Comments Add Comment

कतारमा के गर्दैछन् नेपाली कालाकारहरु ?

घनश्याम पराजुली (कृष्ण)

prabash

दोहा । नेपाली कलाकारहरु अमेरिका भासिएको विषयमा त थुप्रै समाचार आउँछन् । तर, रोजगारी खोज्दै खाडी मुलुक आउने नेपाली कलाकारहरुको लर्को पनि सानो छैन ।

यो प्रसंग चाहिँ गायक-गायिकाहरुको हो । नेपालमा गीत गाएर पेट पाल्न नसकेपछि थुप्रै गायक-गायिकाहरु यहाँ आएर श्रम गरिरका छन् । तर, रोजिरोटीका लागि वाध्यतावस देश त्यागे पनि आफ्नो संगीतमोह भने त्याग्न सकेका छैनन् उनीहरुले ।

करिब ४ लाख नेपाली कार्यरत कतारमा नेपाली समुदायलाई लक्षित गरी सांस्कृतिक कार्यक्रमहरु प्रशस्तै हुन्छन् । यिनै सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाएर कलाकारीताको भोक मेट्छन् उनीहरु । दुःख गरेर कमाएको पैसा लगाएर गीत रेकर्डिङ गर्ने र म्युजिक भिडियो बनाउनेहरु पनि थुप्रै छन् ।

कतारको राजधानी दोहादेखि ६० कि.मी. टाढा रहेको समुद्री किनार होमसाइडको सिलाइनविच, १ सय १६ कि.मी टाढा पर्ने समालको पब्लिक गार्डेन र ५८ किलोमिटर यात्रापछि आउने सहानियाको दोशरी जुमा म्युजिक भिडियो सुटिङ्गका लागि चल्तिका स्थान हुन् । शुन्दर शहर कर्नेसको समुन्द्री किनारलाई पनि सुटिङ स्पट बनाउने गरिएको छ । नेपाली कलाकारहरुलाई गीत रेकर्डिङ्गका लागि प्रायः डायानामिक स्टुडियोले साथ दिन्छ ।

तीज गीतको रन्को

नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजले कतारमा रहेका कलाकारहरुलाई समेत छोइसकेको छ । रोजगारीका लागि कतार आएका गायक शिव पौडेलले ‘फेसबुकमा झुटो बोल्ने चलन’ नामक तिज गीतको एल्बम बजारमा ल्याएका छन् । उनले आफ्नो कमाईबाट १ लाख २० हजार खर्च गरेर म्युजिक भिडियो र गीत रेकडिङ्ग गराएका हुन् ।

जीवन बिसीको शब्द तथा लय रहेको गीतमा उनलाई गायिका रिता केसीले साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा दुरेश थापा र रिचा थापाको अभिनय रहेको छ । शिवले कतारमा गीत रेकर्डिङ गरे पनि भने बाँकी काम नेपालमा नै भएको हो ।

कतारमा कार्यरत दाङ्गका कलाकार मधुसुधन डाँगीले आफ्नै शब्द संकलनमा ‘म त पुतली ढल्की-ढल्की नाँचुला कम्मर भाँचुला’ बोलको तिजगीत बजारमा ल्याउदैछन् । सो गीतको म्युजिक भिडियो छिट्टै बजारमा आउने डाँगीले जानकारी दिए । कामना म्युजिक प्रालिले गीतलाई बजारमा ल्याउँदैछ । नरेश खाती क्षेत्रीको लयमा अहिलेका चर्चित गायक मेक्सम खाती क्षेत्री र गायिका अमृता लामीछानेले यसमा स्वर दिएका छन् । बब्बु थापाले निर्देशन गरेको म्युजिक भिडियोमा विजय थापा र दिपा लामिछानेको अभिनय हेर्न पाइने छ ।

डाँगीको यो भन्दा पहिले ‘कति माया गर्छौ’ बोलको लोकगीत बजारमा आईसकेको छ । उनी तीजपछि थप २ वटा लोकगीत बजारमा ल्याउने तर्खरमा छन् । ‘प्रवासमा पनि नेपाली कला र सँस्कृतीलाई बचाई राख्ने मेरो लक्ष्य छ,’ उनी भन्छन्, ‘रोजगारीबाट बचेको समय संगीतमा खर्च गर्छु ।’

नेपाल, बहराईन र कतारमा रहेका कलाकारहरु त्रिपक्षीय साझेदारीमा अर्को तिजको गीत तयार पारिएको छ । विगत ३ वर्षदेखि बहराइनमा कार्यरत सिन्धुलीकी तुलसा आचार्यले तिजको अवसरमा ‘मोबाइल चाहियो फेसबुक चल्ने खाले’ बोलको उक्त गीत बजारमा ल्याएकी हुन् ।

कतारमा रहेका गायक शरद पाण्डे र चर्चित गायिका देविका केसीले यसमा स्वर दिएका छन् । लोकदोहोरीका चर्चित गायक खुमन अधिकारीको लयमा सिंगारिएको यस गीतको म्युजिक भिडियो भने नेपालमै छायांकन गरिएको हो । गीतको शब्द पाण्डले नै लेखेका हुन् ।

Untitled-1

रेकर्डिङसँगै म्युजिक भिडियो

गीत रेकर्डिङसँगै म्युजिक भिडियो अनिवार्यजस्तै बनेको छ । गायक दिपक पौडेलले आफ्नै शब्द संकलनमा रहेको ‘परदेशी छोरा’ नामक गीतको रेकर्डिङ गरेका छन् । उनले कतारबाट नै उक्त गीत बजारमा ल्याउने तर्खर गर्दैछन् । गीतमा ‘सानो छँदा घरमा ऋण लाग्यो, त्यही ऋणले परदेशी बनायो… परदेशमा रुँदै दिन काट्दैछु, साहुको ऋण तिर्नलाई पैसासँग पसिना साट्दैछु’ जस्ता मार्मिक शब्दहरु रहेका छन् ।

रेकर्डिङको काम सकिएको बताउँदै गायक पौडेलले रमणिय स्थानहरुमा म्युजिक भिडियो छायांकन गरिने जानकारी दिए । कृष्ण धमलाले निर्देशन र सरोज श्रेष्ठले छायाङ्कन गर्ने म्युजिक भिडियोमा हेमराज पौडेल र बिनु लिम्बुको अभिनय रहने छ ।

कतारका रमणिय स्थलमा छायाङ्कन भएको अर्को एल्बम हो ‘तक्दिर’। रोजगारीका लागी कतार आएका रन्जित तामाङ्गले उक्त भिडियो निर्देशन गरेका हुन् । लिलान तामाङ्गले कतारमा दोश्रोपटक यस भिडियोमा अभिनय गरेका छन् । गायक सन्दिप ज्ञावकले स्वर दिएको गीतलाई सन्त बम्जनले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।
नेपालमा छँदा थुप्रै म्युजिक भिडियो र दुई वटा चलचित्रमा अभिनय गरेकी सुमित्रा लामिछाने यतिबेला कतारमा छिन् । नेपालमा छँदा थुप्रै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत देखिएकी उनी दुई वर्षअघि यहाँ आएकी हुन् । कतार आएर पनि उनले एउटा म्युजिक भिडियोमा अभिनय गर्न भ्याइन् ।

‘म त जिउँदै मर्नेछु, आत्महत्या गर्नेछु’ बोलको गीतको म्युजिक भिडियोको कतारमा छायाङ्कन हुदैछ । हेमन्त शिशिरको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई कृष्ण धमलाले निर्देशन गरिरहेका छन् । मोडेल ओबी रायमाझीले अभिनय गरेको भिडियोमा सुरेश पोख्रेल र दिया पौडेलले साथ दिएका छन् । बसन्त फिल्मस् प्राली कतारले निर्माण गरेको म्युजिक भिडियो मायाप्रेममा आधारित छ । कतारका विभिन्न रमणीय स्थलहरुका दृश्य भिडियोमा हेर्न पाइनेछ ।

प्रवासको भोगाईलाई समेटेर थुप्रै सानो पर्दाका चलचित्रहरु समेत निर्माण भएका छन् । यहाँ हरेक हप्ताजसो हुने विभिन्न कार्यक्रममा कलाकारहरुको राम्रै जमघट हुन्छ । लुकेका प्रतिभालाई प्रस्फुटन गर्न कहिले सिंगिंङ आइडल त कहिले एकल नृत्य प्रतियोगीता हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment