श्रीधर पौडेल
२१ असार, काठमाडौं । पाठकवृन्द ! तपाईलाई झरी परेको मनपर्छ कि दिक्क लाग्छ ? प्रकृतिप्रेमीहरुलाई वर्षायाम रमाइलो लाग्ने भए पनि काठमाडौंमा झरी त्यति सुखद हुने गरेको छैन । गाउँमा जसरी काठमाडौं शहरमा झरी पर्दा मकैका पातहरु बज्दैनन् ।
राजधानीको सडक सार्क सम्मेलनका बेला जस्तै चिल्लो र सफा भइदिएको भए राजधानीबासीले झरीमा खुशी मान्न सक्थे कि ? सडकको छेऊछाउमा फूलबारी भैदिएको भए रमणीय हुने थियो कि असारे झरी ? तर, यहाँको व्यथा भिन्नै छ ।
काठमाडौ उपत्यकामा मनसुन सुरु हुनेबेलामा बजेट पचाउन सडकको कुनै न कुनै ठाउँ डोजरले भत्काएर हिलै बनाउन सुरु गरिन्छ । यसले गर्दा राजधानीबासीले मनसुन सुरु भएसँगै सास्ती व्यहोर्नुपर्छ । यो वर्षेनी आउने रीतजस्तै बनिसकेको छ काठमाडौंमा ।
यहाँ झरीको आनन्द लिनु भन्दा पनि कसरी बाटो काटेर गन्तव्यसम्म पुग्ने भन्ने पीर हुन्छ ।
अघिल्लो वर्ष बाटो बनिसकेका स्थानमा पनि खाल्डाखुल्डी परिरहने र भत्कने गरेकाले बाटो हिँड्नेलाई गाडीले हिलो छयाप्ने डर पनि त्यतिकै हुन्छ । सवारी साधनमा यात्रा गर्नेहरुले पनि पानीमा डुबेर ठूलै जोखिम मोलिरहेको प्रष्ट देख्न सकिन्छ ।
राजधानीमा यसवर्षको मनसुन सुरु भइसकेको छ । र, मनसुनसँगै अघिल्ला वर्षहरुमा जस्तै राजधानीवासीले हदैसम्मको दुख पाउन थालेका छन् ।
कहिले आउला राजधानीबासीमा सुखको दिन ? कहिले बन्ला राजधानी ? वर्षेनी पुनर्निर्माणको गफ गर्ने नीति निर्माताहरुले चिल्ला गाडीमै यात्रा गर्ने भए पनि अनलाइनखबरमा प्रकाशित यी दर्दनाक दृश्य पनि एकचोटि हेरिदिने कि ?