२५ भदौ, काठमाडौं । कोरियन मोटर्स कम्पनी हुन्डाईको बहुप्रतिक्षित गाडी एसयुभी ‘क्रेटा’ नेपाली बजारमा भित्रिएको छ । हुन्डाईको नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबार साँझ भव्य समारोहबीच क्रेटा सार्वजनिक गर्यो ।
नयाँ स्टाइलको पि्रमियम एसयुभी क्रेटाले नेपालमा हुन्डाईको उपस्थिती थप मजबुत बनाउने अपेक्षा गरिएको छ । क्रेटा पेट्रोल र डिजेल इञ्जिनमा गरी ७ वटा भेरियन्टमा उपलब्ध छ । पेट्रोलमा तीनवटा र डिजेलमा चारवटा भेरियन्ट रहेका छन् ।
नेपालमा क्रेटा पेट्रोलको मूल्य ३९ लाख ९६ हजारदेखि ४९ लाख ९६ हजार रुपैयाँसम्म र डिजेलको मूल्य ४३ लाख ९६ हजारदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको छ ।
पेट्रोल इञ्जिनमा क्रेटा १६०० सीसीमा उपलब्ध छ । पेट्रोल इञ्जिन क्रेटा बेस मोडलको ३९ लाख ९६ हजार, क्रेटा एसको ४३ लाख ९६ हजार र क्रेटा एसएक्स प्लसको ४९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
यसैगरी डिजेल इञ्जिनमा क्रेटा १४०० सीसी र १६०० सीसीमा उपलब्ध छ । १४०० सीसीको डिजेल इञ्जिन क्रेटाको मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । १६०० सीसीमा एसएक्स प्लसको ५५ लाख ९६ हजार, एसएक्स ओको ५८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
डिजेल इञ्जिनमा क्रेटा अटोमेटिक गियरमा समेत उपलब्ध छ । १६०० सीसी इञ्जिन क्षमताको अटोमेटिक गियरयुक्त क्रेटाको मूल्य ५८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
क्रेटाको सबै भेरियन्टमा ६ स्पीड गियर रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ । बुट स्पेस ४०२ लिटरको छ । यसमा ५५ लिटर इन्धन अटाउने ट्यांकी रहेको छ ।
ट्युबलेस टायर प्रयोग गरिएको क्रेटामा फ्रन्ट ब्रेक डिस्क र रियर ब्रेक ड्रम रहेको छ । क्रेटा विभिन्न ७ वटा कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
भिडियो
यसमा भेहिकल स्टाविलिटी म्यानेजमेन्ट (भीएसएम), इलेक्ट्रिक स्टाविलिटी (ईसीएस), हिल स्टार्ट एसेक्ट कन्ट्रोल (एचएसी), रियर प्राकिङ एसिष्ट सिष्टम, एन्टी लक ब्रेकिङ सिष्टम, फ्रन्ट र साइडमा गरी ६ एयरब्याग लगायतका सेफ्टी फिचर रहेका छन् ।
क्रेटाको अगाडि र पछाडिको भाग आकर्षक बनाइएको छ । यसको हेड र टेल लाइट नयाँ डिजाइनमा छ । यसमा युनिक भर्टिकल फग लाइट राखिएको छ ।
क्रेटामा विलासी यात्राको आभास दिलाउन ड्राइभर सिट हाइट एडजष्टर, फुल्ली अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, फराकिला सिट, इन्फोटेनमेन्ट म्युजिक सिष्टम लगायतका सुविधाहरु राखिएको छ ।
शक्तिशाली बडी, उच्च क्षमताको इञ्जिन, टिकाउ र चलाउन आरामदायी क्रेटाले एसयुभीको बढ्दो बजारमा आफ्नो अलग्गै पहिचान स्थापित गर्ने लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।
बलियो ‘हाइभ स्ट्रक्चर’ बडी सेलद्धारा डिजाइन गरिएकाले यसको क्षमता र टिकाउपना अरुको दाँजोमा प्रभावकारी भएको कम्पनीको दाबी छ । गाडीको ‘बी-पिलर, सी-पिलर र इञ्जिन बे’मा प्रयोग गरिएको रिङ आकारको फ्रेमले पनि गाडीलाई बलियो बनाउन मद्धत गरेको छ ।
हुन्डाई मोटरको ‘फ्लुडिक स्कल्पचर २.० डिजाइन फिलोसोफी’ मा आधारित क्रेटाले उपभोक्ताको आराम, सुरक्षा र स्टाइलमा कुनै सम्झौता गरेको छैन् ।
‘नयाँ पुस्ताको उपभोक्ताका लागि उच्चस्तरीय इञ्जिनियरिङ र उच्च क्षमताको एसयुभी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं’ अध्यक्ष श्रेष्ठले भने- ‘क्रेटा हुन्डाईको सबैभन्दा नवीन र पृथक शैलीको सवारी हो, जसलाई नयाँ युगको हुन्डाई भनेर परिभाषित गर्न सकिन्छ ।’
एसयुभी गाडीका पारखीलाई मध्यनजर गरी क्रेटा उत्पादन गरेको बताउँदै श्रेष्ठले यसले एसयुभी बजारमा नयाँ ट्रेन्डको सुरुवात गराउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4