कमल मादेन
बृत्रासुरको बधमा मेरो उत्पति
म त रक्तबीज भएँछु ।
अनि त म सर्वत्र व्याप्त भएँछु,
सुक्ष्म स्वरुपबाट लौकिक भएँछु
म त च्याउ भएँछु ।
यी वाक्यांशहरु महेशकुमार अधिकारी लिखित म त च्याउ भएँछु शीर्षक कविताका अंश हुन् । कवितामा च्याउ र बाहुनको मिथक छ ।
मिथकअनुसार परापूर्वकालदेखि बाहुनले च्याउ खानुहुँदैन भन्ने भनाइ चलीआएको छ । त्यो सन्दर्भलाई जोड्ने एक कथा महाभारतको शान्ति पर्वमा उल्लेख भएको सन्दर्भ महेशकुमार अधिकारीले जोडेका हुन् ।

त्यो सन्दर्भ अनुसार बृत्रासुर नाम गरेका एकजना अत्यन्त बलवान राक्षस थिए । बृत्रासुर जन्मले बाहुन र कर्मले राक्षस थिए । बृत्रासुरले कठीन तपश्यापछि ब्रह्माबाट बरदान पाए । बरदानका कारण उनी कसैले पनि शस्त्रबाट हराउन नसक्ने बने । त्यसपछि स्वर्गलोकमा इन्द्रसँग युद्ध भयो । बृत्रासुर युद्धमा बिजयी बने । इन्द्र इन्द्रासनबाट लखेटिए ।
इन्द्र चतुर थिए । कहाँ इन्द्रासन गुमाउने ! इन्द्रले अवसरको खोजीका निम्ति बृत्रासुरसँग मित लगाए । समय बित्दै गयो । इन्द्रले एकपटक मित (बृत्रासुर) लाई समुद्र किनारमा रंगरौस गर्न अनुरोध गरे । दुबैले समुद्र किनारमा खुब रमाइलो गरे । त्यसपछि इन्द्रले समुद्रको छालबाट बज्र बनाए । र, त्यही बज्रबाट बृत्रासुर मारिए । तिनै बृत्रासुरको रगतको थोपाबाट धर्तीमा पहिलोपटक च्याउ उमि्रएको मिथक पढ्न पाइन्छ ।
बृत्तासुरको रगतबाट च्याउ उम्रेको कथाकै कारण बाहुनले च्याउ खानुहुँदैन भन्ने भनाइ हिन्दूधर्मलवम्बीका निम्ति केवल एक कथा मात्र हो । तर, पनि नेपाली समाजमा बाहुन समुदायले च्याउ खानुहुँदैन भनेर नखानेहरु अझै प्रशस्तै भेटिन्छन् ।
बाहुनले च्याउ खानुहुँदैन भन्ने मान्यताको सेरोफेरोमा हुर्किएका एकजना महेशकुमार अधिकारी पनि हुन् । तर, उनी च्याउको अध्ययन अनुसन्धानमा लागि परेका छन् । अधिकारीले च्याउको अध्ययन अनुसन्धानमा चार दशकभन्दा बढी समय बिताएका छन् । अधिकारीले च्याउको अध्ययन अनुसन्धानमै विद्यावारिधि गरेका छन् र उनी हाल त्यसैमा लागिपरेका एकजना समर्पित अध्येयता हुन् ।
हिजोआज अधिकारीेको व्यक्तित्व च्याउ बिशेषज्ञको रुपमा स्थापित भएको छ । अधिकारीले च्याउ अध्ययन अनुसन्धानका निम्ति नेपालका विभिन्न जिल्लाहरु पुग्ने अवसर पाए । उनको बिशेषतः जंगली च्याउ अध्ययन अनुसन्धानमा अद्वितीय योगदान छ ।
जंगली च्याउ भन्नेबित्तिकै बौद्धिक वर्गमा अधिकारीलाई सम्झनेहरुको लर्को पनि लामै छ । महेशकुमार अधिकारी च्याउ शब्दको पर्यायवाची बनिँदैछन् । अधिकारीलाई वन मन्त्रालय, विभिन्न अनुसन्धान केन्द्रहरु, विश्वविद्यालयहरु र मिडियाले च्याउको स्रष्टा भनेर चिनेको छ ।
उसो त नेपालमा च्याउको चर्चा गर्दा डा. केशरीलक्ष्मी मानन्धरको नाम पनि छुटाउन मिल्दैन । मानन्धर पनि चार दशकअघि देखि नै च्याउ अध्ययन अनुसन्धानमा लागि परेकी हुन् । खाने च्याउको व्यवसायिकीकरणतर्फ मानन्धरको बिशेष योगदान छ ।
च्याउहरु मूलत खान हुने, खान नहुने र विषालु गरी मुलतः ३ प्रकृतिका हुन्छन् । नेपालमा करिब १ सय ५० प्रजातिका च्याउ खाने गरिन्छ
त्यसरी नै जयकान्त राउत पनि हालसालैदेखि चर्चामा आउँदै गरेका अर्का च्याउ अध्येयता हुन् । राउतले जापानबाट च्याउमा बिद्यावारिधि गरेका छन् । राउत नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा वरिष्ठ बैज्ञानिकका रुपमा कार्यरत छन् । अहिले राउतकै हातबाट च्याउ खेतीको आधुनिक प्रविधि अघि बढ्दैछ । मानन्धर र राउत जंगलभन्दा पनि प्रयोगशालामा रमाउने च्याउ बिशेषज्ञ हुन् ।
नेपालमा सबैभन्दा पहिले च्याउ अध्ययन अनुसन्धान गर्ने व्यक्ति माइकोलोजिष्ट सि.जे.ल्लोय्ड हुन् भन्ने कुरा महेशकुमार अधिकारीकै पुस्तकमा उल्लेख छ । तर, पछिल्लो समय महेशकुमार अधिकारीले यति च्याउका बारेमा लेख रचनाहरु प्रकाशन गरेका छन् कि जुन, अब शायदै अरुले गर्न सक्छन् । त्यसैले हिजोआज नेपालका च्याउ अध्ययन अनुसन्धानकर्ताहरुका लागि महेशकुमार अधिकारीका अनुसन्धानात्मक लेखहरु अध्ययन नगरी पुरै हुँदैन । महेशकुमार अधिकारी च्याउ अध्ययन अनुसन्धानका गर्नेहरुका निम्ति एक ‘लिजेन्ड’ हुन ।
हालै भारतका कनद दास र अरुहरुले च्याउ सम्बन्धी गरेको एक अनुसन्धानात्मक लेख ‘फाईटोट्याक्सा’ जर्नलको जुलाई २०१५ संस्कारणमा छापिएको छ ।
त्यो जर्नल बिश्वकै वनस्पति प्रजाति खोज अनुसन्धान र तिनका अन्तरसम्बन्धका बारेमा अध्ययन अनुसन्धानसँग सम्बन्धित सामग्री प्रकाशन गर्ने सर्बाधिक लोकप्रिय जर्नल हो । र, त्यो जर्नलको एक प्रतिको मुल्य ७२ डलर छ । त्यो आम नेपाली अनुसन्धानकर्ताको पहुँचमा छैन भन्दा अन्यथा हुँदैन ।
कनद दास र अरुहरुको ‘फाइटोट्याक्सा’ जर्नलमा ‘सुइलुस अधिकारीआई, अ न्यु स्पेसिस् फ्रम इन्डिया एण्ड नेपाल……’शीर्षकको लेख छापिएको छ । सो लेखमा भारत र नेपालबाट एक नयाँ प्रजातिको च्याउ पत्ता लागेको बृतान्त छ । त्यो च्याउको बिभिन्न अंगको नापजाप गरिएको बर्णन छ । लेखमा च्याउको रंगीन तस्बिर पनि दिइएको छ । च्याउ सम्बन्धी सामान्य जानकारी राख्नेहरुका लागि पनि त्यो लेख रोचक छ ।
पाठकका लागि एक नयाँ प्रजातिको च्याउ भेटिनु पढ्नैपर्ने बिषय पक्कै पनि होइन । मैले यहाँ पाठकवर्गलाई अवगत गराउन खोजेको सन्दर्भ- च्याउको नाम हो । अनुसन्धानकर्ताहरुले बिश्वका निम्ति एक नयाँ च्याउ प्रजाति पत्ता लगाए । नाम त वैज्ञानिक विधिबाट राख्नै पर्यो । संसारभर कुनै पनि वनस्पति वा जन्तु त्यसलाई पत्ता लगाउने अनुसन्धान कर्ताले राखेको वैज्ञानिक नामबाटै चिनिन्छ ।
तर, बिज्ञान जगतमा कुनै पनि जन्तु वा वनस्पतिको नाम दुई शव्दमा राख्ने प्रचलन छ । जस्तो मानिसको वैज्ञानिक नाम ‘होमो सेपियन्स’ हो । धानको बैज्ञानिक नाम ‘उरैजा साटिभा’ हो । नामका लागि प्रयोग गरिने शब्दहरु अक्सर गि्रक वा ल्याटिन शब्दबाट लिइन्छ । अत्यन्त थोरै वनस्पति वा जन्तुको वैज्ञानिक नाम व्यक्तिसँग जोडेर राखिन्छन् ।
कनद दास र अरुहरुले त्यो च्याउको नामकरणमा महेशकुमार अधिकारीलाई जोडेका छन् । त्यो च्याउको नाम ‘सुईलस अधिकारीआई’ राखिएको छ । सुईलसले प्रजातिहरुको समुह अर्थात जिनस् र ‘अधिकारीआई’ ले प्रजाति बुझाउँछ ।
प्रजाति बुझाउँने शब्दावलीमा अधिकारीपछि आई थपेर ‘अधिकारीआई’ गरिएको छ । त्यो कुरा समस्त नेपालीका लागि गौरवको बिषय हो । अधिकारीका लागि भने अत्यन्त ठूलो प्रतिष्ठा हो ।
अनुसन्धानकर्ताहरुले त्यो च्याउ नामाकरणमा अधिकारी जोड्नुको कारण महेशकुमार अधिकारीले नेपालको च्याउ अध्ययन अनुसन्धानमा पुर्याएको योगदानलाई कदर गर्दै उनैको सम्मानमा त्यो च्याउको नाम ‘सुईलस अधिकारीआई’ राखिएको उल्लेख गरेका छन् । किन र कसरी नाम त्यस्तो राखियो । उल्लेख गर्नु पर्ने चलन छ ।
अब संसारभर सयौं सयौं बर्षसम्म ज-जसले त्यो च्याउको अध्ययन अनुसन्धान गर्छन, तिनीहरुले महेशकुमार अधिकारीलाई पनि सम्झिरहने छन् । त्यसैगरी यसअघि अधिकारीकै नाममा जापानका एक प्राध्यापक योसिटा ओनोले पनि सन १९८६ मा एक ढुसीको नाम ‘पक्सिनिया अधिकारीआई’ (Puccinia adhikarii )पनि नामाकरण गरेका थिए ।
को हुन् अधिकारी ?
महेशकुमार अधिकारी वन मन्त्रालयअन्तर्गत वनस्पति विभागका सेवानिवृत बरिष्ठ च्याउ बिशेषज्ञ हुन् । गौर, रौतहटमा जन्मेका अधिकारीले सन १९९६ मा फ्रान्बाट च्याउमा विद्यावारिधि गरेका हुन् । उनी सन १९७४ बाट वन मन्त्रालय अन्तर्गत वनस्पति विभागमा जागिर शुरुगरी सन् २००९मा उक्त विभागको उप-महानिर्देशकबाट अवकाश भए ।
अधिकारीका दुई सय जति च्याउसम्बन्धी लेखहरु प्रकाशित छन् । नेपालका लागि अधिकारीले ३ सय जति नयाँ च्याउका प्रजातिको रिपोर्ट गरेका छन् । तिनीहरु बिश्वमा पहिले नै जानकारीमा आएका तर नेपालमा पनि छ भन्ने जानकारी भने अधिकारीले गराएका हुन् ।
त्यसैगरी बिश्वकै निम्ति नयाँ अर्थात न्यु टु साईन्स भने १४ प्रजाति पत्ता लगाएका छन् । त्यसलाई यसो भनौं, अधिकारीले नेपालबाट बिश्वकै निम्ति १४ प्रजातिका नयाँ च्याउ डिस्कोभर गरेका छन् । तिनले ति च्याउ काठमाडौं, फूलचौकी, गोदावरी, तामागढी (बारा) आदिका नामबाट नामकरण गरेका छन ।
