६ भदौ, काठमाडौं । मुलुकमा एक वर्षभित्र ५० अर्ब बढीको गाडी तथा पार्टपुर्जा आयात गरिएको छ । सवारी साधन अत्यावश्यक बनेसँगै यसको आयात उच्च दरले बढिरहेको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा ५० अर्ब २२ करोड रुपैयाँ बराबरको गाडी तथा पार्टपुर्जा नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ११ अर्ब रुपैयाँले बढी हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आव २०७०/०७१ मा ३९ अर्ब १४ करोड रुपैयाँ बराबरको गाडी तथा पार्टपुर्जा भित्रिएका थिए ।
पछिल्ला तीन वर्षमा गाडीको आयात १०/११ अर्बका दरले बढिरहेको छ । आव २०६९/०७० मा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको गाडी तथा पार्टपुर्जा आयात गरिएको थियो । यसले गाडीको आयात उच्च दरले बढिरहेको स्पष्ट देखाउँछ ।
गाडी तथा पार्टपुर्जाको आयात
देशहरु | २०६९/०७० | २०७०/०७१ | २०७१/०७२ |
---|---|---|---|
भारत | २६२९७.६ | ३२९८३.१ | ४४१२६.३ |
चीन | ७९५.८ | ११९३.५ | १३२२.४ |
अन्य मुलुक | २८६८.९ | ४९६६.९ | ४७७२.३ |
जम्मा | २९९६२.३ | ३९१४३.५ | ५०२२०.९ |
नेपालमा सबैभन्दा बढी गाडीहरु भारतबाट भित्रिन्छन् भने चीन दोस्रो नम्बरमा पर्छ । यहाँ कोरिया, जापान, थाइल्यान्ड तथा युरोपियन मुलुकहरुबाट सवारी आयात गरिँदै आएको छ ।
गत आवमा भारतबाट मात्र ४४ अर्ब १२ करोड रुपैयाँ बराबरको गाडी तथा पार्टपुर्जा आयात भएको छ । चीनबाट १ अर्ब ३२ करोड रुपैयाँको गाडी पार्टपुर्जा आयात गरिएको छ भने अन्य मुलुकबाट ४ अर्ब ७७ करोड रुपैयाँको गाडीहरु आयात भएको छ ।
होन्डा, किया, ल्यान्डरोवर, मर्सिडिज, टायोटा, भक्सवागन लगायतका महंगा गाडीहरु तेस्रो मुलुकबाट नेपाल भित्रिने गरेका छन् । इन्ट्री तथा मध्यमस्तरका कार, जीप र कमर्शियल भेहिकलहरु भारतबाट भित्रिन्छन् ।
प्रतिक्रिया 4