Comments Add Comment

मुलुकको व्यापार घाटा ७ खर्ब १६ अर्ब पुग्यो

२२ साउन, काठमाडौं । निर्यातको तुलनामा आयात बढेपछि मुलुकको व्यापार घाटा चुलीमा पुगेको छ । भर्खरै सम्पन्न आर्थिक वर्ष २०७१/०७२ मा व्यापार घाटा ८५ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

भन्सार विभागको प्रारम्भिक अनुमानअनुसार गत आवमा मुलुकको व्यापार घाटा ७ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । trade-deficitअघिल्लो आव २०७०/७१ मा यस्तो घाटा ६ खर्ब ३१ ऋर्ब ४२ करोड रुपैयाँ पुगेको थियो ।

गत आवमा आयात बढेको छ भने निर्यात घटेको छ । यस अवधिमा ८ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरको बस्तुहरु आयात भएको छ । जबकी निर्यात ८४ अर्ब ८३ करोड रुपैयाँमा सिमित हुन पुगेको छ ।

अघिल्लो वर्ष ९१ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तुहरु निर्यात भएको थियो भने ७ खर्ब २२ अर्ब ७८ करोड रुपैयाँ बराबरको बस्तु आयात गरिएको थियो । अघिल्लो वर्ष भएको आयातको तुलना गत वर्षको आयात करिव ८८ अर्ब रुपैयाँले बढेको देखिएको छ । तर, निर्यात भने ६ अर्ब बढीले घट्न गएको छ ।

आयात निर्यात तथ्यांकबाट मुलुकको व्यापार घाटा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको देखिन्छ । पछिल्लो समय नेपालबाट विभिन्न मुलुकमा हुँदै आएको निर्यात खस्किरहेको छ । यसले पनि व्यापार घाटा चुलीमा पुर्‍याउन सघाएको हो ।

गत आवमा हवाइजहाज तथा पार्टसको आयात झन्डै ३५७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष ४ अर्ब २१ करोड रुपैयाँ बराबरको जहाज तथा पार्टसको आयात भएकोमा गत वर्ष झण्डै पाँच गुनाले बढेर १९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा नेपाल एयरलाइन्स, यति एयरलाइन्स, श्री एयरलाइन्स, गोमा एयरलाइन्स, नेपाल आर्मी लगायतले जहाज तथा हेलिकप्टर भित्राएका थिए । जहाजको संख्या बढ्दै गएपछि पार्टस् पुर्जाको आयात पनि स्वतः बढ्ने भयो ।

फलाम तथा स्पात ५९ अर्ब ८ करोड रुपैयाँबाट बढेर ७६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विद्युतीय समाग्री ४५ अर्ब ३ करोडबाट बढेर ५५ अर्ब ८३ करोड, न्युक्लियर रिएक्टस क्वाइल, मेसिनरी तथा पार्टसको आयात ४१ अर्बबाट बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ ।

सवारी साधन तथा तिनका पार्टसको आयात ४९ अर्ब ४३ करोड, खाद्यान्न ३५ अर्ब २५ करोड, सुन, हिरामोती तथा बहुमूल्य पत्थर ४५ अर्ब, औषधिजन्य वस्तु २१ अर्ब र मल ११ २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यी वस्तुहरुको आयात अघिल्लो वर्षको तुलनामा बढेको छ ।

निर्याततर्फ सबैभन्दा बढी फलाम तथा स्पात ७ अर्ब २९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, कार्पेट ७ अर्ब २६ करोड, मानवनिर्मित प्रमुख रेशाहरु ७ अर्ब २३ करोड, कफी, चिया, मेट ७ अर्ब २३ करोड, तयारी पोशाक ७ अर्ब १६ करोड, बनस्पति, फलफूल वा विरुवाको अन्य अङ्गबाट तयार पारिएका परिकारहरु ७ अर्ब ७ करोड र कपडा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस अवधिमा अधिकांश वस्तुहरुको निर्यात घटेको छ । निर्यातयोग्य वस्तुका रुपमा पहिचान गरेर प्रवर्द्धन गरिएका वस्तुहरुकै निर्यात पनि घटेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment