२४ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीले कांग्रेसले आफूलाई समर्थन नगरे पनि उसलाई साथै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
ओलीले आफूलाई मधेसविरोधी, जनजाति विरोधीका रुपमा प्रचार गरिएको गुनासो गर्दै व्यवहारमै त्यो आरोपलाई चिर्ने र सबैका यथोचित मागहरु आफूले पूरा गर्ने आश्वासनसमेत दिएका छन् ।
भिडियो
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति एवं अर्का उम्मेदवार सुशील कोइरालालाई आग्रह गरेका छन् । उनले आफूलाई समर्थन नगर्नेहरुलाई भोलिका दिनमा किन समर्थन गरिँनछु भनेर सम्झी सम्झी बाडुली लगाउने गरी काम गर्ने बताए ।
आफूलाई भोट दिनेहरुलाई पश्चाताप गर्नुपर्ने अवस्थामा नपुर्याउने ओलीले आश्वासन दिए । संसदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै ओलीले राजनीतिमा प्रतिवद्धता र कबुलहरुको धेरै ठूलो महत्व हुने भन्दै कांग्रेसको ध्यानाकर्षण गराए । उनले कांग्रेस नेतृत्वको सरकार गठनका क्रममा र १६ बुँदे सहमति गर्दा भएको सहमति सम्झाए ।
ओलीले भने- ‘हाम्रो समर्थनमा कांग्रेसले सरकार बनायो । हामीले सँगै रहेर संविधान बनायौं । सुशील कोइरालाको नेतृत्वगमा सरकार बनाउँदा गत वर्ष म समर्थक बसेको थिएँ । आज कांग्रेस प्रस्तावक र समर्थक नहुँदा कसोकसो लागेको छ ।’
भन्न मिल्ने हो कि होइन थाहा छैन भन्दै उनले अहिले पनि उम्मेदवारी फिर्ता लिन सुशील कोइरालालाई आग्रह गरे । ‘उहाँले आफूले राजीनामा नगर्दासम्म हरेक परिस्थितमा समर्थन कम गरेनौं । हाम्रा बीचमा केही सहमति पनि भएको थियो’ ओलीले भने-उम्मेदवारी फिर्ता लिएर समर्थन गर्नुस् । म हार्दिक आग्रह गर्छु ।’
प्रतिक्रिया 4