+
+
Shares

पूर्वमा गाडी चले, मध्य र पश्चिममा बन्दको प्रभाव

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १०:१८

१ भदौ, काठमाडौं । चारवटा मधेसवादी दलहरुले घोषणा गरेको अनिश्चितकालीन तराई-मधेस-थरुहट बन्दको प्रभाव पूर्वी तराईमा न्यून देखिएको छ । मधेस प्रदेशमा बन्दको बढी प्रभाव परेको छ भने पश्चिम तराईमा आंशिक प्रभाव देखिएको छ ।Banda

झापाबाट पत्रकार तारामणि सापकोटाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार चन्द्रगढी-बिर्तामोड सडकखण्डमा सोमबार बिहान सवारी साधन चलेका छन् । दुई दिने नेपालबन्दबाट वाक्क भएका झापालीहरुलाई तराई मधेस थरुहट बन्दले खासै छोएको छैन ।

मोरङको बेलबारीबाट पत्रकार भक्तशेर लिम्बूले दिएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्गमा गाडीहरु चलेका देखिएका छन् । मोरङ र सुनसरीको मधेस बाहुल्य क्षेत्रमा बन्दको प्रभाव परे पनि इटहरीभन्दा पूर्व र उत्तरी मोरङमा मधेस बन्दको प्रभाव नपरेको उनले बताए ।

सुनसरीको इटहरीबाट पत्रकार प्रेम बास्तोलाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बन्दबाट दिक्क भएका उद्योगी व्यवसायीले बन्दको अवज्ञा गर्दै मोटरसाइकल र्‍याली निकालेका छन् । व्यापारी व्यापारी एक हौं, बन्द खोलौं भन्दै जुलुस निस्किएपछि इटहरीका पसलहरु खुल्न थालेका छन् र सवारी साधन पनि सडकमा देखिन थालेका छन् ।
धरानबाट पत्रकार गोपाल दाहालले दिएको जानकारीअनुसार धरान बजार पूर्णरुपमा खुल्ला छ । सवारी साधनहरु पनि चलिरहेका छन् ।

सुनसरी जिल्लाको प्रमुख शहर धरानमा बन्दको आयोजक दल संघीय समाजवादी फोरमका नेता कार्यकर्ताहरु भए पनि उनीहरुले बजार बन्द गराएका छैनन् ।

सुनसरी सदरमुकाम इनरूवा र दुहबी भने पूर्णारूपमा बन्द छ । माेरङको सदरकुमाम बिराटनगरमा पनि बन्दकाे प्रभाव परेकाे छ ।

सप्तरीदेखि पर्सासम्मको २ नम्बर प्रदेशमा भने बन्दको प्रभाव परेको छ । त्यहाँका ८ वटै जिल्लामा बन्दबाट जनजीवन प्रभावित भएको छ । सप्तरीमा गाेली चलेकाे छ ।

तर, मधेस प्रदेशमा पनि पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रमा बन्दको प्रभाव छैन । सर्लाहीको हरिवनबाट पत्रकार चूडामणि वाग्लेले अनलाइनखबरलाई दिएको जानकारी अनुसार जिल्लाका उत्तरी भेगका बन्दको प्रभाव परेको छैन ।

त्यस्तै रौतहटको चन्द्रनिगाहपुर र महोत्तरीको बर्दिवासलगायतका उत्तरी क्षेत्रमा पनि बन्दको प्रभाव त्यति धेरै परेको छैन ।

चितवनमा पनि तराई मधेस बन्दको प्रभाव खासै परेको छैन । जिल्लाबाट राजधानीतर्फ सवारी साधनहरु आइरहेका छन् ।

भैरहवाबाट सालमान खानले दिएको जानकारीअनुसार त्यहाँ बन्दको प्रभाव परेको छ । तर, शनिबार र आइतबारको नेपाल बन्दको तुलनामा आजको बन्द खुकुलो देखिएको छ । दुई दिनको बन्दले वाक्क भएकाले पनि स्थानीयवासीहरु बन्दप्रति सन्तुष्ट छैनन् । बिहान भन्दा अहिले बन्द केही कडा भए पनि विद्यालयहरू भने सञ्चालन भएका छन् ।

Student

त्यस्तै बाँके र बर्दियामा पनि बन्दको सामान्य प्रभाव परेको छ । नेपालगञ्जबाट अनलाइनखबरकर्मी आरपी सुवेदीका अनुसार बाँकेमा बन्दले जनजीवन प्रभावित भएको छ । थारुहरुको बाहुल्य रहेको क्षेत्रमा केही विद्यालयहरु खुले पनि अन्यत्र खुलेका छैन । बन्दकर्ताहरुले आजको बन्दलाई कडाइ गर्ने बताएका छन् ।

कैलालीबाट लामो दुरीका गाडीहरु नचले पनि स्थानीय सवारी साधन चलेका र पसलहरु पनि खुलेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

कञ्चनपुरबाट जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्थानीय सवारी साधन सामान्यतः चलेका छन् । पहाडी रुटमा जाने गाडीहरु पनि चलेका छन् । तर, जिल्लाबाट काठमाडौंतर्फ आउने गाडीहरु चलेका छैनन् । त्यहाँ बन्दको असर सामान्य परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?