‘सुईलस अधिकारीआई’ संकलन स्थान र पाइएको रुख : ‘सुईलस अधिकारीआई’ दुई प्रजातिको सल्लोमा पाइएको जानकारी उपलव्ध छ । ती दुबै दुर्लभ प्रजातिका सल्लो हुन् । ति ‘ल्यारिक्स ग्रिफथियना’ र ‘ल्यारिक्स हिमालयिका’ वनस्पतीय नाम भएका सल्ला हुन । तिनीहरु नेपाल र भारतमा पाइन्छन् । अघिल्लो प्रजाति कञ्चनजंगा र दोस्रो लाङटाङ राष्ट्रिय निकुञ्जमा पाइने तथ्याँक छ ।
सन् २००४ मा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. मोहन सिवाकोटी र यो पंक्तिकार ‘ल्यारिक्स ग्रिफथियना’ खोज अनुसन्धान शिलशिलामा सिक्किम पुगेका थियो । त्यसबेला कन्चनजंगा क्षेत्र जानुभन्दा सिक्किम जानु उपयुक्त ठानिएको थियो ।
- ल्यारिक्स ग्रिफथियना (सिक्किम)
त्यो सल्लो ग्यान्तोकबाट १ सय ७० किलोमिटर उत्तरपश्चिमको युमाथुङ भ्याल्लीमा फाट्टफुट्ट भेटियो । त्यसको फूल अत्यन्त अनौठो थियो । त्यो सल्लोको युमाथुङमा खिचिएको तस्बिर Zsolt Debreczy / Istavan Racz लिखित बिश्व प्रसिद्ध ‘कोनिफर एराउण्ड द वर्ड’ शीर्षक पुस्तकको खण्ड एक पेज ३६८ र ३९५ मा छापिएको छ ।
नेपालमा च्याउ
नेपालमा १ हजार २ सय ७१ प्रजातिका च्याउ पाउने जानकारी महेशकुमार अधिकारी लिखित ‘मसरुम अफ नेपाल’ (२०१४) शीर्षक पुस्तकको पृष्ठ २३ मा उल्लेख छ । च्याउहरु मूलत खान हुने, खान नहुने र विषालु गरी मुलतः ३ प्रकृतिका हुन्छन् । नेपालमा करिब १ सय ५० प्रजातिका च्याउ खाने गरिन्छ ।
खान हुने च्याउ :
जंगल छेउछाउका बासिन्दाका लागि जंगली च्याउ खाइरहने तरकारी हो । पूर्वको चारकोसे झाडीमा असार ८ गते अर्थात भूमिराजका दिन च्याउ खोज्नेहरुको लर्को मनग्यै हुन्छ । त्यो दिन असंख्यौ मानिस बिशेषत थारुहरु जंगलमा देउले च्याउ खोज्न जान्छन । देउले च्याउ धमिरा (एक प्रजातिको कमिला)ले बनाएको पुरानो माटाको ढिस्कामा पलाउँछ ।
देउले च्याउ समुहमा उमि्रन्छ । त्यसको टुप्पामा छाता जस्तो आकृति हुन्छ । त्यो एक-डेड बित्ता लामो हुन्छ । त्यो धमिराको गुँडबाटै पलाएको हुन्छ । देउले च्याउलाई वनस्पति जगतमा टर्मिटोमाइस्सि् अल्बुमिनोस्स् (Termitomyces albuminosus) भनिन्छ । त्यो प्रजातिको च्याउ असार, श्रावण, भाद्र महिनामा मात्र पाइन्छ ।

चारकोसे जंगलमा सदाबहार रुपमा पाउने चाम्रे च्याउ (Lentinus species) हो । त्यो लडेका रुख, रुखका ठुटा आदिमा पलाउँछ । रुख पनि प्रजाति बिशेष हुन्छ । पाडरी, लाटिकरमका मंकिन लागेका मुडाँ/काठमा चाम्रे च्याउ औसी पुर्ने छेक उम्रन्छ । सालको पुराना मुडामा पनि चाम्रे च्याउ उम्रन्छ । चाम्रे च्याउका १०/१२ भिन्दाभिन्दै प्रजाति छन् ।
चारकोसे झाडीमा सालको रुखको फेद वरपर खैरा, अर्ध गोलाकार रुपमा मटेंग्रा भन्दा ठूला पड्के च्याउ जेठ असार महिनामा पलाउँछ । त्यसको केही भाग मात्र जमिनबाहिर हुन्छ । असाध्य मीठो हुने च्याउको वनस्पतिक नाम स्कलेरोडर्मा टेसेन्स् (Scleroderma texense) हो ।
नेपालमा पाइने च्याउमध्ये करिव १ सयजति प्रजातिका च्याउहरु विषालु छन । तिमध्ये ३० प्रजातिका च्याउ अत्यन्त विषालु छन । केही विषालु च्याउ खाएका बिरामी उपचार नगरे बाँच्ने संभावना नै हुदैन ।
च्याउको बिषले बिशेषत पाचन प्रणाली असर पुर्याउँछ । त्यसले स्नायु प्रणालीमा असर पुर्याउँछ । बिषालु च्याउको बिषले बिरामी केही प्रजातिको सर्पले टोकेको बिरामीमा जस्तै लक्षण देखिन्छ । विषालु च्याउमा बिशेषत छाते च्याउ जस्ता च्याउका प्रजातिहरु अत्यन्त विषालु हुन्छन ।
विषालु च्याउ
जंगल वरपर बस्ने बासिन्दाहरु विषालु च्याए खाएर बर्सेनी २-३ सय संख्यामा व्यक्तिहरु अस्पतालमा भर्ना हुने गरेका छन् । अस्पतालै नपुगी वा उपचारका क्रममा विषालु च्याउ सेवन गरेका बिरामीहरु प्रतिवर्ष २०/२५ जनाको ज्यान जाने गरेको बताइन्छ । तर कहाँ के कति संख्यामा यसरी मृत्युहुन्छ भन्ने आधिकारिक तथ्याँक भने छैन ।
पाल्पामा गतसाल Amantia virosa नामक च्याउ खाएर मानिसरु मरेका थिए ।
त्यस्तै रोल्पा राङसी-६ निवासी चन्द्र वि.क.की ९ बर्षीया छोरी सपना र राङसी-१ कै तुलबहादुर वि.क.का १२ बर्षीया छोरा केशवको विषालु च्याउ खाँदा असार १४ गते निधन भयो । सोही ठाउँ बस्ने १२ वर्षीय केकुल वि.क. सिकिस्त भए ।
नेपाल प्रहरीको वेभसाइटमा राखिएको जानकारी अनुसार रुकुम छिवांग-१ का ३० वषिर्य कृष्णमोती बराली, ८ बर्षीय मनु बरालीसहित ६ जना असार १४ गते नै विषालु च्याउ खाएर सिकिस्त बिरामी भए । तिनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल रुकुम लगिएको थियो ।
त्यस्तै दाङ सिसहनिया-५ का राजकुमार तिवारीकी ५ वर्षीया छोरी सुनिता र २ वर्षीय छोरा अमर पनि असार १४ गते विषालु च्याउ खाएर असक्त भए । ती दुवैलाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही लगियो ।

कैलाली सहजपुर-४ बयलामा विषालु च्याउ खाएर ६ परिवारका २१ जना बिरामी भएको एक दैनिक पत्रिकामा असार २७ गते समाचार छापिएको थियो । समाचारमा उल्लेख भएअनुसार जंगलबाट ल्याएको च्याउ खाएपछि ६ परिवारका २१ जनालाई पेट दुख्ने र वान्ता आउने समस्या देखिएको थियो ।
सबै बिरामीहरु उपचारका लागि पैदल बाटोबाट राति १ बजे सहजपुर राजमार्गमा पुगेका थिए । तिनीहरुलाई प्रहरीले राति २ बजे उद्धार गरेर सेती अञ्चल अस्पताल पुर्याएको समाचार छापिएको थियो ।
औषधिजन्य च्याउ
संसारभर ग्यानोडर्मा कफी लोकप्रिय छ । त्यो कफीको के-के मा उपयोगी छ भनेर बयान गरी साध्यै छैन । त्यो नियमित सेवनले ट्युमर उब्जिनबाट बचाउने, कलेजो बलियो रहनेे, मुटुको मांसपेसी तन्दरुस्त बन्ने, मधुमेह रोकथाम हुने आदि आदि लेखिएको पढ्न पाइन्छ । ग्यानोडर्मा (Ganoderma) हाम्रै वन जंगलमा पाइने एक किसिमको रातो च्याउ हा, ग्यानोडर्मा कफी त्यही च्याउबाट बनाइन्छ ।
ग्यानोडर्मा च्याउको धेरै प्रजाति छन् । त्यसमध्ये ग्यानोडर्मा लुसिडम (Ganoderma lucidum) भनिने प्रजाति अत्यन्त उपयोगी मानिन्छ । यो च्याउ चिनियाँहरुले २ हजार बर्ष अघिदेखि उपभोग गर्दै आएका छन् । सि.जे.ल्लोय्डले नेपालमा ग्यानोडर्मा लुसिडम नै अध्ययन गरेका थिए ।

यो लेखमा प्रस्तुत गरिएको ग्यानोडर्मा लुसिडमको तस्बिर यो पंक्तिकारले संखुवासभा स्थित आँखिभुई गाविसको कुवावानीमा खिचेको हो । त्यहाँ त्यो च्याउ रुखको ठूटोमा भेटिएको थियो । त्यही महिना संखुवासभाकै तोमाफोक गाविसको तामाफोक गाउँमा भने बाँसका ठूटामा भेटिएको थियो ।
मखुन्डे च्याउ :
ग्यानोडर्मा एप्लानाटम् भनिने प्रजातिको आकार निकै ठूलो र कडा हुन्छ । त्यसबाट नेवार समुदायले लाखे नाचमा प्रयोग गर्ने मखुन्डो बनाइन्छ । त्यसरी अन्य ३/४ प्रजातिका च्याउबाट मखुन्डो बनाउने गरिएको छ । त्यो अक्सर मुस्ताङतिर बनाइन्छ ।
काठमाडौ उपत्यकामा अत्यन्त थोरै लाखे नाचमा च्याउबाट बनाइएका मुखुन्डो प्रयोग हुन्छ । तिनीहरु अत्यन्त महँगो हुन्छ । एउटा मुखुन्डोे ४० हजार रुपैयाँसम्म पर्छ । काठमाडौमा काठबाट बनाइएको मुखुन्डो लाखे नाचमा प्रयोग गरिन्छ ।
म्याजिक मसरुमः
भाङ खाएको जस्तो नसा दिने च्याउ पनि हुन्छ । त्यस्तो च्याउलाई म्याजिक मसरुम भन्ने गरिन्छ । त्यस्तो च्याउ अक्सर अम्लेटमा हालेर खाने गरिन्छ । पोखराका केही होटलहरुमा म्याजिक मसरुम (Psilocybe cubensis) खपत हुने जानकारी छ । महेशकुमार अधिकारीका अनुसार पर्यटकले त्यो च्याउ मिसाइएको एक अम्लेटको मूल्य ५ डलरसम्म तिर्दै आएका छन् ।
यार्सागुम्बा पनि एक प्रकारको च्याउ नै हो । तर, त्यसको जीवनचक्र बडो अनौठो हुन्छ । त्यो किरामाथि पलाउँछ ।
यो पंक्तिकारलाई नेपालीले यार्सागुम्बा पलाउने किराका बारेमा सुक्ष्म अध्ययन अनुसन्धान गरेको जानकारी छैन । बिदेशीले गरेका छन् । फ्रेन्च, जापानिजहरुले गरेका छन् । हालै भुटानमा भुटानीहरुले यार्सागुम्बा बनिने २ प्रजातिका नयाँ किरा पत्ता लगाएका छन् ।
