१० चैत, विराटनगर । भारतलाई उपाधि दिलाउँदै बिराटनगरमा पहिलोपटक महिला साफ च्याम्पियनसीप सम्पन्न भयो । खेलको विश्लेषण आफ्नो ठाउँमा छ, तर पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सफल आयोजना हुँदा बिराटनगरवासी हषिर्त छन् ।
निर्माणाधीन सडकले गर्दा अस्तव्यस्त अवस्थामा रहेको बिराटनगरमा प्रतियोगिता गर्न सहज थिएन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि जोखिम मोलेकै हो । महानगरका अधिकांश सडक खनिएका थिए । मैदान पनि तयार थिएन । तर, दुई महिना मेहनत गर्दा मैदान र मैदानसम्म पुग्ने सडक तयार भयो । पहिलोपटक राजधानी बाहिर आयोजना गरिएको प्रतियोगिताले सुखद सन्देश दिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली साफले बिराटनगरको पहिचान अन्तर्राष्ट्रियस्तरमा फैलाएको बताउँछन् । ‘बिराटनगर निर्माणको चरणमा छ,’ उनी भन्छन्, ‘यो अवस्थामा प्रतियोगिता आयोजना गर्नु सहज थिएन, तर दिनरात काम गरेर प्रतियोगिता सम्पन्न गर्र्याै ।’ उनी महिला साफले विराटनगरको अन्तराष्ट्रिय ख्यातीसँगसँगै आन्तरिक र बाहृय पर्यटनको बिकासमा पनि मद्दत पुगेको बताउछन् ।
त्यसबाहेक विराटनरको सबैभन्दा ठूलो रंगशाला बनेको छ । सहिद रंगशाला राजधानी बाहिर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने पहिलो रंगशाला बनेको छ ।
सामान्य अवस्थामा रहेको सहिद रंगशालाको मैदान अन्तराष्ट्रिय स्तरको बनेको छ । प्लेयर्स बक्स, चेन्जिङ रुम, मिडिया सेन्टर जस्ता महत्वपूर्ण संरचनाहरु निर्माण भएको छ ।
एन्फा प्रवक्ता किरण राई केही कमजोरीका बावजुद पहिलोपटक मोफसलमा आयोजना गरिएको प्रतियोगिता सफल भएको बताउँछन् ।
‘महिला साफबाट विराटनगरले पाएको उपलब्धी अमुल्य छ,’ उनी भन्छन् ‘प्रतियोगिताले विराटनगरको राम्रो प्रचार भयो ।’
साफमा प्रदेश १ को अस्थायी राजधानी विराटनगरको चर्चा सँगै सम्भावनाको ढोका पनि खुला गरेको एन्फा प्रवक्ता राईको भनाइ छ ।
प्रतियोगिताले देशभरमा महिलालाई खेल क्षेत्रमा लाग्न प्रेरित गरेको बताउँछन् राई । ‘महिलाले खेल्न हुँदैन भन्ने मानसिकता तोडिएको छ,’ उनले भने, ‘महिलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र खेलाउनपर्ने रहेछ भन्ने सन्देश दिन सकियो ।’
एन्फा आफैले रौतहटमा महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण गर्दैछ । साफ महिला फुटबलले प्रदेश १ मा पनि टेक्निकल सेन्टर सञ्चालनका लागि माहोल बनाएको राईको बुझाई छ ।
साफ च्याम्पियनसीपका कारण आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको छ ।
‘चेन्जिङ रुममा जालो नलागोस’
साफ च्याम्पियनसिपकालागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारले ५० लाख रुपैयाँ खर्च गरेका छन् । महानगरको बजेट चेन्जिङ रुम र मैदान मर्मतमा प्रयोग गरिएको छ । प्रदेश सरकारको बजेट चेन्जिङ रुमका लागि एसी, फ्रीज, सहितका सामग्री खरिदमा खर्च गरिएको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको चिन्ता भने डेढ करोड खर्चमा तयार भएको संरचना प्रयोगमा नआएर बिग्रन्छ भन्नेमा छ । ‘विराटनगरले यती ठूलो संरचना पाएको छ,’ उनले भने, ‘चेन्जिङ रुममा माकुराको जालो नलागोस ।’
शेर्पा मैदानलाई पनि अन्तर्राष्ट्रीयस्तरको मापदण्डमा राख्न निरन्तर मर्मत गर्न आवश्यक रहेको बताउँछन् । मैदानमा चासो नदिए गुणस्तर बिग्रने बताउदै उनले स्थानीय सरकारले विषेश ध्यान दिनुपर्ने उल्लेख गरे ।
मेयर पराजुली सहिद रंगशाला संरक्षणमा ध्यान दिने बताउँछन् ।
‘हामी संरक्षण गर्छाै,’ पराजुलीले भने, ‘चेन्जिङ रुममा जालो लाग्न पाउदैन ।’
प्रतिक्रिया 4