Comments Add Comment

नेपालमा गिद्ध संरक्षणका प्रयास र चुनौती

-कृष्णप्रसाद भुसाल

गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी  हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन् ।

vulture-1पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्दछ । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ ।

हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुराउने दूतका रुपमा पुज्ने गर्छन् । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो ।

vulture-2विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई मानववस्ती वरपर बस्न रुचाउँछन् । मानिस भन्दा आठगुणा टाढासम्म देख्ने गिद्ध सिनोको खोजीमा तीनसय किमी टाढासम्म उड्छन् ।

गिद्धहरु औषत तीन दिनमा एक केजी सिनो खाने गर्छन् । यस हिसाबले यउटा गिद्धले मात्र पनि एक वर्षमा १२० केजी सिनोको खपत गर्दछ । आजीवन जोडी बनाउने गिद्धले गुँड निर्माण, बच्चा कोरल्ने र हुर्काउने काम दुवै भाले पाथीको साझेदारीमा सम्पन्न गर्दछन् । गिद्धले एक वर्षको एक प्रजनन अवधिमा एउटा मात्र फूल पार्दछ भने प्रजनन् कार्य कार्तिकदेखि शुरु भई जेठ महिनामा सम्पन्न हुन्छ ।

कृष्ण भुसाल
कृष्ण भुसाल

करीव डेढ दशक अघिसम्म तपाईँ हाम्रो गाउँ टोलमा पनि सयाँैको संख्यामा गिद्ध सिनोमा लुछाचुँडी गरीरहेका सहजै भेटिन्थ्यो । तर आज ती दृश्य दुर्लभ भएका छन् र यत्रतत्र सर्वत्र पाईने गिद्धहरु जीवन अस्तित्व समाप्तीको किनारामा छन् । सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौको संख्यामा पाईने गिद्ध ९५ प्रतिशत घटेर आज केही हजारमा सीमित हुन पुगेका छन् । भारतमा सन् १९९२ देखि २००७ सम्म डंगर गिद्ध ९९.७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको कुरा अध्ययनले देखाएको छ ।

त्यसैगरी नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको छ । यसप्रकारको अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डगंर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अति सङ्ककटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने संभावना ५० प्रतिशत हुन्छ ।

नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुराउने दूतका रुपमा पुज्ने गर्छन् ।

सन् १९९० को मध्यदेखि दक्षिण एशियामा गिद्धको संख्यामा यसरी अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेेक हो । पशुमा सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा वा ७ दिन भित्र मरेमा डाइक्लोफेनेकको विषाक्तपन उक्त पशुको सिनोखाने गिद्धको शरीरमा मासुसँगै सर्दछ । जसले रगतमा युरिक एसिडको मात्रा बढाई भिसरल गाउँट गराउँदछ र मृगौलाले ‘युरिक एसिड’ छान्न सक्दैन । फलस्वरुप गिद्ध केहि दिनमै मर्छ ।

गिद्धहरु समूहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठूलो संख्यामा मर्छन् । ३० मिलीको एक भाएल डाइक्लोफेनेक प्रयोग गरिएको एउटै सिनोबाट मात्र पनि ३ सय ५० देखि ८ सय गिद्धहरु मर्ने भएकोले नै यो औषधि गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो । यसका साथै अरु सहायक कारणहरु बासस्थानको बिनास आहारामा कमी, अन्य विषादीको बढ्दो प्रयोग तथा अन्य शिकार गरेका मंासाहारी जनावरलाई लक्षित गरी सिनोमा विष राख्दिनाले र अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युत तार आदिले पनि जीवित सानो संख्यामा रहेका गिद्धहरुलाई झन संकटमा पार्‍यो ।

गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र विक्रीमा प्रतिबन्ध लगाएको छ । त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्रिवितरण शुरु गरेको छ ।

सन् १९९० को मध्यदेखि दक्षिण एशियामा गिद्धको संख्यामा यसरी अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेेक हो ।

गिद्धलाई डाईकलोफेनेकरहित शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले सन् २००६ मा स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताकेा सक्रिय सहभागितामा नवलपरासीको पिठौलीमा एशियाकै पहिलो समुदायस्तरको जटायु -गिद्ध) रेष्टुरेन्ट खोलियो । यसरी खोलिएका जटायु रेष्टुरेन्टमा गौरक्षा केन्द्रहरु छन्, जहाँ बृद्ध, असक्त र बेकामी गाईवस्तुहरु किसानहरुबाट संकलन गरी पालनपोषण गरिन्छ । खासमा गौरक्षा केन्द्र पशुहरुको वृद्धाश्रम हो ।

तिनीहरुको प्राकृतिक मृत्युपश्चात निश्चित स्थानमा गिद्धहरुको आहाराका लागि राखिन्छ र गिद्धहरु आई खान्छन् । त्यहा गिद्धको आनीबानी हेर्ने पर्यटक अवलोकन घर पनि छन जहाबाट आगन्तुकहरुले अतिसकंटापन्न गिद्धहरुको विभिन्न प्रजाती र क्रियाकलापको नजिकबाट अध्य्यन गर्नुका साथै मनोरञ्जन पनि लिन सक्दछन् । जसले पर्या-पर्यटनमा टेवा पुग्नुका साथै स्थानीयबासीको जीविकोपार्जनमा समेत मद्दत गरेको छ । समुदायस्तरबाटै संचालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुरेन्टलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका पश्चिम नेपालका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र पूर्वको सुनसरी कोशीटप्पुमा पनि विस्तार गरिएको छ ।

नेपालमा प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने उद्देश्यअनुसार चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र (कृत्रिम बच्चा कोरल्ने स्थान) को स्थापना गरिएको छ । यस केन्द्रमा हाल ५७ वटा डंगर गिद्ध राखिएको छ । प्रजनन केन्द्रमा हुर्काईएका गिद्धहरुलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नवास गराउनु नै यस परियोजनाको प्रमुख उद्देेश्य हो । तर यसका लागि वातावरणमा डाईक्लोफेनेक र अन्य हानीकारक औषधिको प्रयोग र सिनोमा यसको अवशेष शून्य हुनु जरुरी छ ।

नेपालमा गिद्ध संरक्षण स्थानीय समुदायको प्रत्यक्ष सक्रियता, सहभागिता र अपनत्वमा संचालित र व्यवस्थित छ । जुन कार्य विश्व संरक्षण समुदायका लागि उदाहरणीय र अनुकरणीय बनेको छ । गिद्ध संरक्षणमा क्रियाशील ती स्थानीय समुदाय र संघ संस्थासँग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, औषधि व्यवस्था विभाग, नेपाल पन्छी संरक्षण संघ, राष्ट्रिय प्रकृति संरक्षण कोषले साझेदारी गरिरहेको छ ।

सन् २०१० मा दाङ्गबाट सुरु गरिएको जिल्लाहरुलाई पशु उपचार प्रयोगमा डाइक्लोफेनेकमुक्त गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियान हालसम्म ४६ जिल्लामा सम्पन्न भैसकेको छ । पश्चिम नेपालका सबै जिल्ला समेट्दै यसले नेपालको १,०१,१६० वर्ग किमी भू-भाग ओगटेको छ । नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९-२०१३’ को सफल कार्यान्वयन पश्चात नयाँ कार्ययोजना -सन् २०१५-२०१९) भर्खरै लागू गरिएको छ ।

आजसम्म गरिएका यी समग्र क्रियाकलापले गिद्ध संरक्षणमा आशाका किरण छाए पनि गिद्धहरु अझै पनि पूर्ण संकटमुक्त र सुरक्षित भईसकेका छैनन् । डाईक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, बासस्थान तथा आहारको अभाव, प्रयाप्त संरक्षण चेतनाको कमिका साथै अन्य पर्यावरणीय चुनौती हामीमाझ विद्यमान छन् । यिनै संरक्षण प्रयास र आगामी चुनौतिको बिच यहि भाद्र १९, अथार्त सेप्टेम्बर ५ को दिन सातौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस संसारभर मनाईदै छ ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाईन्छ । यही सन्दर्भमा नेपालमा पनि विभिन्न सचेतनामुलक र्‍याली, क्याम्पस तथा विद्यालय स्तरीय संरक्षण शिक्षामुलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रर्दशनी, सडक नाटक, अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी मनाईदै छ ।

अतः धार्मिक र सांस्कृतिक महत्व बोकेका प्रकृतिको अभिन्न अङ्ग गिद्ध र तिनको वासस्थान संरक्षण तिनको लोपको प्रमुख तत्व डाइक्लोफेनेक र अन्य विषहरुको प्रयोगमा निरुत्साहित गर्न र प्रतिवन्ध लगाउन र गिद्ध संरक्षण सचेतना अभिवृद्धिका लागि स्थानीय सरकारी कार्यलय, राजनीतिक नेतृत्व, समुदाय, संघसस्था तथा क्लब, भेटेनरी व्यवसायी सबैले हातेमालो गरी जैविक सन्तुलन र सनातन खाद्यचक्रलाई दीर्घकालसम्म कायम राख्न हातेमालो गरौं ।

(भुसाल नेपाल पंंक्षी संरक्षण संघका जीवविज्ञ हुन् ।)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment