+
+
Shares

विदेशी विमानले बाटोमै रोकिएर तेल भर्न सुरू

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १८:०३

१२ असोज, काठमाडौं । नेपाल उडान भर्ने विदेशी एयरलाइन्सले आफुलाई पायक पर्ने ठाउँमा जहाज अवतरण गराई इन्धन भर्न सुरु गरेका छन् ।

भारतको अघोषित नाकाबन्दीले इन्धनको अभाव भएपछि नेपाल आयल निगमले दिउँसो १२ बजेदेखि विदेशी एयरलाइन्सलाई इन्धन दिन बन्द गरेको छ ।

Air-Arabia-Aircraft

निगमले विदेशी विमान कम्पनीलाई बाहिरबाट इन्धन भरेर उडान गर्न आग्रह गरेको छ । दिउँसो १२ बजेपछि भुटान एयरलाइन्सले पहिलो उडान भरेको छ । भुटानको पारोबाट दिल्ली हुँदै काठमाडौ आएर पारो प्रस्थान गरेको भुटन एयरले दिल्लीमा इन्धन भरेको बताइएको छ ।

त्यसो त भुटान एयरको अधिकांश उडान पारोबाट सिधा काठमाडौं हुने हुँदा छोटो दुरी भएकाले इन्धन भरिरहनु नपर्ने भुटान एयरको नेपाली जीएसए कम्पनी सोसाइटी ट्राभल्सले जनाएको छ ।

समचार संकलन गर्दासम्म १२ बजेपछि भुटान एयरलाइन्स सहित एयर अरेविया, एयर एशिया, कतार एयर, चाइना एयर, इन्डिगो एयरलाइन्स काठमाडौंबाट उडिसकेका छन् ।

एयर अरेवियाले लखनाउमा प्राविधिक अवतरण गरेर इन्धन भरेको बताइएको छ । एयर एशियाले वाइड बडी जहाज उडाउने हुँदा उसले दुईतर्फी उडान भर्न मिल्ने तेल बोक्न सक्छ । एयर एशियाले कार्गो घटाएर दुईतर्फी उडान भर्न मिल्ने तेल बोकेर आएको थियो ।

कतार तयारले पनि वाइड बडी जहाज ल्याएको थियो । कतारको एयरबस ३३० जहाजमा दुईतर्फी उडान भर्न मिल्ने इन्धन अटाउँछ । एयरबस ३३० लामो गन्तव्यमा उडान भर्ने जहाज हुन् ।

चाइना एयरको गन्तव्य नजिक भएको हुँदा इन्धन भरिरहनु पर्दैन । त्यसो त कम यात्रु भएको हुँदा अधिकांश चाइनिज कम्पनीले उडान कटौती तथा बन्द गरेको स्रोत बताउँछ ।

दैनिक दुई उडान भर्दै आएको ओमन एयरले विहान साढे ९ बजे उडान भरिसकेको छ । बेलुका उडान भर्दा ओमन एयरले लखनाउमा टेक्निकल ल्यान्डिङ (प्राविधिक अवतरण) गरी इन्धन भर्ने अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक संघका अध्यक्ष भरत श्रेष्ठले बताए ।

‘जहाज ओमनको मस्कटबाट काठमाडौं आउनेछ, यहाँबाट यात्रु बोकेर लखनाउमा प्राविधिक अवतरण गरी इन्धन भेरेर मस्कटतर्फ लाग्नेछ’ श्रेष्ठले भने- ‘अन्य एयरलाइन्सले पनि आफुलाई पायक पर्ने ठाउँमा प्राविधिक अवतरण गर्नेछन् ।’

फ्लाई दुबईले पनि लखनाउमा अवतरण गरेर इन्धन भर्ने भएको छ । इत्तिहाद र टर्किस एयरले दिल्लीमा इन्धन भर्ने भएका छन् । विहान पहिलो पटक त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने ट्रकिसले भोलीदेखि दिल्लीमा इन्धन भर्न प्राविधिक अवतरण गर्ने छ ।

यसैगरी मालिन्दो र मलेसियन एयरले बंगलादेशको ढाकामा इन्धन भर्नेछन् भने कोरियन एयरले थाइल्यान्डको बैंककमा इन्धन भर्ने तयारीमा । कोरियन एयरले नेपालमा हप्तामा सोमबार एउटा उडान भर्दै आएको छ ।

अन्य एयरलाइन्सले पनि आफुलाई पायक पर्ने ठाउँमा प्राविधिक अवरतरण गरी इन्धन भर्ने श्रेष्ठले जानकारी दिए । नेपाल एयरलाइन्सलाई भने निगमले काठमाडौंमा तेल उपलब्ध गराउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?