Comments Add Comment

पहिचान माग्ने जनजातिलाई प्रचण्डको जवाफ : उतै गएर भन्नुस्

२ असार, काठमाडौं । आदिवासी जनजाति महासंघले पहिचानसहितको संघीयता हुनुपर्ने भन्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पहिचानबारे प्रचण्डको ध्यानाकर्षण गराउनेमा एमाले र कांग्रेसका सभासदसमेत थिए । आफूलाई एमाले र कांग्रेसका सभासदले पहिचानबारे ‘ध्यानाकर्षण’ गराएपछि प्रचण्डले निको मानेनन् र उनीहरुलाई आफ्नो दलमा समस्या नभएको भन्दै आफू सभासद भएकै दललाई यो कुरा भन्न आग्रह गरे ।

जनजाति महासंघ अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटे
जनजाति महासंघ अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटे

महासंघका अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेसहितका जनजाति महासंघका पदाधिकारी ध्यानाकर्षण पत्र बोकेर बुधबार बिहानै लाजिम्पाट पुगेका थिए ।

प्रचण्डलाई भेट्न गएका जनजाति महासंघका अध्यक्ष कुमाल कांग्रेसका सभासद हुन् भने महासचिव भोटे एमाले कोटाबाट सभासद बनेका छन् ।

भेटमा उनीहरुले नामांकन र सीमांकनसहितको प्रदेश बन्नुपर्ने, आदिवासी जनजातिहरुको सघन बस्तीलाई कायम राख्नुपर्ने प्रचण्डसँग माग गरेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रचण्डले चार दलबीच भएको सम्झौता अधिकतम प्राप्ति भएको बताए । पहिचानसहितको १० प्रदेश नै हुनुपर्छ भनेर बस्दा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता उपलब्धी नै गुम्ने खतरा बढेपछि सम्झौता गर्नुपरेको प्रचण्डले बताए ।

तर, प्रचण्डले बोल्दै गर्दा जनजाति महासंघका महासचिव पेम्बाले लोपन्मूख समुदायहरुका लागि विशेष तथा संरक्षण क्षेत्रहरु पनि हुनुपर्ने बताए ।

जवाफमा प्रचण्डले, हामीमा कुनै समस्या छैन, तपाईहरु जहाँ-जहाँबाट प्रतिनिधित्व गर्नु हुन्छ, त्यहीँ समस्या छ । त्यसैले उनीहरुलाई नै भन्नुस् भनेका छन् ।

विगतमा पहिचानसहित संघीयताका लागि संघर्ष गर्दा कांग्रेस र एमालेको सभासद भएर विरोध गरेको संकेत गर्दै प्रचण्डले कुमाल र भोटेलाई आफ्नै पार्टीमा गएर पहिचानबारे कुरा गर्न भनेका हुन् ।एक सहभागीका अनुसार प्रचण्डको कडा जवाफपछि सहभागीहरुबीच हाँसोको फोहोरा फुटेको थियो ।

भेटपछि जनजाति महासंघका महासचिव पेम्बा भोटेले एमाओवादी अध्यक्ष प्रचण्डले यसमै चित्त बुझाउनुस् भनेको अनलाइनखबरलाई जानकारी दिए ।

आदिवासी जनजाति महासंघका पदाधिकारीहरुले आजै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेवाङलाई पनि ध्यानाकर्षण पत्र बुझाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment