वैशाख १२ मा गएको भूकम्पले सिंगै काठमाण्डौको उत्साह केही कम भएको महसुस गरेकी थिईन् नायिका नम्रता श्रेष्ठले । प्राकृतिक विपत्तिलाई बिर्सदै भएपनि गाईजात्रा र तीजमा मान्छेहरुले एक खालको उत्साह देखाएका थिए तर, एक महिना अघिको चमक अहिले बिलाएको महसुुस उनले गर्न थालेकी छिन् ।
पछिल्लो समय इन्धन अभावको अनुभव गरेकी नम्रताले आफ्नो मात्रै नभएर आम नेपाली नागरिकको दसैं खल्लो हुने धारणा राखिन् । ‘इन्धनको अभावले धेरैलाई निन्याउरो बनाएको छ ।’ उनले भनिन् ।
दसैंअघि नै ‘रामप्यारी’को सुटिङ सकेकी रेखा थापालाई सुटिङ सकेकोमा खासै आनन्द लागेको छैन । सर्वसाधारणले इन्धन नपाएको चिन्ता गर्ने रेखाले यसपालीको दसैं नरमाईलो हुने धारणा राखिन् ।
इन्धन नभएपछि पैसाको काम छैन
चलचित्र ‘वडा नम्बर छ’ वाट राम्रै आम्दानी गरेका कलाकार दिपकराज गिरीलाई पनि आम्दानीको रौनकले प्रभाव पार्न सकेन । सिंगै देशका जनता इन्धन नपाएर रोएको बेला म कसरी खुसी हुन सक्छु ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।
घरको ग्यास र बाईकको पेट्रोल एकै पटक सकिएको धारणा राख्ने संगीतकार बसन्त सापकोटा पेट्रोलको लाईन बस्दा बस्दै दसैं सकिने हो कि भन्नेमा चिन्तित छन् ।
यही प्रकृतिको चिन्ताले सताएको छ गायिका कोमल वलीलाई । दसैंमा हुने फुर्सदमा टाढा रहेका आफन्त र नातेदार भेट्ने उनको योजना इन्धन अभावले तुहाइदिएको छ । ‘खै यसपालीको दसैं त घरमै बसेर बित्ला जस्तो छ ।’ कोमलले भनिन् ।
प्रतिक्रिया 4