पुतलीजस्तो किरा जुन राति सकृय हुन्छ, त्यसलाई पतङ भन्ने गरिन्छ । अंग्रेजी शव्दावलीमा मथ (Moth) भनिन्छ । केही मथको जीवनचक्र बडो अनौठो हुन्छ । तिनीहरु जीवनको ९०-९५ प्रतिशत समय जमिनमुनि बस्छन् । तिनीहरु संसर्ग देखि अण्डा पार्नेबेलासम्म मात्र जमीन बाहिर रहन्छन् ।

थिटारोड्स् (Thitarodes) भनिने मथको लार्भामा यार्सागुम्बा उम्रन्छ । त्यो मथको लार्भा ३ हजार मिटरभन्दा माथि जमिनमुनि ठाउँबिशेषमा पाइन्छ । च्याउको बिउ अथवा स्पोर जब त्यसको सम्पर्कमा पर्छ, त्यो लार्भा भित्रभित्रै अंकुरण हुन्छ र फैलन्छ । जब लार्भा निष्कृय हुन्छ, च्याउ लार्भाको टाउका तिरबाट बाहिर निस्कन्छ ।
यार्सा गुम्बा बनिने एक पुतली अर्थात पतङ (भूटान)
नेपालमा त्यो मथको पनि एकभन्दा बढी प्रजाति र च्याउको पनि एकभन्दा बढी प्रजाति छन् । मथको थिटारोड्स नेपालेन्स्सि (Thitarodes nepalensis) र च्याउको ओफियोकोर्डिसेप्स् साईनेेन्स्सि (Ophiocordyceps sinensis)प्रजातिबाट बनिएको यार्सागुम्बालाई उत्तम मानिन्छ ।
मोर्चेल्ला भनिने च्याउ पनि नेपालमा प्रशस्त पाइन्छ । ग्यानोडर्मा, यार्सागुम्बा, मोर्चेल्ला लगायत नेपालमा औषधिजन्य च्याउ दर्जनौ प्रजाति पाइन्छन ।
समग्रमा, च्याउका बारेमा जानकारी अत्यन्त कम छ । च्याउलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत वनस्पतिशास्त्रकै स्नातक र स्नातकोत्तर तहको पाठयक्रममा बेवास्ता गरिएको छ । गाउँघरमा जंगली च्याउ भगवान भरोसामा खाने गरिन्छ । त्यसैले विषालु च्याउबाट बिरामी पर्नु र कसैको ज्यान जानु नियमित प्रकया जस्तै हुँदै आएको छ ।
अर्कोतिर औषधिजन्य च्याउ व्यापारीका लागि मात्र फलिफाप हुँदै आएको छ । तिनले छोटै समयमा प्रशस्त कमाउन सक्छन् । राज्य त बेखबर जस्तै नै छ । सरकारले त यार्सागुम्बा जस्तो सबैले जानेको, सबैले चिनेको र लाखौं जनता ज्यानको जोखिम मोलेर संलग्न हुने कुरामा व्यापारीलाई जे जति कमाउन सक्छौ, कमाउ भन्ने नीतिमा छ ।
सरकारले बिदेशमा बनेको समान नेपाल भित्रियाउँदा कर, अन्तशुल्क आदि जोडेर बस्तुको मुल्य भन्दा दोब्बर बढि असुल्ने गर्छ । जस्तो सवारीको साधन, बाइक, गाडि आदिमा । तर, नेपाली जनताले ज्यान हत्केला राखेर संकलन गरेको यार्सागुम्बा दाम, १५/२० लाख प्रतिके.जी छ । तर, राजस्व के.जी.को १० हजार रुपैयाँ तोक्छ । के यस्तो नीतिबाट जनता उँभो लाग्छन् ?
राज्य सञ्चालन गर्नेहरुको मानसिकता आफैमात्र सुबिधा र फाइदा लिने छ । तिनलाई सरकारले गाडी दिइहाल्छ । तिनका आफन्तले यार्सागुम्बा टिपेर जीवन निर्बाह गर्नुपर्दैन । त्यसैले राज्यले विषालु च्याउ खाएर पीडित हुनेहरुको संख्या कम गर्दै लाने सोच बनाउला भनेर कल्पना गर्नु मनासिब होला त ?

प्रतिक्रिया 4