Comments Add Comment

सातदोबाटोबाट चेलीबेटी बोकेर बिराटनगर पुगेपछि…

Santa-Limbu

ध्रुव भट्टराई

२० असार, बिराटनगर । मोरङको बिराटनगर एवं रानी भन्सारसँग सीमा जोडिएको जोगवनी नाका मानव तस्करहरुका लागि सुरक्षित नाकाका रुपमा प्रयोग हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

मानव बेचबिखनमा संलग्न रहेको भन्दै प्रहरीले आइतबार एक महिलालाई सार्वजनिक गरेको छ । ती महिलाले भारत लैजान लागेका पाँच युवतीलाई प्रहरीले उद्धार गरेको छ ।

डरलाग्दो तथ्यांक

मोरङका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालका अनुसार भारत तथा तेश्रो मुलुकमा रोजगारीको आश्वासनमा यही मार्ग भएर महिला एवं वालवालिकाहरु ओसार्ने गरिएको छ । उनीहरुलाई अरबसम्म लैजाने भनिए पनि भारतमा बेच्ने गरिएको प्रहरीको आशंका छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार अपरान्ह आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक लम्सालले एक वर्षको अवधिमा १ सय ४६ जनालाई जोगवनी नाकाबाट उद्धार गरिएको तथ्यांक सार्वजनिक गरे ।

यसरी उद्धार गरिएका मध्ये बढीजसो महिला र वालिकाहरु छन् भने केही वालकहरु छन् । उद्धार गरिएका मध्ये १२ देखि १८ वर्षका ४२ जना वालिका छन् । त्यस्तै १२ देखि १५ वर्षका १७ जना वालकको उद्धार गरिएको छ । तस्करहरुको पञ्जाबाट १८ देखि ३८ वर्षका ८८ जना महिलाको उद्धार गरिएको छ । वर्ष दिनमा यतिठूलो संख्यामा महिला र वालवालिका बेचबिखनमा पर्नु चानचुने घटना नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सो एक वर्षको अवधिमा मानव ओसार प्रसार तथा बेचबिखन तथा ओसार पसारमा संलग्न १५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

सातदोबाटोबाट उठाएर नाइट बसमा बिराटनगर

वैदेशिक रोजगारमा पठाइदिने बहानामा पाँच युवतीलाई बिराटनगर हुँदै जोगवनी नाकाबाट भारत लाने क्रममा पथरी शनिश्चरे नगरपालिका ८ की मोटी भनिने शान्ता लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिराटनगरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

मोरङ घर भई ललितपुरको ठेचोमा बस्दै आएकी ३२ वर्षीया लिम्बुलाई पाँचजना युवतीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ वयरवन-८ की २१ वर्षीया दुर्गा जोगी, कञ्चनपुर त्रिभुवन वस्तिकी २१ वर्षीया कोपिला तामाङ, म्याग्दी सिंहकी ३८ वर्षीया मनमाया विक, उदयपुर राजावास गाईघाटकी २३ वर्षीय सुकिका दनुवार र सप्तरी ढकली वथनाहाकी २५ वर्षीया मंगलीदेवी रामलाई भारत लैजाने क्रममा लिम्बू पक्राउ परेकी हुन् ।

उनीहरुलाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै कुवेत पठाइदिने बाहनामा जोगवनी नाका पुर्‍याइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पाण्डेले जानकारी दिए ।

शान्तिले पाँच युवतीहरुलाई ललितपुरको सात दोबाटोबाट स्थल मार्गको प्रयोग गरी जोगवनी ल्याएकी थिइन् । शान्तिले आफुलाई जोगवनीको बाटो प्रयोग गरी भारत लान एजेन्टले अह्राएको पत्रकार सम्मेलनमा बताइन् ।

भक्तपुरका प्रदीप तामाङ र काभ्रेकी कविता सेवाले आफूलाई जोगवनी पठाएको शान्तिले जानकारी दिइन् । जोगवनीमा रेल सेवाको सहजता भएकाले घुम्न जाने बहानामा तस्करहरुले रानी नाका प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार मानव तस्करहरुले मुलुकका अन्य नाका पनि प्रयोग गर्ने गरेका छन् तर, जोगवनी नाका भने उनीहरुको मुख्य मार्ग भएको पाइएको छ ।

प्रहरीले शान्तिलाई मानव वेचविखन तथा ओसार प्रसारमा मुद्दा चलाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment