३१ साउन, चितवन । चितवनको पवित्र तीर्थस्थल देवघाटधाम अव्यवस्थित हुँदा पनि धार्मिक पर्यटकको आगमन भने बढ्दो छ ।
देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलका अनुसार वार्षिक झन्डै १० लाख पर्यटकले देवघाट घुम्ने गरेका छन् । देवघाटमा मुख्यगरी साउन महिना र माघे सङ्क्रान्तिमा भक्तजन अत्यधिक आउने गर्दछन् ।
साउनको आज अन्तिम सोमबार पनि राति ३ बजेदेखि नै धार्मिक पर्यटकको भीड अत्यधिक देखिएको पौडेलको भनाइ छ । हिजोदेखि नै भक्तजन खाली खुट्टामा देवघाट आएका छन् ।
अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढी भक्तजनले मेला भरिसकेको र आज करिब एक लाख पर्यटकले मेला भर्ने अनुमान रहेको उनको भनाइ छ । हिन्दूहरुको हरेक चाडपर्वमा यहाँ मेला लाग्ने गरेको छ ।
चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाटधाम रहेको छ । नेपालमात्रै नभई मेला भर्न यहाँ भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गर्छन् । यहाँ व्यवस्थित सहर, शौचालय, खानेपानी, सरसफाइको राम्रो व्यवस्था हुन सकेको छैन ।
यो वर्ष भने करिब रु दुई लाख ५० हजार बजेट यहाँ आएकाले धार्मिक सहर बनाउने तयारी गरिएको सदस्य पौडेल बताउँछन् ।
त्यसका लागि नमुना घर निर्माण गरेर एकै किसिमका घर बनाउन लगाइने, माछा मासु, मदिरा बन्द गर्ने तथा सरसफाइ र व्यवस्थापनमा जोड दिने समितिको भनाइ छ ।
अहिले यहाँ एक महिने बोलबम मेलाको समेत आयोजना गरिएको कार्यक्रम संयोजक बद्री तिमिल्सिनाले जानकारी दिए ।
देवघाटको गङ्गा किनारमा स्नान गरी शिवको पूजाआराधना गरेमा पुण्य मिल्ने विश्वास छ । चितवन र तनहुँका जनपद र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । साउनको सोमबारलाई वर्षकै पवित्र दिनका रुपमा पुजिन्छ । रासस
प्रतिक्रिया 4