Comments Add Comment

सुशीलले छाड्नुपर्छ, शेरबहादुरले पाउनुपर्छ

सुशील कोइरालाले पुनः प्रधानमन्त्री बन्नका लागि पार्टी बाहिर लबिङ गरिरहेका बेला कांग्रेसभित्रै उनको निरन्तरता नचाहने समूह संगठित बन्न थालेको छ ।

कांग्रेसकै नेतृत्वमा सरकार बनाउने तर सुशील कोइरालाले छाड्नुपर्ने दाबी शेरबहादुर देउवा पक्षको छ । देउवाका निकटस्थ मानिने प्रभावशाली केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँडले सबैलाई मिलाउन सक्ने भएकाले अब देउवा प्रधानमन्त्री बन्नुपर्ने बताए ।

Balkrishna-khandखाँडले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमतिबारे पार्टीमा जानकारी नभएको भन्दै त्यस्तो सहमति भएको हो भने नेताहरुले जानकारी दिनुपर्ने बताए । खाँडले भने-ओलीलाई बनाउने सहमति भएको हो भने पार्टीमा टेबल गर्नुपर्छ, वचन दिएको हो भने पालना गर्नुपर्छ ।’

ओली हुनुहुँदैन भन्ने धारणा नरहेको बताउने खाँडले कोइरालाचाहिँ अब दोहोरिन नहुने प्रष्ट पारे । प्रस्तुत छ, कांग्रेस नेता खाँडसँग अनलाइनखबरका लागि मात्रिका पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसले सरकारको नेतृत्व एमालेलाई नदिनेनै हो त ?

– हामीले त्यसो भनेका छैनौं । तर, मूल कुरा दोस्रो संविधानसभाको चुनावपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सबै दलहरुसँग सहयोग मागेको हो । त्यहि आधारमा हाम्रो सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । एमालेले संविधानसभामा आफ्नो जुन उपस्थिति छ त्यहि हैसियतमा कांग्रेसकै हाराहारीमा सरकारमा आफ्नो पोजिसन स्थापित गरेको हो । त्यो सरकारको उद्देश्य समयमै संविधान जारी गर्ने नै थियो ।

अब दुई तिहाई बहुमतकै हाराहारी मत पाएर बनेको सरकारले संविधान जारी गरिसकेको अवस्थामा नयाँ सरकारका लागि हामी खुला छौं । एमालेलाई दिने नदिने भन्ने कुरा नै होइन यो । बल्ल त नयाँ सरकार गठनको छलफल शुरु भएको छ ।

तर, हिजो सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने बेला सात बुँदे सहमति गर्दा र संविधान जारी गर्नका लागि १६ बुँदे सम्झौता गर्दा एमालेलाई नेतृत्व दिने भनेको होइन र ?

– संविधान जारी भइसकेको अवस्थामा अब नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको छ । अहिले नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीबीच जुन एकता छ, त्यो कायम हुनु मुलुकका लागि राम्रो हुन्छ ।

जहाँसम्म एमालेलाई नेतृत्व छाड्ने विगतको भद्र सहमतिको कुरा छ, ती कुनै पनि सहमति हाम्रो केन्द्रीय कार्यसमितिमा टेबल भएका छैनन् । कुनै लिखत पनि छैन । पार्टी सभापतिसहित शीर्ष नेताहरुले यसबारेमा हामीलाई जानकारी पनि गराएका छैनन् । त्यो सहमति हामीले थाहा नपाएसम्म त एमालेलाई दिनुपर्छ भनेर हिँड्न मिलेन नि ।

यो त सबैले भन्दै आएको ‘ओपन सेक्रेट’ कुरा हो नि, केपी ओलीलाई प्रधानमन्त्री बनाउने कुरा शीर्ष नेताबीच सहमति भएको भनेर आइसकेको छ, अहिले हैन भन्न मिल्छ र ?

– बाहिर आएका कुरालाई हामीले मान्ने कि पार्टीमा औपचारिकरुपमा टेबुल भएपछि मान्ने ? पार्टी केन्द्रीय कार्य समितिको रेकर्डमा कांग्रेस र एमालेबीच सरकार आलोपालो ढंगले चलाउने सहमति भएको कुरा दर्ज भएको छैन ।
संविधान जारी भएपछि नयाँ परिस्थिति बनेको छ । एमाओवादीसहितको वृहत सहमतिको सरकार बनाउनुपर्छ भन्ने मेरो धारणा छ ।

ठीक छ, वृहत सहमतिको सरकार बनाउने, तर नेतृत्वचाहिँ कसले गर्ने त ?

– नेपाली कांग्रेस ठूलो पार्टी भएका कारण कांग्रेसकै नेतृत्वमा सबै दलको साझा सरकार बनोस भन्ने मेरो चाहना हो ।
कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने तपाईको चाहना त बुझियो, कांग्रेसबाट सुशील कोइरालाकै निरन्तरता कि अरु कोही ?

सुशील कोइरालाले पार्टीको १२ औं महाधिवेशनमा सभापति उठ्दा पनि म एकपटक मात्र सभापति बन्छु, त्यसपछि मेरो स्वास्थ्यले पनि साथ दिँदैन भन्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री बन्दा पनि उहाँले संविधान जारी भएपछि पद त्याग्छु, त्यसपछि मलाई प्रधानमन्त्री भएर बस्नु छैन भन्नुभएको हो ।

हामीलाई लाग्छ, उहाँले ठूलो जिम्मेवारी पूरा गर्नुभएको छ । संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक उत्तरदायित्व उहाँले पूरा गर्नुभयो । जुन सपना कांग्रेसले २००४ सालदेखि नै साँचेको हो । उहाँले के के गर्नुभयो, त्यसलाई जोगाएर बस्ने हो ।

जोगाएर बस्ने भन्नुको अर्थ प्रधानमन्त्रीमा दावी नगर्ने भन्ने हो ?

– अवश्य पनि हो । उहाँ आफैंले संविधान जारी गरिसकेपछि म प्रधानमन्त्रीमा बस्दिँन भन्नुभएको थियो । त्यसैले अब थप विवादमा आउनेखालको जिम्मेवारी लिनुभन्दा पनि सविधान जारी भएपछि उहाँले त्यसको लोभ गर्नुहुँदैन । मलाई लाग्छ, उहाँ नयाँ कार्यकालका लागि अग्रसर नहुनुहोला । बाँकी रहेका पार्टीका शीर्षनेतासँग छलफल हुन्छ, सहमतिका आधारमा पार्टीले निर्णय गर्छ ।

सुशील कोइरालाले दाबी गर्नुहुँदैन भनेपछि अब दाबी कसले गर्ने त ?

– दावी त जसले पनि गर्ने कुरा भयो । तर, कसको भूमिका के रहृयो भन्ने हेर्नुपर्छ । हाम्रो पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माण गर्ने क्रममा सबै पक्षसँग संवाद र छलफल गर्नुभएको हो । अहिले पनि उहाँको भूमिका सहमतिका लागि र मधेस आन्दोलन सल्ट्याउनका लागि पनि सकारात्मक ढंगले चलिरहेको छ । यो संविधान कसरी लागु गर्ने र कसरी सबैको अपनत्व कायम गराउने भनेर उहाँ लाग्नुभएको छ ।

सिधै भन्दा देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्न खोज्नुभएको होइन त ?

– बरिष्ठ नेता देउवा आफैंले म बन्छु वा मलाई बनाइ देऊ भनेर कुनै अग्रसरता लिनुभएको जस्तो लाग्दैन । उहाँले चाहना व्यक्त गरेर हिँडेको पनि देखिँदैन । तर पार्टीका धेरै कार्यकर्ताको चाहना र मुलुकको अवस्थाले चाहिँ देउवा सहमतिको प्रधानमन्त्री बन्नुपर्छ भन्ने देखिएको छ ।

सुशील कोइराला र देउवाले बाँडेर खाने, अनि रामचन्द्र पौडेललाई चाहिँ के दिने ?

– शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुईशीर्ष नेता हुनुहुन्छ । दुवै नेताको बीचमा सहमित बन्न सकोस् । हाम्रा तीनैजना शीर्षनेता बसेर सर्वसम्मति बन्न सक्यो भने राम्रो हुन्छ ।

कांग्रेसले सरकारको नेतृृत्व नछाड्ने,एमालेले पनि नेतृत्वको दावी गरिसकेको अवस्थामा यी दुई दलमध्ये एउटा प्रतिपक्षमा बस्ने देखियो होइन त ?

– अहिलेको अवस्थामा प्रमुख दलहरुबीच सहमति हुनुपर्छ । संविधान कार्यन्वयनमा धेरै जटिलताहरु छन्, त्यसका लागि दलहरुबीच सहमतिको विकल्प छैन ।

सहमतिको विकल्प छैन भनेर मीठो कुरा पनि गर्ने, अनि विगतमा भएको सहमतिरुप नेतृत्व छाड्न तयार नहुने कुराले कसरी मिल्छ त ?

– मैले अघि नै भनिसकेको छु कि पार्टी नेतृत्वको लेबलमा कुनै सहमति भएको थियो भने त्यो बाहिर आउनुपर्छ । हामीले पोजिशन लिएर प्रधानमन्त्री हामीले नै राख्नुपर्छ भनेको होइन । एमालेलाई वा ओलीलाई प्रधानमन्त्री दिने सहमति भएको हो भने सभापतिजीले पार्टीमा त्यो कुरा राख्नुपर्‍यो ।

एमालेलाई नेतृत्व दिनै नहुने भन्ने धारणा चाहिँ किन बलियो भयो कांग्रेसमा ?

– होइन, हामी गठबन्धन संस्कारमा गइसक्यौं । हाम्रो निर्वाचन प्रक्रिया नै यस्तो छ कि अब त झनै गठबन्धन नभई कसैको एकल बहुमतको सरकार बन्ने अवस्था छैन । अब नेपालमा बन्ने भनेको मिलिजुली सरकार नै हो । त्यसमा जुन पार्टी ठूलो हुन्छ त्यसले नेतृत्व लिने कुरानै प्राकृतिक हुन्छ । नत्र विगतमा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर हिँड्दा हामीले जे भोग्यौं, त्यस्तै हुन सक्छ ।

ओली प्रधानमन्त्री नबने एमाले सरकारमा नरहने कुरा त आइसक्यो, तपाईहरुले बचन तोड्ने कुरा कति ठीक हो ?

– हामीले ओलीलाई हुँदै हुदैन भनेका छैनौं । हामी सरकारमा बस्ने र एमाले बाहिर बसोस् भन्ने पनि हाम्रो चाहना होइन । बचन दिएको हो भने सुशील कोइरालाले भन्नुपर्छ र बचन पूरा गर्नुपर्छ ।

वचन दिएपछि त्यसलाई परिणाममा देखाउनुपर्छ । हामीले त बचन दिएको थाहा नपाएकाले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसको नेतृत्वमा सबै दल सहभागी भएर मिलिजुली सरकार बनोस् भनेको हो । किनकि तीन दल निमिली संविधान संशोधन पनि हुँदैन । कांग्रेस लिबरल डेमोक्रेटिक पार्टी भएकाले सबैलाई, मधेसीलाई पनि मिलाएर लैजान सक्छ भन्ने कुरा हो ।

तपाईहरु केपी ओलीसँग अलिकति डराउनुभयो हगि ?

– यसो हेर्दा कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् र ओली अलि कडा नेता नै भएकाले मान्छेले त्यो अनुमान लगाउनु स्वाभाविक हो । तर, हामी एमालेसँग प्रतिस्पर्धा र सहयात्रामा छौं ।

चुनावमा एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो तर संविधान निर्माणमा सहयात्री पनि हो । हामी आगामी चुनावलाई हेरेर ओलीसँग डराएको भन्ने कुरा चाहिँ सत्य होइन । म त फेरि पनि भन्छु, वचन दिएको हो भने पार्टी बैठकमा राख्नुपर्छ र वचन पूरा गर्नुपर्छ । त्यो निर्णय त पार्टीले गर्ने हो ।

अब अन्त्यमा भन्नुस् कि संविधानले कांग्रेसको लाज त ढाक्यो,अवैध पार्टी हुनबाट पनि रोक्यो, अब महाधिवेशन कहिले हुन्छ ?

– संविधानले हामीलाई ६ महिनाका लागि अवसर दिएको छ । त्यही अनुसार हामीले विधानमा परिमार्जन गरेर बाधा अड्काउ फुकाएका छौं । अब संविधानको समयसीमा समेत रहेकाले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नैपर्छ । यो हिसाबले ढीलोमा फागुनभित्र महाधिवेशन गरिसक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment