- काठमाडौंको सडकमा गाडी पर्खेर बसेकाहरु
१२ असोज, काठमाडौं । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिन माग गरेको छ ।
पेट्रोलियम पदार्थको हाहाकारले आफ्नो पालो परेका सवारी पनि चल्न नपाउँदा यात्रुले सास्ती भोग्नु परेको भन्दै महासंघले सार्वजनिक सवारीलाई प्राथमिकता दिन माग गरेको हो ।
तेल नभएका कारण मंगलबार जोर नम्बर प्लेटका आधा भन्दा बढी गाडी थन्किएकाले सवारीमा सर्वसाधारणको चाप उच्च भएको महासंघको ठहर छ ।

‘अब तेल १० दिनलाई मात्रै पुग्छ भनेर बाहिर कुरा आइसक्यो । यो स्थितिमा निजी सवारीलाई प्राथमिकता दिन हामी जरुरी ठान्दैनौं,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अत्यावश्यक अवस्थामा प्रयोग गर्न सक्ने गरी एकपटक तेल दिएर निजी सवारीलाई तेल दिन रोक्दा राम्रो हुन्छ ।’
यो समय निजी सवारी प्रयोग गर्ने नभएको भन्दै धेरैले फजुल काममा पनि तेल खर्च गरिरहेकाले नियन्त्रण गर्न सरकारले उचित कदम चाल्नुपर्ने महासंघले जनाएको छ ।
‘तेल बचत गर्नुपर्ने समयमा अनियन्त्रित तबरले वितरण गर्न आवश्यक छैन । निजी गाडीलाई दिने तेल सार्वजनिकलाई दिए धेरैले राहत पनि पाउँछन्,’ महासचिव सिटौलाले भने, ‘निजी गाडीलाई दिने तेल रोके मौज्दातलाई अझै केही लम्ब्याउन सकिन्छ, संगै यात्रुको सास्ती पनि घट्छ ।’
उनले सार्वजनिक सवारीका साधनमा चढी यात्रा गरेर राष्ट्रिय संकटलाई पार लगाउन सबैलाई आग्रह पनि गरे ।
प्रतिक्रिया 4