Comments Add Comment

विप्लवका तमुवान संयोजकसहित ७ कार्यकर्ता पक्राउ

१२ चैत, पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तमुवान संयोजक किसान सिंह तमु गुरुङ पक्राउ परेका छन् । जनपरिषद् तमुवान संयोजक तमुलाई कास्की प्रहरीले लेखनाथबाट पक्राउ गरेको हो ।

केही दिनअघि विप्लव नेतृत्वको नेकपाले लेखनाथ पट्नेरीमा व्यवसायी अजय सुमार्गीको मुक्तिश्री कम्पनीको नाममा रहेको जग्गा कब्जा गरेको दाबी गरेको थियो । २५ रोपनी जग्गामा झन्डा, ब्यानर र विज्ञप्ति टाँसेर कब्जा गरिएको जनाएको थियो ।

विप्लव नेतृत्वको नेकपाले लेखनाथको एलसिएल टावरमा पनि बम प्रहार गरेको थियो । सुरुदेखि नै विप्लव नेकपामा लागेका तमुलाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

पक्राउ परेका किसान तमु मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रीय महासचिव हुन् भने लेखनाथ निर्माण व्यवसायी समिति लेखनाथका पूर्व अध्यक्षसमेत हुन् । उनी मंगलबार आफ्नै निवासबाट पक्राउ परेका हुन् । ‘तमुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको छ । अन्य नेताहरुको पनि खोजि कार्य भइरहेको छ,’ कास्की प्रहरी स्रोतले भन्यो ।

कास्की प्रहरीले जिल्लादेखि प्रदेश र केन्द्रीय सदस्यहरुको लिस्ट तयार पारेर अनुसन्धान गरिरहेको छ । मंगलबार नै अरु ३ जना तनहुँबाट पक्राउ परेका छन् । व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनील कुमाल र जुम्लाका अमर बुढालाई प्रहरीले पक्राउ गरेको हो । सुनार दलित मोर्चा तनहुँका अध्यक्ष हुन् । कुमाल अखिल क्रान्तिकारी लमजुङ अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् ।

म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ । म्याग्दीमै रमेश पुन र थमबहादुर पुनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

ध्वंशात्मक गतिविधि गरेको भन्दै फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले विप्लव नेतृत्वका नेता कार्यकर्ताको खोजी गर्न र कुनै पनि सहयोग, चन्दा नदिन भनेको छ ।

कास्कीमा अहिलेसम्म चन्दा असुली, धम्की लगायतका कुनै पनि उजुरी वा गुनासो आएको छैन । तर, प्रहरीले उनीहरुको निगराजी गरिरहेको छ । विप्लव नेकपाले कास्कीलाई सेल्टरका रुपमा प्रयोग गरिरहेको जिल्ला प्रशासनको बुझाइ छ ।

अन्य जिल्लामा गतिविधि बढाउने र कास्कीमा बस्ने, योजना बनाउने गर्ने काम भइरहेको जिल्ला प्रशासन बताउँछ । प्रदेशभरि नै विप्लव नेतृत्वको नेकपाको खोजी भइरहेको प्रदेश प्रहरी प्रवत्ता गोविन्द पुरीले जानकारी दिए ।

कास्कीका विप्लव नेतृत्वका कार्यकर्ताले सिम परिवर्तन गरेर हिँडिरहेको प्रशासनले बताएको छ । ‘कास्कीमा चन्दा असुली, धम्की आएको गुनासो छैन । हामीले उजुरी वा जानकारी दिनुस् भनेका छौं । चन्दा दिनेलाई कारबाही गर्छौं भनिरहेका छौं,’ कास्कीका सिडिओ चक्रबहादुर बुढा भन्छन्, ‘उनीहरुमाथि कडा निगरानी राख्नु भन्ने निर्देशन दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment