरबाट अन्यन्त प्रताडीत छन् । श्रीलंकामा कुल सर्पदंशमध्ये ३० देखि ४० प्रतिशत रसेल्स भाइपरबाटै हुने गरेको छ । त्यो प्रजातिको सर्प खोला नजिक वा बालुवा भएको भूभागमा अक्सर पाइन्छ ।

नवलपरासी भारतसँग जोडिएको जिल्ला हो । भारत र नेपालको सीमानामा पर्ने गण्डक नदी किनार अवस्थित भूभाग कुडिया गाविसमा यो सर्प पाइएको छ । बिष्णु भण्डारीलाई कुडिया गाविस अन्तर्गत वडानम्बर ४ मा रसेल्स भाइपरले डसेको हो ।

टोकाइको लक्षण :

रसेल्स भाइपरको बिषालु दाँत ठूलो हुने भएकाले टोकेको चिन्ह प्रष्टै देखिन्छ । तर, सर्प सानो भए प्रष्ट घाउ नदेखिन पनि सक्छ । त्यसैगरी टोकेको भाग तत्कालै सुन्निने भएकाले दाँतको दाग पुरिन पनि सक्छ । धेरैजसोे बिरामीमा डसेको घाउबाट रक्तश्राव हुन्छ ।

यसको बिषले रातो रक्तकणिका नष्ट गर्छ । त्यसकारण केही घण्टापछि सेतोपानी मात्र निस्कन्छ । त्यो पानी टोकेको दागको अतिरिक्त आँखा, कान, गिजा वा भर्खरै जाति भएका घाउबाट पनि निस्कन सक्छ ।

बिष्णु भण्डारीको खुट्टोबाट भने थोरै मात्र रगत निस्कियो । खुटामा बाँधेको डोरी १० मिनटजतिमै खोलिएको थियो । राति ११ बजेदेखि खुटा सुन्नियो र अध्यधिक पीडा भयो । घुँडादेखि माथिसम्म सुन्नियो । पेट बटारियो र वान्ता पटक-पटक भयो । पानी पिउनेवित्तिकै वान्ता हुन्थ्यो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार रसेल भाइपरको बिष बिरामीको रगतमा परीक्षण गर्दा सामन्यतया ६ घन्टापछि मात्रै देखिन्छ । ६ घन्टापछि रगत नजम्ने हुन्छ । परीक्षणका निम्ति स्लाइडमा राखिएको रगत २० मिनेटमा एकातिर रातो रक्त कणिकाहरु र अर्कोतिर पानीजस्तो तरल पदार्थ जम्मा हुन्छ । त्यसले पीडितको रगतमा बिष छ भन्ने पुष्टि हुन्छ ।

बिष्णु भण्डारीलाई एकै दिनमा ७/८ पटक थोरै थोरै दिसा लागेको थियो । दिसा कालो र रगत मिसिएको थियो । बिष्णुलाई त्रिवेणीमा ५ भाइल एन्टी स्नेकभेनम पोलिभलेन्ट अर्थात प्रति-विष चढाइयो । प्रति-विष लगाएपछि दुखाइ कम भयो । तर, पेट बटारिने र वान्ता भने रोकिएन ।

बिरामीको रेनल फङ्शन टेष्टमा नतिजा एवनर्मल अर्थात असामान्य देखिएको थियो । उक्त उपचार केन्द्रले चैत्र २९ गते बिरामीलाई रगत चढाउनुका साथसाथै किडनी डाइलोसिस गर्नुपर्ने सम्भावना पनि हुने भएकाले सुविधायुक्त अस्पतालमा सिफारिस गर्‍यो । रसेल्स भाइपरको विषबाट किडनीमा अक्सर असर पुर्‍याउँछ ।

थप उपचार

विष्णुलाई चितवनस्थित भरतपुर अस्पतालमा भर्ना गरियो । तिनलाई पहिले आकस्मिक सेवाबाट मेडिकल वार्डमा भर्ना गरिएको थियो । बिरामीलाई रातभरि सहनै नसक्ने पीडा भयो । तिनलाई भोलिपल्ट आइसीयु कक्षमा सारियो । थप ४ भाइल एन्टी स्नेकभेनम लगाइयो । एक पोइन्ट रगत चढाइयो । त्यसका अतिरिक्त एन्टिबायोटिक लगायतका औषधिहरु दिइएको थियो । बिरामी आइसीयुमा ५ र क्याविनमा ३ दिनको उपचारपछि उनी डिस्चार्ज भइन् । अहिले बिरामीको अवस्था सामान्य छ । टोकेको ठाउँमा गाँठो जस्तो छ ।

नारायण भण्डारीले एम्बुलेन्स भाडासहित उपचारका क्रममा एक लाख रुपैयाँ सके । त्रिवेणीमा १ हजार उपचार शुल्क र ३ हजारजतिको औषधि किनेका थिए ।

थप जानकारी

सर्पदंश उपचार केन्द्र त्रिवेणीका प्रमुख डिल्लीराम पौडेलका अनुसार रसेल्स भाइपर कुडिया गाविसका अतिरिक्त रुपौलिया, दाउन्ने देबी, जमुनीया, नर्सही, रामपुर खरौना लगायतका गाविसहरुमा पनि पाइन्छ ।

गत चैत्र २८ गते नर्सही गाविस वडा नम्बर १ का मुस्तुफा मियालाई पनि रसेल्स भाइपरले खुट्टामा डसेको थियो । उनी घरैमा गहुँ दाइँ गर्न लाग्दै थिए । गहुँमा लुकेको रसेल भाइपरलाई कुल्चँदा मुस्तुफा मियालाई टोकेको थियो । उनका आफन्तले तुरुन्तै टोकेको ठाउँमा ब्लेडले चिरी सर्पदंश उपचार केन्द्र त्रिवेणी लगेका थिए । बिरामी सँगै सर्पलाई पनि उपचार केन्द्र पुर्‍याएका थिए । उनी उक्त उपचार केन्द्रबाट १ हप्तामा डिस्चार्ज भए । मुस्तुफालाई सर्पले टोकेको भन्दा ब्लेडले चिरेको घाउले बढी सतायो ।

गत २ वर्षको अवधिमा उक्त उपचार केन्द्रमा १५ जना जति रसेल्स भाइपर पीडितहरु उपचार गर्न पुगेका छन् । तीमध्ये आधा दर्जनजति नमुना सर्पहरु उक्त उपचार केन्द्रमा संग्रहमा गरिएका छन् ।

कुडिया-४ का नारायण भण्डारीका अनुसार १०/१२ बर्ष अघि कुडिया गाविस वडा नम्बर ४ का माधव भण्डारीको बाघे सर्पकै टोकाइबाट मृत्यु भयो । त्यसैगरी ३ वर्षअघि नवलपरासीकै सुरज विक रसेल भाइपरको डसाइबाट अति प्रताडित भए । तिनको महिनौं भरतपुरमा उपचार गरिएको थियो । खुट्टाबाट अप्रेसन गरी कुहिएका मांशपेसी फालिएका थिए । तिनी बच्न त सफल भए, तर ४ लाख रुपैयाँ उपचारमै खर्च भएको पारिवारिक श्रोतले बताएको छ ।

सर्पदंशप्रति राज्यको बेवास्ता

नेपाल सरकारले सर्पदंशका बिरामीलाई अवहेलना गरेको छ । बर्षेनी डेड/दुई सय व्यक्तिको सर्पदंशबाटै मृत्यु हुने गरेको छ । बिषालु तथा अतिविषालुसहित करिव २० हजार व्यक्ति सर्पदंशबाट प्रताडीत हुन्छन् । नेपाल सरकारले सर्पदंश उपचारमा मात्र एन्टिस्नेकभेनम निशुल्क उपलब्ध गराउने गरेको छ ।

बिष्णु भण्डारीले उपचार क्रममा मात्र ९ भाइल एन्टी स्नेकभेनम निशुल्क पाइन् । एक भाइलको दाम भारु ९ सय ९७ रुपैयाँ ५० पैसा हो । त्यस हिसाबले बिष्णुले सरकारको तर्फबाट मात्र १४ हजार ३ सय ६४ रुपैयाँ सहुलियत पाइन् । उपचारका क्रममा नारायण भण्डारीले १ लाख रुपैयाँ खर्च गर्नु परेको थियो ।

भारतका विभिन्न प्रान्तमा सर्पदंशका बिरामीलाई प्रकृति हेरी त्यहाँको सरकारले राहत रकम उपलब्ध गराउने प्रावधान छ । सर्पदंशबाट मृत्यु भए मृतकका परिवारलाई प्राकृतिक प्रकोपमा परेर मृत्यु भएको जस्तै मानी राहत दिने भारतमा व्यवस्था छ ।

यता नेपालमा हात्ती, गैंडा, बाघ वा अन्य जनावरले घाइते तुल्याए उपचार गरिदिने वा मृत्यु भएका परिवारलाई लाखौं रुपैयाँ दिने व्यवस्था छ । तर, सर्पदंशबाट मृत्यु भएका मृतकका परिवारलाई राहत दिने व्यवस्था छैन ।

सर्पदंश उपचारमा मात्र एन्टी स्नेकभेनम दिने प्रावधान छ । त्यो पनि सरकारले उपचार केन्द्रलाई आवश्यक अनुसार समयमा दिन सकेको छैन । विभिन्न उपचार केन्द्रहरुले स्थानीय स्रोत परिचालन गरेर आफै किन्ने गरेका छन् । नेपाली जनता हात्ती, गैंडा, चितुवा आदि भन्दा बढी सर्पदंशबाट प्रताडीत छन् । तर, नेपाल सरकार सर्पदंश उपचारप्रति अनुदार रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment