Comments Add Comment

अवसर र चुनौतिको कसीमा नयाँ उपकुलपतिहरू

रूद्रप्रसाद भट्टराई

हेर्दा जति सहज लाग्छ त्यति आनन्द छैन विश्वविद्यालयहरूको कार्यकारी पद । सात विश्वविद्यालयहरूमध्ये पाँच वटामा उपकुलपतिहरु नियुक्त गरिएको छ । नियुक्त चार उपकुलपतिहरूले पदबहाली गरिसके पनि सँस्कृत विश्वविद्यालयका उपकुलपतिले भने पद बहाली गरेका छैनन् । जे भएपनि अन्य दुईबाहेक लगभग नियुक्तिको काम समाप्त भएको छ । तर, विडम्बना काम सुरु नगर्दैै असन्तुष्ट पक्षहरूले ताल्चा लगाएका छन् । पाँचवटै विश्वविद्यालयका केन्द्रीय कार्यालयहरूमा काम भएको छैन, अर्थात बन्द छन् । पदाधिकारीहरूलाई कार्यालय प्रवेश गर्न निषेध गरेका छन् । आफूले भनेजस्तो भए समर्थन गर्ने अनि नभए ताल्चा लगाउने गलत कार्य केहि समयदेखि विश्वविद्यालयहरूमा हुँदै आएका छन् ।

Rudra-Prasad-Bhattaraiयोग्यता नपूगेका व्यक्तिहरू नियुक्त नहुने जान्दाजान्दै पनि सुरुवातमा यस्ता दृश्यहरू सुरु हुनु पक्कै पनि राम्रो होइन । काम सुरु हुनु अगावै यस्ता नराम्रा गतिविधिहरू सञ्चालन हुनुले शैक्षिक क्षेत्रमा गलत सँस्कारले जरा गाडेको पुष्टि हुन्छ । उसैपनि विभिन्न समस्याहरूबाट ग्रसित विश्वविद्यालयहरूमा यस्ता सामान्य कुराहरूमा बेसँस्कार हुर्कनुले बनेको छविमा धब्बाको आगमन भएको छर्लङ्गै हुन्छ । झन्-झन् बिग्रँदै गएको वातावरणमा सुधार ल्याउनु त कता हो कता झन् बढवा दिने कार्यले शैक्षिक क्षेत्र दुर्गन्धित हुँदै गएको छ भन्दा फरक नपर्ला । शैक्षिक गुणस्तर, विस्तार र विकासमा अवरोध पुगेको छ, विद्यार्थी, शिक्षक, कर्मचारी, स्थान आदि जस्ता अनेकन झमेलाबीच प्रगति गर्नुपर्ने बेलामा नवनियुक्त उपकुलपतिहरूलाई चुनौतिका बीचमा अवसर खोज्नुपर्ने अवस्था छ ।

देशको नयाँ संघीय संरचनालाई आधार बनाई एउटा विश्वविद्यालयहरूबाट अरु ८ वटा थपिए, केहि थपिने क्रममा छन् । स्थापीत नयाँ विश्वविद्यालयहरू उसैपनि वैज्ञानिकताको अभाव र आन्दोलनको भरमा खडा भए भने अर्कोतिर सुरुवातमै विभिन्न झमेलामा परेका छन् । क्षेत्रियता र भ्रष्टाचारले जरा गाडेका छन् । अनियमितता र अराजकता मौलाएको छ, जसले शैक्षिक विकास र त्यसको दीगोपनमा ठूलो असर गरेको छ ।

उता पुराना विश्वविद्यालयहरूमा गुणस्तरिय शिक्षाको कहिले वार्षिक त कहिले सेमेष्टर प्रणालीका नाममा विदेशी पैसा मात्र पचाउने, पाठ्यक्रम छोटो समयमै परिवर्तन गर्ने जस्ता फितला क्रियाकलापमा संलग्न छन् । मनपरितन्त्रले जरा गाड्दा एक पछि अर्का समस्याहरू थपिँदै गएका छन् । यसलाई सुधार्नको सट्टा सुरुवातीमै बेतौलको कार्यमा व्यस्त देखिएका छन् असन्तुष्ट पक्षहरू । यसले गर्दा नयाँ विश्वविद्यालयहरूमा पदाधिकारीहरूसँग समायोजन, जनशक्ति व्यवस्थापन, विश्वव्यापी शैली, आदि समस्याहरू छन् ।

त्यस्तै पुरानामा स्वायत्तता र वर्षौंदेखिका विद्यार्थी भर्ना तथा व्यवस्थापन, विद्यार्थी धरौटी, गुणस्तर शिक्षा, करार, आंशिक शिक्षक तथा कर्मचारीको समस्या त छँदैछ, हुँदा-हुँदा उसले गर्ने शिक्षक/कर्मचारी छनोटमा पनि बढी नै समस्या देखिएको छ । यसरी हेर्दा विश्वविद्यालयहरूमा भनिदै आएकोे सैद्धान्तिक अस्पष्टता, संस्थागत जटिलता र पेशागत असुविधाहरू अहिलेपनि जस्ताको तस्तै रहेको अझै प्रष्ट पार्न सकिन्छ ।

मनपरितन्त्रले जरा गाड्दा एक पछि अर्का समस्याहरू थपिँदै गएका छन् । यसलाई सुधार्नको सट्टा सुरुवातीमै बेतौलको कार्यमा व्यस्त देखिएका छन् असन्तुष्ट पक्षहरू

सहि समयमा सहि निर्णय गर्न नसक्दा वाधा तथा व्यवधानहरूले क्रमशः विश्वविद्यालयहरूलाई थिच्दै गएको छ । कहिले सम्बन्धन त कहिले आंशिक, करार, स्थायी, शिक्षक र कर्मचारीका भर्नादेखि निवृत्तिभरण सम्मका समस्याहरू, परीक्षा प्रणालीका विविध समस्याहरू, आंगिक क्याम्पसका जटिलताहरू र अन्य सुविधा आदि समस्याहरू चिर्नु अहिलेका उपकुलपतिहरूको मुख्य कार्य बनेको छ ।

विश्वविद्यालयहरूमा वास्तवमै जताबाट पनि वेथिति मौलाएरै गएको छ । चाहे त्यो जुनसुकै संकाय, विभाग, क्याम्पस र व्यवस्थापनमै किन नहोस् । भाग पुर्‍याउन योग्य व्यत्तिहरूलाई पाखा र आफ्ना मानिसलाई काखा गर्ने खेल बढेको छ । भएका संरचनामा सुधार ल्याउनु कता हो कता पूर्वाधार संरक्षणमा पनि ध्यान दिन सकेका छैनन् । उल्टो निर्माण, सम्बन्धन, ठेक्कापट्टा, भत्ता जस्ता विविध गतिविधिमा संलग्न रहि मोटो रकम हिनामिना गर्ने प्रचलन बढेको छ । शैक्षिक क्यालेण्डर टोकरीमा फालिएको छ । अस्तव्यस्तता व्याप्त बनेको छ । समयको पावन्दी हराउँदै गएको छ । तसर्थ, नवनियुक्त उपकुलपतिहरूले पदीय जिम्मेवारीलाई ध्यान दिइ यावत विकृतिलाई समाधान गर्दै शैक्षिक विकासमा ध्यान दिनु जरुरी छ ।

धेरैतिर फर्केका अनुहारहरूले थप प्रगति र विकासको आशा गर्न धेरै गाह्रो देखिन्छ । यो कुरा अघिल्ला नियुक्तिहरूले स्पष्ट गरेका छन् ।

विश्वविद्यालयहरूमा भागवण्डामै पदाधिकारीहरू नियुक्त गरिन्छ, सर्वविद्धितै छ । यस्ता नियुक्तिहरूमा धेरैतिर फर्केका मुखहरूभन्दा कुनै एक विश्वविद्यायमा एकैतिरका सम्पूर्ण पदहरू भाग लगाउन सकेमात्र काम राम्ररी हुने विश्लेषकहरू बताउँछन् । काममा वाधा अड्चन पनि कम आउने र कार्यसम्पादनमा कुनै कठिनाइ नहुने एकथरिको राय छ । यदी यो सत्य हो भने एकपटक यो व्यवस्था पनि प्रयोग गरेर हेरौं । अन्य पक्षहरूलाई काम गर्न र गराउन पनि सजिलो हुने । यदी यो व्यवस्था गर्न सकिँदैन भने सम्झनुस् धेरैतिर फर्केका अनुहारहरूले थप प्रगति र विकासको आशा गर्न धेरै गाह्रो देखिन्छ । यो कुरा अघिल्ला नियुक्तिहरूले स्पष्ट गरेका छन् ।

तसर्थ, शैक्षिक क्षेत्रको कृत्रिम धब्बा र धावालाई मार्गदर्शन बनाएर भविश्यप्रति बफादार हुन सक्ने, विभिन्न समस्याहरूलाई चेतावनी र चुनौतिको रुपमा ग्रहण गर्दै सफलतातर्फ लैजाने, प्रचारबाजी शैली भन्दापनि कानूनमा रही सम्पूर्ण समस्याहरूलाई समाधान गर्नसक्ने, शक्तिको गलत प्रयोग नगर्ने, लालचामा नफँस्ने, शक्तिकेन्द्रको दबावमा काम नगर्ने, विग्रेको अन्तर्राष्ट्रिय छविलाई सपार्ने र विश्वविद्यालयबाट पीडित आंशिक, करार, अस्थायी प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा युनियनका समस्याहरु निराकरण गर्नसक्नु जस्ता यावत समस्यहरूबाट पार पाउने कुरामा वर्तमान उपकुलपतिहरूबाट अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment