Comments Add Comment

भारतीय नाकामा अवरोध कायमै, इन्धन र तेस्रो मुलुकका कन्टेनरमा कडाई

Bhairahawa-Naka,-LP-Gas

१२ कात्तिक, काठमाडौं । भारतीय नाकाहरुमा अघोषित नाकाबन्दीपछि जारी अवरोध अझै सामान्य भएको छैन । भारती भन्सार र सुरक्षा बलले भारतका उत्पादनहरु सहज रुपमा नेपाल पठाएपनि तेस्रा मुलुकका कन्टेनर, नेपाली इन्धन बोकेका ट्यांकर र औद्योगिक कच्चापदार्थ बोकेका गाडी नेपाल पठाउन ढीला सुस्ती गरेका छन् ।

भारतीय सुरक्षा बलले कुहिनसक्ने र आफ्ना स्वार्थका उत्पादनलाई सहज सुरक्षा जाँच गरेपनि अन्यलाई भने सुरक्षाका कारण रोक्ने क्रम अझै उस्तै छ । वीरगञ्ज नाकामा मधेसी मोर्चाको अवरोध कायम रहेपनि काँकडभिट्टा, बिराटनगर, भैरहवा र नेपालगञ्ज नाकामा रहेका भारतीय पक्षले विभिन्न बाहना बनाएर नेपाललाई अत्यावश्यक पर्ने इन्धन सहितका सामान बोकेका मालबाहक गाडी छुटाउन आनाकानी गरिरहेका छन् ।

‘आलु, प्याज, फलफुल, माछा, क्लिंकर लगायतका भारतीय उत्पादनहरु सहज रुपमा नेपाल आएका छन् । तर, इन्धन बोकेका ट्यांकर, तेस्रो मुलुकका कन्टेनर र औद्योगिक कच्चापदार्थहरु छुटाउन भारतीय भन्सार उदासीन छ ,’ एक भन्सार अधिकारीले अनलाइनखबरसँग भने ।

कुन नाकामा के हुँदैछ ?

दशैंअघि सामान्य अवस्थामा रहेको काँकडभिट्टाको रानी भन्सार नाकामा फूलपातीपछि भारतीय अवरोध थप कडा भएको छ । काँकडभिट्टा नाकाबाट बिहान २ वटा इन्धनका गाडी नेपाल आएका छन् । यस्तै ९ वटा डिजेल र ३ वटा पेट्रोलका गाडी पनि रानी भन्सारमा आइपुगेका छन् ।

यसैगरी केही दिनदेखि भारतीय पक्षले रोकेर राखेको तेल ट्यांकरहरु गएराति बिराटनगर नाकाबाट एकैपटक भित्रिएका छन् । गएराति ३८ वटा डिजेल र १५ वटा पेट्रोलका ट्यांकर नेपाल आएका छन् । यसैगरी नेपालगञ्ज जमुनाह नाकामा बिहानैदेखि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेका छन् ।

भैरहवा नाका भने बिहारको चुनावका कारण बन्द गरिएको छ । बिहान ९ बजेदेखि बन्द गरिएको नाका बेलुकी ५ बजेपछि मात्र खुल्नेछ । बिहान भैरहवाबाट ग्यासको एउटा बुलेट र डिजेल बोकेको एउटा ट्यांकरक नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment