२५ असोज, काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी असोज २८ गते हुने निर्वाचनका लागि दुई व्यावसायिक समूहले आज उम्मेदवारी दर्ता गराएका छन् ।
टानको ३७औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि सागर पाण्डे र चन्द्रप्रसाद रिजाल समूहले उम्मेदवारी दर्ता गराएका हुन् ।
टान निर्वाचनको कार्यसूचीअनुसार आज दुवै पक्षले उम्मेदवारी दर्ता गराएको टानका प्रशासकीय अधिकृत मच्छिन्द्र आचार्यले जानकारी दिए ।
सुरुमा पाण्डे र लगत्तै रिजाल समूह, दुवै पक्षका अध्यक्षसहितको पूरै कार्यसमितिले टान सचिवालयमा पुगेर उम्मेदवारी दिएका थिए । उम्मेदवार मनोनयनसँगै दुवै समूहले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् ।
उनीहरुले भिन्नभिन्न रुपमा व्यावसायिक भेला, अन्तक्र्रिया तथा घरदैलो कार्यक्रम गर्दै आएका छन् । दुवै समूहले आफूहरुको व्यावसायिक पकड रहेकाले निर्वाचन जित्नेमा दाबी गर्दै आएका छन् ।
टान अध्यक्षका प्रत्यासी पाण्डेले आफूहरु पुराना र लामो अनुभव सङ्गालेका व्यवसायी भएकाले निर्वाचन जित्नेमा विश्वास व्यक्त गरे ।
अर्का प्रत्यासी रिजालले पनि आफ्नो समूहलाई युवा व्यवसायी, शेर्पा समुदाय र मजदुरको साथ रहेकाले निर्वाचन जित्ने बताए । टानको १७ सदस्यीय नयाँ कार्यसमितिका लागि दुवै समूहले यसअघि नै प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया 4