Comments Add Comment

थारु अग्रजहरु ! उग्र नहुनोस् !

देशका विभिन्न स्थानमा भइरहेका आन्दोलनको शैली मलाई चित्त बुझिरहेको छैन । कैलालीको टीकापुरमा जे भयो, त्यसले अझैसम्म मेरो मन भत्भति पोलिरहेको छ । देशलाई माया गर्ने सबै नेपालीहरुको निम्ति हो दुखद एवम् निन्दनीय घटना हो ।

shanta chaudhary (2)यस्तो घटनाको समर्थन गर्ने कोही पनि सच्चा नेपाली हुनै सक्दैन । लोकतन्त्रमा आफ्ना माग राख्न पाउने अधिकार सबैलाई छ । शान्तिपूर्ण आन्दोलनका माध्यमबाट नै आफ्ना माग राख्न सकिन्छ । हत्या-हिंसा किन मच्चाउने ? तोडफोड किन गर्ने ? एक नेपालीले अर्को नेपालीको ज्यान किन लिने ? एउटा दुई वर्षको बालकको ज्यान किन लिने ?

कैलालीको आन्दोलनमा घुसपैठ भयो भनेर सबैले भनिरहेका छन् । मलाई लागेको पनि यहि हो । थारुहरुले यस्तो जघन्य अपराध गरेको होला भन्ने विश्वासै लाग्दैन । हिजो पहाडबाट आए, थारुले स्वागत गरे । भारततिरबाट आए थारुले स्वागत गरे । थारु धरतीपुत्र हुन् । जंगल फाँडेर गोमन साँप र विच्छीसँग लडेर थारुले उर्बराभूमी बनाए । आज त्यही थारु कमैया, कम्लहरी भएका छन्, भूमिहिन भएका छन् । अनेक अन्याय र अत्याचार सहेर बसेका थारुले बदलाको भावना कहिल्यै लिएनन् । कसैप्रति प्रतिसोध साँध्ने काम गरेनन् । सबैलाई स्वागत गरे । आफू दास बन्न तयार भए । यस्तो सोझो जातले यति जघन्य अपराध गरे होला भन्ने कसरी पत्याउने ?

अहिलेको परिस्थितिमा आन्दोलनकारीले सचेत हुनुपर्छ । आन्दोलनको नेतृत्व गर्नेहरु सतर्क हुनुपर्छ । पानी धमिलो भयो भने जोसुकैले माछा मार्न खोज्छन् । म थारुहरुलाई मात्र भनिरेहकी छैन । मधेसी, जनजाति, क्षेत्रिबाहुन जोसुकैले पनि आन्दोलन गर्दा हिंसा मच्चाउने तत्वहरु प्रवेश गर्न सक्छन् । कसैले व्यक्तिगत फाइदा लिन सक्छन् । थारु नेतृत्व सजग हुन सकेनन् । आफ्नो भन्दा अरुको बढी विश्वास गर्ने सोझो जात भएकाले हामीलाई प्रयोग गरियो । घुसपैठ नै भए पनि थारुको नेतृत्वमा आन्दोलन भएकाले नैतिक जिम्मेवारी लिनुपथ्र्यो । त्यसमा पनि हामी चुकेका छौं ।

अरुलाई भन्दा थारुलाई यो देशको माया धेरै छ भन्ने म विश्वास गर्छु । थारु अग्रज नेताहरुलाई आग्रह गर्छु, हामी उग्र भएर प्रस्तुत हुनु हुँदैन । थारुहरुले राष्ट्रवादी पहिचान गुम्न दिनुहुँदैन । सरलताको पहिचानलाई कायम राख्नुपर्छ । सद्भाव फैलाउने र सकारात्मक सन्देश दिने कुरामा केन्दि्रत हुनुछपर्छ । अहिले उग्रता देखाएर क्षणिकरुपमा हिरो हुन सकिन्छ, तर यसले दीर्घकालमा हामीलाई नै हानी गर्छ ।

राजकुमार लेखीले शान्ता चौधरीले पाए जति दुख पाउनुभएको छैन किनभने उहाँ पूर्वको थारु हो । रुक्मिणी, गंगा चौधरी खान्दानी हो । म त अर्काको घरमा १८ वर्ष दासी जीवन बिताएको हो

यसमा सरकारको पनि दोष देख्छु म । शान्तिपूर्ण आन्दोलन राज्यको नजरमा कहिल्यै पर्दैन । जब तोडफोड र हिंसा हुन्छ तब राज्यले सुन्ने बानी परेको हुँदा पनि यो स्थिति आएको हो । शान्तिपूर्ण आन्दोलनलाई सरकार, राजनीतिक दलहरु र मिडियासमेतले उपेक्षा गर्ने परिपाटी अन्त्य होस । कैलालीमा अहिले असाध्यै त्राशको बातावरण छ भन्ने सुनेकी छु ।

कैलालीका युवाहरु पलायन हुँदैछन् भनेर समाचार आइरहेका छन् । यस्तो त्राशको वातावरणलाई सामान्य अवस्थामा ल्याउन सबैले पहल गर्नुपर्छ । दलका प्रतिनिधीहरु गएर मध्यस्थता गर्ने काम गर्नुपर्छ । हिजोकै जस्तो वातावरण बनाउनुपर्छ । एउटा घटनालाई लिएर सिंगो समुदायलाई दोष दिनु हुँदैन । अपराधीको जात हुँदैन । बाहुनमा पनि अपराधी हुन्छन्, मगरमा पनि हुन्छन्, मधेसीमा पनि हुन्छन् । त्यसैले एउटा समुदायलाई त्यसरी दोष नलगाइयोस् । सिंगो समुदायलाई नमुछियोस् ।

अहिलेको विषम परिस्थितिमा हामीजत्तिको चेतनशील मान्छेहरुले आगोमा घ्यू थप्ने होइन । बलेको आगोलाई निभाउने हो । देशको माया गर्ने साथीहरु जाग्नुपर्छ । देश रहे हामी रहन्छौं । नरहे हामीपनि रहन्नौं । अहिले सबैभन्दा ठूलो कुरा देशलाई माया गरौं त्यसपछि जातको कुरा आउँछ । पहिले नेपाली हौं भन्ने भावना चाहियो । देशका विभिन्न अंगमा हो, थारुहरुको प्रतिनिधित्व जति हुनुपथ्र्यो भएको छैन ।

थारु हुँदाको पीडा भोग्ने मध्येमा शान्ता चौधरी पनि पर्छे ।राजकुमार लेखीले शान्ता चौधरीले पाए जति दुख पाउनुभएको छैन किनभने उहाँ पूर्वको थारु हो । रुक्मिणी, गंगा चौधरी खान्दानी हो । म त अर्काको घरमा १८ वर्ष दासी जीवन बिताएको हो ।

कमैया कम्लहरीलाई थारु हुँदाको पिडा जति छ त्यति अरुलाई छैन । तर थारुहरु अन्यायमा छन् भन्ने नाममा फेरि पनि हिंसात्मक आन्दोलनमा उत्रिने होइन ।

यत्रो जातजाति, भाषाभाषी सबैको राज्यले चित्त बुझाउन सक्दैन । राजनीतिमा जातीय मुद्दा ल्याउनु नै सबैभन्दा ठूलो भूल थियो दलहरुको । जातीय राजनीतिको प्रतिफल नै आजको अवस्था आएको हो ।

बिहान सुतेर उठ्दा शुभप्रभात भन्नेबेलामा श्रद्धान्जली भन्नुपर्ने अवस्था छ । कुरा गर्दागर्दै आँशु चुहिन्छ मेरो त । राज्यले संघियताको विषयमा जातजातिको भावना जतिसक्दो चित्त बुझाउने गरी गर्नुपर्‍यो ।

आन्दोलनकारील पनि गिभ एन्ड टेक गर्नुपर्छ । मेरो गोरुको बाह्रै टक्का गर्नुभएन । राजनीतिक दल र राज्य जनताको बीचमा जानुपर्छ । आन्दोलनकारीसित संवाद गरेरै अघि बढ्नु ठिक हो । कसरी हुन्छ यो देश जोगाउने तर्फ लागौं । मान्छे मारेर समस्याको समाधान हूँदैन । हुन त अहिले मैले बोलेको कसले सुन्ला र । तैपनि बोलिरहन्छु ।

– चिरञ्जिवी पौडेलसँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment