Comments Add Comment

अब पुलिसले नै खोज्नेछ नेताजीको बाख्रो

uppolice

होइन, यो भारतीय पुलिसको काम नै जनावरको खोजतलास, पक्राउ तथा थुनछेक मात्रै हो की क्या हो ? उत्तरप्रदेशका मन्त्री आजम खानको भैँसी चोरीको मामिला सुल्झाउन खटिएको थकान मेटिन नपाउँदै त्यहाँको प्रहरी अर्का नेताजीको बाख्रो चोरीको केशमा लागेको छ ।

उत्तरप्रदेशस्थित अलिगढका कांग्रेस नेताको बाख्रो चोरी भएको घटना सार्वजनिक भएपछि प्रहरीले उक्त उजुरी दर्ता गरी बाख्रोको खोजी सुरु गरेको हो ।

समाचार अनुसार ती कांग्रेस नेताले केही दिन पहिले मात्रै उक्त असल नश्लको बाख्रा किनेर ल्याएका थिए । यसको हेरचाहमा एक कर्मचारी पनि खटाएका थिए । तर बुधबार बिहान ३ बजे चोरले बाख्रो चोरेर लग्यो । बिहान उठेर नेतालीले बाख्रोको खोरमा हेर्दा त रित्तै ।

उनले आफ्नो बाख्रो चोरी भएको सूचना तत्कालै पुलिसको १ सय नम्बरमा फोन गरेर टिपाए । प्रहरी घटनास्थल पुगेर नेताजीसँग हराएको बाख्रोका केही तस्वीर लियो र आसपासमा खोजतलास पनि गर्यो । स्थानीय मासु पसलमा गएर पनि सोधपुछ गर्यो, कतै चोरले बाख्रो त्यहाँ बेचेको पो हो की भनेर । तर फेला परेन ।

अन्ततः पुलिसले अनुसन्धान थप अगाडि बढाएको छ । कांग्रेस नेताले सिभिल लाइन प्रहरी चौकीमा बाख्रो चोरीको उजुरी दर्ता गराएका छन् ।

ती कांग्रेस नेताको नाम हो नफिस शाहीन । उनी उत्तरप्रदेश कांग्रेसको नामी मंजिल महानगर अध्यक्ष पनि हुन् । आखिर ठूलै नेताको बाख्रो हराएको पो हो त । पुलिसले अहिले बाख्रो खोजी टोली नै गठन गरेर नेताजीको बाख्रो भुइँपत्ताल खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment