+
+

काजीलाई छोडेर ‘माग्ने’सँग पोइला गएकी मैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १३:१३

magne-and-maiya
पछिल्लो समय काँचको पर्दामा श्रीमान-श्रीमतीका रुपमा देखिदै आएका छन् केदार घिमिरे ‘माग्ने बुढा’ र सुनीता गौतम ‘मैयाँ’ । उनीहरु दम्पित्तिका रुपमा देखिन थालेको एक दशक भइसक्यो ।

हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’ मा माग्ने र मैयाँ बनेर खेलेका उनीहरुले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । ठेट गाउँले भूमिकामा देखिने यो जोडीलाई दर्शकले निकै मन पराउछन् । माग्नेबुढासितको आफ्नो यात्रालाई मैयाँले यसरी वर्णन गरिन् :

केदार दाईसँग मेरो पहिलो भेट १० वर्ष अगाडी कलंकीमा भएको थियो । त्यतिबेला निशान बजगाईसँग मेरो भर्खर ‘लभ’ सुरु भएको थियो । हामी  डेटिङका लागि कलंकी पुगेका थियौं । घर जानका लागि बस चढ्ने तयारी गरिरहेका बेला श्रीमानले भन्नु भयो-‘एकपटक केदार दाईलाई भेटेर जाउँ ।’ उहाँको केदार दाईसित पुरानो चिनजान रहेछ ।

कलंकीमा केदार दाईको एउटा क्यासेट पसल रहेछ । त्यही सिताराम कट्टेल दाई पनि हुनुहुँदो रहेछ । कुराकानी भयो । उहाँहरु त्यतिखेर ‘जीरे खुर्सानी’मा अभिनय गर्नुहुन्थ्यो । मेरो श्रीमान्ले केदार दाईसँग कुरा गर्दै भन्नु भयो, ‘यो मेरो गर्लफ्रेण्ड हो । अभिनयप्रति असाध्यै रुची राख्छे । यसलाई पनि खेलाउनुपर्‍यो ।’

केदार दाईले हुन्छ, पछि काम गरौंला भन्नु भयो । उहाँहरुले नयाँ कमेडी सिरियल बनाउने योजना बनाएको पनि त्यतिवेलै सुनाउनु भएको थियो । त्यसको केही दिनपछि ‘मेरी बास्सै’को सुटिङ भयो । केदार दाईले मलाई बोलाउनु भयो, गएँ । सुरुमा मैले थापा काजीको श्रीमतीको भुमिका निर्वाह गरेकी थिएँ । केही भागसम्म मैले थापा काजीकी श्रीमती भएरै काम गरे ।

अभिनयकै क्रममा केदार दाईले थापाकाजीको श्रीमतीलाई माग्नेले भगाएको सिचुएसन बनाउनु भयो । माग्नेले मैयाँलाई भगाएको दृष्य दर्शकले निकै रुचाए । त्यसपछि म माग्नेकै बुढी भएर बसें ।

पोखरीमा धकेलिदिए माग्नेले
दश वर्ष भयो केदार दाईसँग काम गरेको । उहाँको मिहेनत असाध्यै लोभलाग्दो छ । काम गर्दा पटक्कै अल्छी गर्नुहुन्न । सुटिङ सुरु गरेपछि पानी परोस्, घाम चर्कोस् वा अरु जेसुकै होस् काम नसकेसम्म दायाँबायाँ गर्नु नै हुन्न ।

रुख चढ्ने, कुस्ती खेल्ने, हाम फाल्ने, दगुर्ने जस्ता दृष्य उहाँ जहिल्यै रियल गर्नुहुन्छ । कहिल्यै चिटिङ गर्नुहुन्न । उहाँ त रुख चढ्न र पौडी खेल्न धेरै सिपालु हुनुहन्छ । जस्तोसुकै अप्ठयारो ठाउँमा पनि जानसक्नु हुन्छ ।

तर, म त्यस्तो काम गर्न सक्दिन । त्यस्तो वेला भने जोड गर्नुहुन्छ । गरेपछि सकिहालिन्छ नि भनेर । एउटा सिन रहेछ पौडी खेल्न पर्ने । मलाई त पौडी खेल्न पटक्कै आउदैन थियो । उहाँले सकिहाल्छ्यौ नि भन्दै जर्बजस्ती पोखरीमा धकेलिदिनु भयो । मेरो त सात्तो गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?