Comments Add Comment

गिरिजा छैनन्, अब कांग्रेस कोल्टे फर्किँदैन ?

अरुण बराल

नेपालमा शासकीय स्ववरुप कस्तो हुने भन्ने बहस सुरु भएको छ । पत्रकारको काम शासकीय स्वरुप यस्तै हुनुपर्छ भनेर अर्ती उपदेश दिने होइन । सूचनाहरु दिन सकिन्छ, विश्लेषणहरु गर्न पत्रकारले पाउँछन् । प्रस्तुत आलेखमा शासकीय स्वरुपबारे भइरहेको बहसको सन्दर्भलाई केही मद्दत गर्ने उद्देश्यले केही तथ्यहरु राख्ने जमर्को गरिएको छ ।

कांग्रेसको कोल्टे फर्काइ

जतिखेर नेपाली कांग्रेसभित्र राजतन्त्र छाड्ने कि समातिराख्ने भन्ने बहस भइरहेको थियो, त्यसबेला गिरिजाप्रसाद कोइराला केही समय मौन देखिए । अन्ततः कांग्रेसले आफ्नो विधानबाट राजतन्त्र हटाउने निर्णय गर्‍यो ।

Girija-Prasad-Koiralaयो निर्णयपछि कांग्रेसभित्र गिरिजाको चर्को आलोचना भयो । राजावादीले समेत वीपीको सिद्धान्तको पाठ सुनाउन थाले । अहिले पनि कमल थापाहरुले बारम्बार वीपीको नाम लिन्छन् र भन्ने गर्छन्, कांग्रेसले वीपीको सिद्धान्त छाड्यो, वीपीले राजा र कांग्रेसको घाँटी जोडिएको छ भनेका थिए ।

पार्टी स्थापना भएको ६० वर्षपछि राजतन्त्र छाडेको नेपाली कांग्रेसमा नयाँ निर्णयसँगै आएको तरंगपछि गिरिजाले छोटो र गहिरो अर्थ राख्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए कि ६० वर्षसम्म एकापट्टी फर्किएर सुतेको नेपाली कांग्रेसले कोल्टे फेरेको हो, इतिहासले कोल्टे फेरेको हो ।

नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले कोल्टे फेर्नासाथ नेपाली राजनीतिले पनि कोल्टे फेर्‍यो । देशमा गणतन्त्र आयो र राजतन्त्रको अन्त्य भयो । भलै गणतन्त्रले जनतालाई के दियो भन्ने बहस भइरहेको छ । तर, गणतन्त्र आयो । कांग्रेसको कोल्टे फेराइसँगै इतिहासले कोल्टे फर्कियो ।

तर, गिरिजाले कांग्रेसलाई कोल्टे फर्काए पनि कांग्रेसभित्र अहिलेसम्म धेरै नेताहरु पुरानै तरिकाले सुतिरहेका छन् । उनीहरु आफ्नो सुताइ परिवर्तन गर्न र कोल्टे फर्कन चाहिरहेका छैनन् ।

कांग्रेसमा पुरानै तरिकाले सुत्न र संवैधानिक राजतन्त्रको पक्षमा लाग्न चाहने नेताहरु धेरै छन् । प्रकाश कोइरालाहरुले त कांग्रेसको ओछ्यानै छाडेर हिँडेका छन् ।

र, अब कांग्रेसभित्र गिरिजाप्रसाद कोइराला छैनन्, जसले गर्दा कांग्रेसले फेरि कोल्टे फर्कने अनुमान लगाउन गाह्रो छ । कांग्रेसलाई वीपी कोइरालाकै तरिकाले सुताउने प्रयास भइरहेको छ, गगन थापाको तरिकाले सुताउने सम्भावना धेरै न्यून छ ।

तर, यतिबेला के कुरा स्मरणीय छ भने गिरिजालाई कोल्टे फर्काउने कार्यमा गल लगाउने मध्ये फुच्चे नेता गगन थापाको पनि भूमिका थियो । गगनले पार्टीको लाइन विपरीत गणतन्त्र गणतन्त्र भन्दाभन्दै कांग्रेस गणतन्त्रमा गयो । अहिले फेरि उनै गगन थापा नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ भनिरहेका छन्, कांग्रेसको हजुरबा पुस्ताले गगनको आवाजलाई फुच्चे ठानिरहेको छ ।

हेरौं अर्को दशकसम्म नेपाली कांग्रेस इतिहास गगनले भनेको बाटोमा जान्छ या पुरानै मोडेलले सुत्छ । रामचन्द्र पौडेलका कुरा सुन्दा यस्तो लाग्छ, गिरिजाप्रसाद छैनन्, अब कांग्रेसले कोल्टे फेर्नेवाला छैन । सुशीलको राजनीतिक शब्दकोषमा लोकतन्त्र भनेकै संसदीय व्यवस्था हो, संसदीय व्यवस्था भनेकै लोकतन्त्र हो । तर, गगनको पुस्ताले पढेको राजनीतिशास्त्रमा लोकतन्त्रमा धेरैवटा ‘अप्सन’हरु हुन्छन्, विकल्पले काम गरेन भने अर्को विकल्पमा जान सकिन्छ ।

राजनीतिमा यसरी जकडिएको छ रुढीवाद

कतिपय मानिसहरुलाई के भ्रम छ भने अमेरिका, वेलायत वा विदेशका सभ्य देशमा पढेर आएका मानिसहरु रुढीवादी हुँदैनन्, विद्वान हुन्छन् । तर, यस्तो सोच्नु अर्को आयामको रुढीवाद हो । अमेरिकामा पढेर आएका वकिल, मन्त्री र त्यहाँ काम गरेर फर्केका राजदूतहरु पनि रुढीवादी हुन सक्छन् ।

नेपालको राजनीति र वौद्धिक जगतमा एकप्रकारको रुढीवाद छ । जस्तो ००७ सालमा हामीले प्रजातन्त्रको अभ्यास गर्न खोज्दा भारतको संसदवादको नक्कल गर्‍यौं । सुशील कोइरालाले पढेको लोकतन्त्र भारतभन्दा परसम्म गएन । उनलाई लाग्यो लोकतन्त्र भनेकै संसदीय प्रणाली हो, यसको विकल्प खोज्दा लोकतन्त्र धरापमा पर्छ । कांग्रेसको ००७ साले जेनेरेसनले बुझेको लोकतन्त्र नै यही हो ।

नेपालमा धेरैजना विद्वान वकिलहरु छन् । उनीहरुले पढेको विद्या भनेको बेलाइते कानून हो । त्यसैले उनीहरु यो फर्माबाहेक अर्को लोकतन्त्र देख्दैनन् । अमेरिका र युरोपको शासकीय स्वरुप एवं न्यया प्रणालीलाई त परै राखौं, विदेशी किताब पढेका यी विद्वानहरु नेपालकै मौलिकतालाई बुझ्दैनन् । उनीहरु मधेसी भन्दा डराउँछन् । जनजातिलाई अधिकार दिँदा देश टुक्रन्छ भन्ने ठान्छन् । यिनलाई नेपालको मौलिकता थाहै छैन ।

नेपाल अशिक्षाले मात्रै पिछडिएको छैन, पढेकाहरुमा व्याप्त रुढिवादले गर्दा पनि पिछडिएको छ । विदेशको मात्रै पढेका देश नपढेका वा भारतको मात्रै पढेका अरु देशको नपढेकाहरु एकातिर फर्केर सुत्छन् र यसैलाई ध्रुव सत्य ठान्छन्, अर्कोतिर फर्केर सुत्दा मरिन्छ भन्ठान्छन् । यो रुढीवाद नेपालको वौद्धिक क्षेत्रमा छ ।

डा. लोकराज बरालले शनिबार हिमालय होटलमा ठीकै भनेका हुन् । सारा संसारभरिको किताव ६० वर्षसम्म पढियो, तर ज्ञान भन्नेकुरा आफूभित्रबाट आउनुपर्दोरहेछ । नेपालको मौलिकतामा किताव पढेकाले मात्रै नहुँदोरहेछ भन्ने उनको भाव थियो ।

हिजो केही विद्वानहरु थिए, जसले छोरीलाई अंश दिने कानून बनाउँदा समाज खल्बलिन्छ भन्थे । त्यस्तै केही विद्वानहरु थिए, जसले राजा नभई देश चल्दैन भन्थे ।

अहिले केही विद्वानहरु छन् जसले संघीयतामा गयो भने देशै रहँदैन भन्न छाडेका छैनन् । केही मानिसहरु छन् जसले जनजाति र मधेसीलाई पहिचानको अधिकार दियो भने देशमा जातीय काटमार हुन्छ भनिरहेको छ । बेलाइते स्कुल पढेका केही विद्वानहरु समानुपातिक प्रणालीको विरोध गरिरहेका छन् र थारु, जनजाति र दलितहरुलाई नीति निर्माणको तहमा ल्याउनुहुँदैन, विद्वानलाई विदेशबाट झिकाएर शासन चलाउनुपर्छ भन्ने सोचिरहेका छन् ।

र, केही विद्वानहरु छन्, जो संसदीय शासन प्रणालीको विकल्प खोजियो भने पृथ्वी पल्टिन्ट र मरिन्छ भन्ने ठान्छन् । यी सबै विद्वानहरु भने सफेद पोष लगाएका, विदेशी गगल्स लगाएका चरम रुढीवादीहरु हुन् ।

रुढीवादीहरु गाउँमा मैलोधैलो पोशाकमा हुन्छन् भन्ने भ्रम नपालौं । रुढीवादीहरु शहरमा छ्यापछ्याप्ती छन् । उनीहरु महंगा गाढी चढेर हिँड्छन्, अंग्रेजी बोल्छन्, स्वीमिङ खेल्छन्, स्टिम बाथ लिन्छन् । पाँचतारे होटलमा डिनर गर्छन् । रुढीवादीहरु विश्वविद्यालयमा पढाउँछन्, लेखहरु लेख्छन् ।

कांग्रेस बैठक । फाइल फोटो
कांग्रेस बैठक । फाइल फोटो

यस्ता रुढीवादीहरुले देशलाई, इतिहासलाई र जनतालाई कोल्टे फर्कनबाट रोक्न खोज्छन् र सधैंभरि आफ्नै तरिकाले सुताइराख्न चाहन्छन् । मधेसी, जनजाति, गरीव र विपन्न समुदायले पनि उनीहरुकै तरिकाले चुप लागेर सुतिदेओस् भन्ने चाहन्छन् र सोही अनुसारको लबिङ गर्छन् ।
नेपालमा अहिले संभ्रान्त रुढीवादीहरुले यसैगरी लोकतन्त्र र समाजको विकासलाई अवरुद्ध पार्ने र यथास्थितिमा अड्याइराख्ने जमर्को गरिरहेका छन् ।

नेपालमा कस्तो शासकीय प्रणाली हुनुपर्छ भन्ने बहसको सन्दर्भमा पत्रकारको नाताले के भन्न सकिन्छ भने शासन व्यवस्था साध्य होइन साधन हो, जुन निर्विकल्प हुँदैन । यो अपरिवर्तनीय पनि हुँदैन, परिवर्तनशील हुन्छ । एउटा प्रणाली जनतालाई मन परेन भने अर्को प्रणाली छान्न पाइन्छ । हुटिट्याउँदै चिच्याएर न आकाश थामिन्छ, न इतिहासको गति रोकिन्छ ।

भोलि जनताले राष्ट्रपतीय प्रणाली मन पराएनन् भने अर्को रोज्न पाउँछन् । रोज्न सक्छन् । तर, यथास्थितिमा परिवर्तनै खोज्नुहुँदैन भन्ने सोचाइ रुढीवादको पराकाष्टा हो । रुढीवाद विकास र प्रगतिको बाधक हो ।

केही कुतर्कको खण्डन

अन्तरिम संविधानको मस्यौदामा संसदीय व्यवस्थाभित्रको अस्थिरतालाई रोक्न भन्दै दुई वर्षसम्म संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ । यो व्यवस्था भनेको आलीमुनिबाट पानी थुनेजस्तै हो ।

बेलाइते मोडेलका प्रवक्ताहरुले संसदीय व्यवस्थालाई यति राम्रो भनिसकेपछि किन दुईवर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने ? यो त निरंकुश भएन र ? तपाईहरु आफैंले भनेको प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने हो भने फेरि किन यो अप्सन ? संविधानमा राखिएको यो अप्सनले संसदवादीहरुको अडानको स्वतः खण्डन गर्छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अजम्बरीको बुटी होइन । यो प्रणालीले नै नेपालको समस्या समाधान गरिहाल्छ भन्ने पनि छैन । तर, इतिहास र समाजको गतिलाई आफ्नै तरिकाले सुताउन खोज्ने रुढिवादीहरुले संसदवादको असंग धूनसहितको बाँसुरी बजाइरहेको सुन्दा छेऊछाऊका मानिसलाई दिक्क लाग्न सक्छ भन्ने उनीहरुले ख्याल गरेको देखिएन ।

यो कुरा जनतालाई बताइरहन पर्दैन कि संसदवाद र यसले ल्याएको विकृतिबाट जनता अघाइसकेका छन् । वाक्क भएका छन् । संसदवाद राम्रो व्यवस्था हो कि होइन, ०४६ सालयताको राजनीतिक प्रहसनले प्रष्ट पारिसकेको छैन र ? के अब देशले फेरि एकपटक कोल्टे फर्कन चाहेको होइन ? कि कांग्रेस एक्लैले पृथ्वीको गतिलाई रोक्न सक्छ ? प्रश्न सफेद विद्वान रुढीवादीहरुलाई ।

अन्त्यमा, यदि कुनै पनि व्यवस्था खराब हुँदैन, व्यक्तिमात्रै खराब हुन्छ भन्ने हाे भने पञ्चायती व्यवस्थामा फर्के हुन्छ त ? व्यवस्था पञ्चायती, मान्छे बहुदलीय हुन सक्छ ? व्यवस्था वा प्रणाली आफैंमा खराब हुँदैन भने राणाकालीन व्यवस्थाचाँहि राम्रो तर, राणाहरुमात्रै खराब थिए भन्न मिल्छ त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment