Comments Add Comment

अधिकारका लागि दलित समुदायद्वारा लालटिन जुलुस

१६ साउन, काठमाडौं । नयाँ संविधानमा आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै दलित समुदायले शनिबार लालटिन जुलुस निकालेको छ ।

बालेको लालटिन सहितको जुलुस माइतीघर मण्डलाबाट सुरु भएर नयाँ वानेश्वरमा संविधान सभा भवनअगाडि पुगी कोणसभामा परिणत भएको थियो । दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको जुलुसमा विभिन्न राजनीतिक दलका दलित नेता, दलित तथा अधिकारकर्मीको सहभागिता थियो ।

दलित नेता तथा सभासद् विश्वेन्द्र पासवानले दलित समुदायको विषयमा पहिलो संविधानबाट प्राप्त उपलब्धिलाई गैरदलित नेतृत्वले सुनियोजित ढङ्गबाट कटौती गरेर प्रारम्भिक मस्यौदा ल्याएको भन्दै विरोध जनाए ।

युगौँदेखि उत्पीडनमा पारिएको दलित समुदायले केन्द्र सभामा तीन प्रतिशत, प्रदेशमा पाँच प्रतिशत र स्थानीय तहमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, दलित–दलितबीच प्रतिस्पर्धा गर्न मिल्ने छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्ने लगायत माग गरी विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । १३ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायबाट संविधान सभामा ४० जनाको सहभागिता छ ।

सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडीले सुझाव सङ्कलनका क्रममा दलित समुदायको अधिकार सुनिश्चित गर्न भनी जनताले दिएको सुझावलाई समेत सुझाव सङ्कलन समितिले बेवास्ता गरी संसद्मा प्रतिवेदन बुझाएको भन्दै गुनासो गरे । आफ्ना मागहरू संविधानमा सुनिश्चित नभएसम्म अझै कडा सङ्घर्षमा उत्रने उनको भनाइ छ ।

सङ्घर्ष समितिले राज्यका हरेक संरचनामा जनसङ्ख्याका आधारमा दलित समुदायको सहभागिता हुनुपर्ने पनि माग गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment