Comments Add Comment

मानवअधिकार आयोगले भन्यो-सम्पादक बुढाथोकीलाई धरपकड नगर

१ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई धरपकड नगर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ ।

NHRCआयोगले मंगलवार विज्ञप्ति जारी गरी पत्रकार बुढाथोकीको घरमा खानतलासी गर्ने कार्य पत्रकार आचारसंहिता विपरित र गैरकानुनी भन्दै प्रहरीलाई पत्राचार समेत गरिसकिएको जनाएको छ ।

आयोग प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पादक वुढाथोकी विरुद्ध चालिएको कदमले व्यक्तिगत सुरक्षा, गोपनीयता, मानवीय मर्यादाको सम्मान नगरिएको देखिदा त्यस्तो कार्य नगर्न आयोग सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

आयोगले समाचार प्रकाशितको विषयलाई लिएर साँघु पत्रिकाका सम्पादक गोपाल वुढाथोकीको घरमा प्रहरी प्रशासनबाट जवरजस्ती खानतलासी गरी परिवारका सदस्यहरुलाई समेत मानसिक पीडा दिने, भयभित पार्ने कार्यको आलोचना समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा कसैलाई पनि पक्राउ गर्ने अधिकार कुनै पनि कानूनले प्रदान नगरेकाले यस्तो कार्य प्रेस स्वतन्त्रता, संवैधानिक मूल्य र मान्यता तथा लोकतान्त्रिक परिपाटीको मर्म र भावना विपरीत देखिन्छ ।’

आयोगले यस विषयमा प्रहरीसँग लिखित जानकारी माग गरेको छ । प्रहरीले साँघु साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर बुढाथोकी विरुद्ध पक्राउ पूर्जी जारी गर्दै उनको घर खानतलासी गरेको थियो ।

रिपव्लिका दैनिकका सम्पादक सुवास घिमिरेको उजुरीका आधारमा प्रहरीले बुढाथोकी विरुद्ध साइबर अपराधको मुद्दामा पक्राउ गर्न खोजेको हो । तर पत्रिकामा प्रकाशित समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल र अदालत जाने बाहेक प्रहरीले सम्पादकलाई पक्राउ गर्न वा सोधपुछ गर्न नपाउने काउन्सिल अध्यक्ष वोर्णवहादुर कार्कीले बताएका छन् ।

यो पनि पढ्नुस्

सम्पादक बुढाथोकीको घरमा प्रहरीको छापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment