३२ जेठ, काठमाडौं । स्टार स्ट्राइकर नेयमारको प्रेरणामा ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार विहान भएको आफ्नो खेलमा ब्राजिलले पेरुलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता भने पेरुले लिएको थियो । ब्राजिलियन डिफेण्डर डेभिड लुइजको गल्तीको फाइदा उठाउँदै क्रिष्टियन केवाले तेस्रो मिनेटमा नै गोल गरे ।
तर, दुई मिनेटपछि नै नेयमारले ब्राजिलका लागि बराबरी गोल फर्काए । खेलको अन्तिम मिनेटमा नेयमारको पासमा कोष्टाले गोल गर्दै ब्राजिललाई जित दिलाए ।
त्यसअछि दोस्रो हाफको सुरुमा नेयमारको प्रहार बारमा लाग्दा ब्राजिलियन समर्थक चुकचुकाएका थिए । तर, खेलको इन्जुरी टाइममा नेयमारले पेरुका डिफेण्डरलाई छक्याउँदै दिएका पासमा अनमार्कमा रहेका कोष्टाले गोल गर्दै टोलीलाई जित दिलाए ।
ब्राजिलले सन् २००७ पछि कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन । त्यसबेला उसले अर्जेन्टिनालाई हराएको थियो । यो पटक लिओनल मेस्सीको अर्जेन्टिना र उसको बार्सिलोनाका टीममेट नेयमार कप्तान रहेको ब्राजिललाई नै प्रमुख उपाधि दाबेदारका रुपमा हेरिएको छ ।