१८ असोज, काठमाडौं । प्रमुख तीन दलले भारतले अघोषित नाकाबन्दी हटाएको भनेर झुक्याएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । अब यो विषयमा दुई देशका प्रधानमन्त्रीस्तरमै छलफल गर्ने तीन दलको निर्णय छ ।
सोमबार बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा नाकाबन्दीबारे गम्भीर छलफल भएको नेताहरुले बताएका छन् । नेपालको आन्तरिक मामिलाई लिएर नाकाबन्दी गर्नु र पछि हटाएको भने पनि त्यस्तो नदेखिएको भन्दै तीन दलले गम्भीर आपत्ति जनाएका छन् ।
नयाँ संविधान घोषणाका क्रममा मधेसका केही मुद्धा सम्बोधन नभएको भन्दै भारतले दुईसातादेखि अघोषित नाकाबन्दी लगाउँदै आएको छ । शनिबार सीमा नाकाहरुमा आवागमन सहज बनाउन निर्देशन दिएको भन्दै भारतले तेल लिन आउन समेत खबर पठाएको थियो ।
तर, त्यसविपरीत अहिले पनि सीमामा अवरोध जारी छ भने तेल पनि दिएको छैन ।
कांग्रेस, एमाले र एमाओवादीको बैठकले तत्काल समस्या समाधानका लागि उच्चस्तरमा कुरा गर्ने निर्णय गरेको छ । यो भनेको दुई देशका प्रधानमन्त्री स्तरमै वार्ता गर्ने भएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया 4