Comments Add Comment

ओलीविरुद्ध सूची तयार गर्न सभासदलाई माधवको निर्देशन

१४ असार, काठमाडौं । अध्यक्ष केपी ओलीविरुद्ध सडकमा उत्रिने र भूकम्प ल्याइदिने चेतावनी दिएका एमाले नेता माधवकुमार नेपालले सोमबार विहानै आफूनिकटका सभासदहरुको भेला आयोजना गरी ओलीले गरेका मनपरी कामको सूची तयार पार्न निर्देशन दिएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

थापाथलीस्थित एभरेष्ट कलेजमा आयोजित सभासदहरुको भेलामा नेता नेपालले भने- अब अति भयो, यसबीचमा नवौं महाधिवेशनयता भएका एकलौटी निर्णय, नियुक्तिलगायतका सबै कामको फेहरिस्त खोजेर सूची बनाउने र आ-आफ्ना कमिटी बैठकमा दह्रो ढंगले भण्डफोर गर्ने गरी अघि बढौं ।

ओलीले पार्टी र आन्दोलनलाई नै ध्वंश गर्दै विघटनको दिशामा लगेको आरोप नेपालले आफ्ना पक्षका सभासदको भेलामा लगाए । उनले तत्काल सबैले आ-आफ्ना कमिटीहरुको बैठक बोलाउन दबाब दिने र ओलीका मनपरीको सूची पेश गर्ने गरी अघि बढ्ने बताए ।

भेलामा सहभागी एक सभासदका अनुसार नेता नेपालले पार्टीमा संस्थागत निर्णयको प्रक्रिया नै सकिएको भन्दै अब सहेर नबस्ने बताएका छन् ।

भेलामा करीव ५० जना सभासद सहभागी थिए । भेलालाई उपाध्यक्ष युवराज ज्ञवालीले पनि सम्बोधन गरेका थिए । यसअघि नेपालले आइतवार आफू निकट केन्द्रीय सदस्यहरुको भेला राखेका थिए ।

खेलकुद परिषदको सदस्य सचिव नियुक्ति प्रकरणमा अध्यक्ष ओलीले खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई मन्त्रीबाट फिर्ता बोलाउन लागेपछि नेपालले ओली विरुद्ध लडाइको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment